
उत्पत्ति १:१ पदमा हामी सृष्टिको उत्पत्तिको विषयमा परमेश्वरको वचन पवित्र बाइबलमा यसो लेखिएको पढ्छौंः ‘शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।“'तर पछि यही कुरा नेपाली अनुवादमा बदली भएर ‘स्वर्ग र पृथ्वी’ पो भएछ, जस्तैः भजन ६९:३४, भजन ११५:१५, भजन १२१:२, भजन १२४:८, भजन १३४:३, भजन १३५:६ र भजन १४६:६ आदि।
यसकारण मेरो प्रश्न छः के परमेश्वरले उत्पत्तिमा स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो, जसरी भजनसंग्रहका उक्त कति भजनहरूमा अनुवाद गरिएको छ? के ‘प्रेरितहरूको विश्वासको सार’को नेपाली अनुवाद सठीक छ, जहाँ यसो भनिएको छः ‘म विश्वास गर्दछु, एक सर्वशक्तिमान् परमेश्वर पिता, स्वर्ग र पृथ्वी सृजनुहुनेमाथि’? अथवा के उहाँले आकाश र पृथ्वी नै सृष्टि गर्नुभयो? मैले यो कुरा एकजना विद्यामान् एल्डरको सामु राखें, अनि उनले मलाई झट्टै भनिहाले: 'परमेश्वरले स्वर्ग सृजनुभयो नि', तर आफूलाई सुनिश्चित लागेको यस उत्तरको निम्ति उनले कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेनन्।
यसकारण हुन सक्छ, यो उनको अनुमान मात्र थियो, कि कसो हो? त्यसपछि मैले यो कुरा एकजना बी.डी. पढ़ेको पाष्टरको सामु राखें, र ‘मलाई यसको उत्तर दिनुहोस्’ भनेर अनुरोध गरें। अनि त्यस बेलादेखि आजसम्म निक्कै समय बित्यो, तर मैले आजको दिनसम्म उनीबाट जवाफ पाउनु बाँकी नै छ। यसकारण म आफैले यहाँ यस प्रश्नको छोटो उत्तर दिन चाहन्छु।
यसको खास समस्या कहाँबाट आयो भने, हिब्रू भाषामा ‘शेमयिम’ भन्ने शब्द छ, जसको अर्थ यसको सन्दर्भअनुसार कि वायुमण्डल, कि आकाश मण्डल, कि त स्वर्ग पनि हुन सक्छ। अनि नयाँ नियममा ‘ओउरानोस्' भन्ने शब्दको विषयमा त्यही कुरा सत्य ठहरिन्छ; किनकि यस शब्दको अर्थ पनि वायुमण्डल, आकाश-मण्डल वा स्वर्ग हुन सक्छ। यसकारण बाइबल-अनुवादकहरूको समस्या निक्कै ठूलो छ; किनकि तिनीहरूले यस 'शेमयिम' भन्ने शब्दको अनुवाद यसको सन्दर्भबाट निकालेर गर्नुपर्छ।
अनि यति मात्र होइन, तर 'शेमयिम' भन्ने शब्द सधैं बहुवचनको रूपमा लेखिन्छ; यसकारण बाइबल-अनुवादकले त्यस शब्दको सन्दर्भअनुसार एकवचन लाग्ने अर्थ हो कि बहुवचन लाग्ने अर्थ लाग्ने हो, सो कुराको बीचमा पनि छुट्ट्याउनुपर्छ। अनि यही कारण होला, एउटा बाइबलमा यस शब्दको अनुवाद र अर्को बाइबलमा यसको अनुवाद बेग्ला बेग्लै भयो होला।
तर के यसको विषयमा कुनै सय उत्तर पाइँदैन? के हामी यसको विषयमा अनजान रहनुपर्छ? तब मेरो विन्ती छ, मेरो निम्ति एउटा काम गर्नुहोस्! तपाईं उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म सम्पूर्ण पवित्र बाइबलमा खोजतलास गरेर हेर्नुहोस् अनि मेरो निम्ति परमेश्वरले स्वर्ग सृष्टि गर्नुभएको बयान खोजेर निकाल्नुहोस्! तपाईंले यस प्रकारको वर्णन भेट्टाउनुभयो भने, म तपाईंलाई त्यो खण्ड वा त्यसको सन्दर्भका पदहरू मलाई लेखेर पठाइदिनुहुन अनुरोध गर्छु; किनकि मैले अहिलेसम्म पवित्र बाइबलमा यस्तो कुनै पद वा खण्ड पाएको छैनँ।
