हामी ख्रीष्ट-विश्वासीहरूले प्रभु येशूको मृत्युबाट ठूलो आशिष पाएका छौं; किनभने प्रभु येशू हाम्रा पापहरूको निम्ति क्रूसमा मर्नुभयो र हाम्रो पापको ऋण तिरिदिने हाम्रो पापबलि हुनुभयो। क्रूसमा उहाँले हाम्रा पापहरूको निम्ति पूरा मोल चुकाउनुभयो; किनभने उहाँ हाम्रो प्रायश्चित हुनुभयो। परमेश्वरलाई धन्यवाद होस्, किनकि हामीले उहाँको नाममा सित्तैंमा पापको क्षमा पायौं। अनि उहाँको पुनरुत्थानबाट पनि हामीले धेरै आशिष पाएका छौं उहाँको बौरिउठाइ हाम्रो निम्ति अन्मोल छ; किनभने उहाँले हाम्रो निम्ति मृत्युलाई जित्नुभयो र हामीलाई अनन्त जीवनको आशा दिलाउनुभयो। उहाँलाई मरेकाहरूबाट बौराएर उठाउने परमेश्वर पिताबाट हामीले नयाँ जीवनको चालमा हिँड्ने अलौकिक शक्ति पाएका छौं; किनभने जुन परमेश्वर पिताले हाम्रा प्रभु येशूलाई मरेको तेस्रो दिनमा फेरि जीवित पारेर मरेकाहरूबाट बौराएर उठाउनुभयो, त्यही परमेश्वर पिताको आत्माले हामीभित्र प्रभु येशूमाथि विश्वास गरेको दिनदेखि वास गर्नुभएको छ र हामीलाई नयाँ जीवन जिउने शक्ति दिनुभएको छ। तर उहाँको दफनको विषयमा कसो हो? के हामी ख्रीष्ट-विश्वासीहरूले उहाँको दफनबाट मिल्ने आशिष उपभोग गरिरहेका छौं? यसमा एउटा आशिष लुकेर बसेको छ, जुन आशिषचाहिँ तपाईं र मैले-हामी सबैजनाले उपभोग गर्न सक्नुपर्छ। आउनुहोस्, हामी पवित्र धर्मशास्त्र बाइबलको निम्न खण्डमा जाऔं, र यसबाट आत्मिक शिक्षा पाऔं!
मर्कूस १६ : १-८
‘अनि विश्रामदिन बितेपछि मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले यस हेतुले सुगन्धित मसलाहरू किने, कि यिनीहरू आएर उहाँलाई घसिदिऊन्। अनि हप्ताको पहिलो दिनमा, एकाबिहानै घाम झुल्कँदाखेरि यी स्त्रीहरू त्यस चिहानमा आइपुगे। अनि यिनीहरूले आपसमा यसो कुरा गरेः “हाम्रो निम्ति कसले त्यस चिहानको ढोकाबाट त्यो ढुङ्गा हटाइदिन्छ होला?” तर मास्तिर हेर्दा यिनीहरूले त्यो ढुङ्गा गुड़ाएर हटिसकेको देखे; किनकि त्यो ढुङ्गा ज्यादै ठूलो थियो। अनि त्यस चिहानभित्र पस्दै गर्दा यिनीहरूले लामो, सेतो वस्त्र पहिरेका एकजना युवकलाई दाहिनेपट्टि बसिरहेका देखे, र यिनीहरू डरले साह्रै आत्तिए। तर तिनले यिनीहरूलाई भनेः “नआत्तिओ! तिमीहरू क्रूसमा टाँगिनुभएको नासरतका येशूलाई खोज्दैछौ, उहाँ बौरेर उठ्नुभएको हो; उहाँ यहाँ हुनुहुन्न; त्यो ठाउँ हेर, जहाँ तिनीहरूले उहाँको मृत शरीर राखेका थिए! तर जाओ, उहाँका चेलाहरू र पत्रसलाई भनिदेओः उहाँचाहिँ तिमीहरूभन्दा पहिले गालिल जानुहुन्छ; उहाँले तिमीहरूलाई भन्नुभएअनुसार तिमीहरूले उहाँलाई त्यहीं देख्नेछौ।” अनि यिनीहरू छिटो-छिटो निस्केर त्यस चिहानबाट भागे; किनकि यिनीहरू लगलग- लुगलुग कामिरहेका र आश्चर्य मानिरहेका थिए। अनि यिनीहरूले कसैलाई केही भनेनन्; किनकि यिनीहरू डराएका थिए।'
मरियम मग्दलिनीचाहिँ ती बहिनी थिइन्, जसले अरू स्त्रीहरूसित प्रभु येशूलाई क्रूसमा टाँगिएको कार्य टाढाबाट हेरिरहेकी थिइन्। तिनले उहाँको लास दफन गर्दा पनि अरू स्त्रीहरूसँग त्यो दफन-कार्य ध्यानसित हेरिरहेकी थिइन्। अनि यहाँ तिनी अरू दुईजना दिदीहरूसित हप्ताको पहिलो दिनमा, बिहानै प्रभु येशूलाई दफन गरिएको त्यस चिहानमा आइपुगिन्। त्यस चिहानमा जाने यिनीहरूको उद्देश्यचाहिँ येशूको लासमा यहूदीहरूको दफनको संस्कार पूरा गर्नु थियोः यसको निम्ति यिनीहरूले सुगन्धित मसलाहरू किनेर ल्याए। तर अचम्म, त्यस चिहानमा आइपुग्दा त्यस चिहानको ढोकामा लगाइएको त्यो ठूलो ढुङ्गा हटिसकेको रहेछ! अनि त्यस चिहानको कमरामा यिनीहरूले येशूको लास भेट्टाउनुको सट्टामा त्यसभित्र एकजना स्वर्गदूतलाई पो देखे, र यिनीहरू डरले आत्तिए। तर ती स्वर्गदूतले यिनीहरूलाई यसो भनेः 'नआत्तिओ! तिमीहरू क्रूसमा टाँगिनुभएको नासरतका येशूलाई खोज्दैछौ; उहाँ बौरेर उठ्नुभएको हो; उहाँ यहाँ हुनुहुन्न, त्यो ठाउँ हेर, जहाँ तिनीहरूले उहाँको मृत शरीर राखेका थिए!' यिनीहरू घबराउनु किन, यसको निम्ति खास कुनै कारण थिएन। किनकि यिनीहरूले खोजिरहेका प्रभु येशूचाहिँ बौरिउठ्नुभएको थियो, उहाँ त्यहाँ हुनुहुन्नथियो। अनि ती स्वर्गदूतले यिनीहरूलाई के भने भनेः 'तिनीहरूले उहाँको मृत शरीर राखेको त्यो ठाउँ हेर!' यिनीहरूले प्रभु येशूको लास भेट्टाउने आशा गरेका थिए, तर उहाँ त्यहाँ हुनुहुन्नथियो, तर उहाँ त्यस चिहानमा केही कुरा छोड़ेर जानुभएको थियो, जुन कुरामाथि ती स्वर्गदूतहरूले यी स्त्रीहरूको ध्यान आकर्षण गर्न चाहे, र यही कारणले भनेः 'तिनीहरूले उहाँको मृत शरीर राखेको त्यो ठाउँ हेर!ड्ड अनि यिनीहरूले देखे, र देखेर त्यस चिहानबाट हतारसित भागे। यिनीहरू भागे; किनकि यिनीहरू डरले लुगलुग र आश्चर्यले विचलित भएका थिए; अँ, यिनीहरू चुपचापसित भागे। यिनीहरूको निम्ति यसरी भाग्नु किन? किनकि यिनीहरूले केही अनौठो कुरा देखेका हुनुपर्छ। परमेश्वरको वचनको यस उक्त खण्डमा यिनीहरूले देखेको कुरा बताइएन; तर पछिबाट यिनीहरूले देखेको कुरा के थियो, सो खुलस्त पारियो। किनकि पत्रस उठे र त्यस चिहानकहाँ दगुरे; अनि निहुरेर हेर्दा उनले त्यस चिहानभित्र येशूको कात्रोका सुती कपड़ाहरू मात्र पड़िरहेका देखे। अनि त्यहाँ घटेको घटनाको कारणले उनी अचम्म मान्दै घरतिर फर्के (लूका २४:१२)।
यी स्त्रीहरूले के देखेका थिए? पत्रुसले के देखे? त्यो त येशूको लासमा बेहेरिएको उहाँको कात्रो पो थियो। अनि यही कात्रो यूहन्नाको निम्ति तिनलाई विश्वास दिलाउने मूलकारण बन्यो। आउनुहोस्, हामी त्यो खण्ड पनि पढ़ौंः
यूहन्ना २०:३-९
‘यसकारण पत्रुस र यूहन्ना, ती अर्को चेला, निस्के र त्यस चिहानमा आए। अनि ती दुईजना सँग-सँगै दगुरे; तर यूहन्नाले चाहिँ पत्रसलाई उछिने, र तिनी पहिले यस चिहानमा आइपुगे। अनि तिनले निहुरेर हेर्दा सुती कपड़ाहरू पड़िरहेका देखे; तर तिनी भित्र पसेनन्। तब तिनलाई पछ्याउँदै गरेका शिमोन पत्रुस पनि आइपुगे र त्यस चिहानमा पसिहाले; अनि उनले सुती कपड़ाहरू पड़िरहेका देखे, र उहाँको शिरमा बाँधिएको रुमालचाहिँ सुती कपड़ाहरूसँग होइन, तर अलग्गै एउटा ठाउँमा लपेटिएको देखे। तब त्यस चिहानमा पहिले आइपुगेका चेला पनि भित्र पसे, र तिनले देखे र विश्वास गरे। किनभने 'उहाँचाहिँ मरेकाहरूबाट बौरेर उठ्नुपर्छ' भन्ने पवित्र शास्त्रको खण्ड तिनीहरूले त्यस बेलासम्म जानेका थिएनन्।'
प्रभु येशू फेरि जीवित भएर मरेकाहरूको बीचबाट बौरिउठ्नुभयो। हामी यो कसरी जान्ने? मरियम मग्दलिनी र अन्य स्त्रीहरू यसका प्रत्यक्ष साक्षी हुन्। पत्रुस र यूहन्ना यसका प्रत्यक्ष साक्षी हुन्। उहाँको चिहान रित्तै छ; अनि त्यस चिहानमा उहाँको कात्रो मात्र देखियो।
अब यस वृत्तान्तबाट अघि बढ़ेर हामी प्रेरित पावलबाट ख्रीष्ट येशूमा नयाँ जीवन कसरी जिउइन्छ, यसको विषयमा एउटा आत्मिक पाठ सिकौं। किनकि एउटा पापी मानिसबाट एउटा नयाँ, पाप मुक्त मानिस बन्नु छ, अँ, एउटा घिनलाग्दो झुसिल्कीराबाट एउटा सुन्दर पुतली बन्न छ। तर एउटा पुतली बन्न त्यस कीरामा एउटा महान् परिवर्तन आउनुपर्छ। अनि त्यसको अद्भुत परिवर्तन त्यसको कोयाभित्र हुनै गर्छ। त्यसपछि त्यो कीरा नयाँ सृष्टि भएर पुतलीको रूपमा आफ्नो कोयाबाट निस्कन्छ; त्यो एउटा नयाँ सृष्टि भएर त्यो कोया छोड़ेर जान्छ। त्यसपछि त्यो सुन्दर पुतली आकाशमा उड्नेछ र एउटा फूलदेखि अर्को फूलमा पुगेर त्यसले फूलको मीठो रस खान पाउनेछ – नयाँ जीवनको कति सुन्दर चित्र!
आउनुहोस्, ख्रीष्ट येशूमा नयाँ जीवनको चालमा हिँड्ने विषयमा बाइबलीय शिक्षा पाउन हामी रोमीको पुस्तकबाट निम्न खण्ड पढ्नुपर्छ।
रोमी ६:१-७
‘तब हामी के भनौं त? अनुग्रह प्रशस्त भएको हुनाले के हामी पापमा लागिपरौं? यसो हुनु हुँदै-हुँदैन। किनकि हामी पापको निम्ति मरेकाहरू अबदेखि उसो पापमा कसरी जिउने? अथवा के तिमीहरूलाई थाहा छैन, हामीमध्ये जतिजनाले येशू ख्रीष्टभित्र बप्तिस्मा लियौं, हामीले उहाँको मृत्युभित्र बप्तिस्मा लियौं; यसकारण बप्तिस्माद्वारा हामी यस हेतुले उहाँको साथमा मृत्युभित्र गाड़ियौं, कि जसरी परमेश्वर पिताको महिमाको निम्ति ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँ चालमा हिँडौं। किनकि यदि हामी उहाँको मृत्युको प्रतिच्छायामा उहाँसँगै गाँसिएर एक भएका छौं भने हामी उहाँको बौरिउठाइमा पनि उहाँसित एक हुनेछौं। पापको शरीर निर्मूल पार्ने हेतुले हाम्रो पुरानो मानिस उहाँको साथमा क्रसमा टाँगिएको थियो; यो जानेका हुनाले हामी अबदेखि उसो पापको वशमा हुनेछैनौं। किनकि जो मरेको छ, त्योचाहिँ पापबाट मुक्त भएको छ।'
पवित्र बाइबलको यस सम्पूर्ण खण्डमा अर्थ लगाउनु हाम्रो उद्देश्य होइन, तर तपाईंको ध्यान हाम्रो आत्मिक दफन भएको कुरामाथि आकर्षण गर्न हामी यति भन्न चाहन्छौंः नयाँ जीवनको चाल भन्नाले पापबाट मुक्त भएको जीवन हो। अनि पापको निम्ति मरेको मानिस मात्र पापबाट मुक्त हुन्छ। यसो भए बुझ्नुहोस्, हामी ख्रीष्ट- विश्वासीहरू कुनै पापको वशमा जिउनुपर्दैन; अनि हामीमध्ये कसैले पनि पापमा जिउन पाउनेछैन। किनकि पापमा जिउने मानिसहरूले परमेश्वरलाई दुःखित तुल्याउँछन् र उहाँ को रिस उठाउँछन्; तिनीहरूको शरीर र मनबाट उठ्ने अभिलाषाहरू प्रायः पापका अभिलासा हुन्। आदमका सन्तानहरूको पापी स्वभाव यस्तै हो। तर ख्रीष्ट येशूमा हामीले एउटा पापबाट मुक्त भएको जीवन पाएका छौं; किनभने प्रभु येशूमाथि विश्वास गरेर हामीले उहाँसँग उहाँको मृत्युभित्र गाभिन पायौं। किनकि बप्तिस्माद्वारा उहाँसँग उहाँको मृत्युभित्र हाम्रो आत्मिक दफन भयो, यस उद्देश्यले कि अबदेखि उसो हामी परमेश्वरको महिमाको निम्ति जिऔं र उहाँको बौरिउठाइको शक्तिमा नयाँ चाल देखाऔं। बप्तिस्माचाहिँ उहाँको दफनको प्रतिच्छाया हो। अनि प्रभु येशूको नाममा पानीको बप्तिस्मा लिएर हामी विश्वासमा उहाँसँग एक भयौं, उहाँको मृत्युमा, उहाँको दफनमा र उहाँको बौरिउठाइमा। यसर्थ उहाँको मृत्यु हाम्रो मृत्यु भयो; उहाँको दफन हाम्रो दफन भयो; उहाँको बौरिउठाइ हाम्रो बौरिउठाइ भयो। अनि जसरी प्रभु येशू त्यस चिहानमा आफ्नो कात्रो छोड़ेर निस्कनुभयो र बौरिउठ्नुभयो, त्यसरी नै हामीले पनि त्यो पुरानो मानिस, हाम्रो कात्रो बप्तिस्मारूपी हाम्रो आत्मिक चिहानमा छोड्नुपर्छ; तब हामी आफ्नो जीवनमा ख्रीष्टमा भएको त्यो नयाँ चाल देखाउन सक्नेछौं। अबदेखि उसो हामी पापको बन्धनमा छैनौं, हामी पापका दास हुनुपर्दैन; हामी पापको वशमा छैनौं; हामीले पापको सेवा गर्नुपर्दैन। किनकि ख्रीष्ट येशूमा पापको जरासित, पापको मूलकारणसित व्यवहार गरिएको छ; किनभने हाम्रो पुरानो मानिस उहाँसँग क्रसमा टाँगिएको छ। यसकारण हामी पापको लेखि मेरका छौं।
जसरी पुतली कोयाबाट निस्कन्छ, ठीक त्यसरी नै हामी पनि पानीको बप्तिस्मामा हाम्रो कात्रो छोडेर निस्की आउनुपर्छ। हाम्रो कात्रो त्यो पुरानो मानिस, हाम्रो पुरानो, ख्रीष्टरहितको चाल हो रहेछ। त्यो पुरानो मानिस र त्यसका सबै अभिलासाहरू उहाँसँग क्रसमा टाँगिए, अनि बप्तिस्मामा त्यस पुरानो मानिसको दफन भयो। यसकारण बुझ्नुहोस्, तपाईंको ख्रीष्टरहितको पुरानो जीवन दफन भएको छ। यसकारण आउनुहोस्, हामी उठौं र र ख्रीष्टमा एउटा नयाँ जीवन जिऔं! किनभने ख्रीष्ट येशूमा हाम्रो पुरानो जीवन मरेको छ, उहाँसँग क्रसमा टाँगिएको र उहाँसँग चिहानमा गाड़िएको छ; अब नयाँ मानिस भएर उठौं र आफूलाई पापको निम्ति मरेको ठानौं! अब हामी आफूलाई र आफ्ना अङ्गहरू परमेश्वरमा समर्पण गरौं, अनि आत्माको भारमा हिँड्न सिकेर हामी परमेश्वरको महिमाको निम्ति जिऔं। आत्माको भरमा हिँडेर नयाँ जीवन पाएको प्रमाण दिऔं! अबदेखि उसो हाम्रो ख्रीष्टरहितको पुरानो जीवनको गन्ध हामीमा नलागोस्।
यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौ। धन्यवाद।
email: [email protected]
प्रिय पाठक मित्र, आज सुनौलो मौका नगुमाउनुहोस्, र अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउन लोड गरेर पढ्नुहोस्ः