निस्सन्देह पवित्र बाइबलमा स्वर्गको विषयमा लेखिएको कुरा छँदैछ, जस्तै २ इतिहास ६:३३ पदमा, जहाँ यस्तो लेखिएको हामी पढ्छौंः ‘स्वर्गबाट, आफ्नो वासस्थानबाट सुनिदिनुहोस् र त्यस परदेशीले जेको निम्ति तपाईंलाई पुकार्ला, सो सब कुराअनुसार गरिदिनुहोस्!’ अथवा भजन २:४ पद पनि पढ़ौं, जहाँ यस्तो लेखिएको छः ‘स्वर्गमा बस्नुहुने प्रभु हाँस्नुहुनेछ; उहाँले तिनीहरूको खिसी गर्नुहुनेछ।’
यसकारण पक्का पनि स्वर्ग त छ; अनि स्वर्गको विषयमा हामी यति जान्दछौंः स्वर्ग परमेश्वरको अनन्त वासस्थान हो। तर जब हामी मत्ती ५:१८ र २४:३५ पदमा आएर यी पदहरू पढ्छौं, तब के गर्ने? तब कता-कतै यी पदहरूको अनुवाद सठीक नभएको आभास मनमा आउँछ।
मत्ती ५:१८: ‘किनभने म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितिजाँदैन, तबसम्म सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा विन्दु बितिजानेछैन।’ बी.एस. आई.
मत्ती ५:१८: ‘किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन, तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।’ एन.एन.आर.वी.
मत्ती २४: ३५: ‘स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचनचाहिँ बितेर जानेछैन।’ बी.एस.आई.
मत्ती २४:३५: ‘स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।’ एन.एन.आर.वी.
पृथ्वी बितिजाने कुरा ठीक र सुनिश्चित छ; तर के स्वर्ग पनि टलेर जानेछ? अहँ, यो त हुनै सक्दैन। यसकारण हाम्रो निम्ति TBS नेपाली बाइबलको अनुवादमाथि एक क्षण ध्यान दिनु उचित देखिन्छ, जहाँ यी दुईवटा पदहरू निम्न प्रकारले अनुवाद गरिएका छन्ः
मत्ती ५:१८: “किनकि म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्थाबाट एक मात्रा अथवा एक विन्दु पनि, सबै परा नभइन्जेल, कुनै रीतिले बित्नेछैन।”
मत्ती २४:२५: “आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बितिजानेछैनन्।”
तब मेरो सुझाउ यस प्रकारको छः प्रायः सबै ठाउँहरूमा, विशेष गरी भजनसंग्रहको पुस्तकमा, जहाँ-जहाँ ‘स्वर्ग र पृथ्वी’ भनेर अनुवाद गरिएको छ, त्यहाँ-त्यहाँ ‘आकाश र पृथ्वी’ भनेर अनुवाद गर्न उचित देखिन्छ। किनभने मेरो बुझाइअनुसार उत्पत्तिको समयमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, जुन आकाश र पृथ्वी उहाँको इच्छाअनुसार फेरि एक दिनमा, भावी समयमा बितेर जानेछन्, अनि प्रकाश २१:१ पदअनुसार समयमा एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी हुनेछन्।
तर यहाँ आएर म तपाईंसित थोरै समय लिएर स्वर्गको कुरा गर्नु छ; किनभने स्वर्गचाहिँ हाम्रो कल्पनाको फल होइन, तर एउटा वास्तविक ठाउँ हो। तर स्वर्ग यस सृष्टिअन्तर्गत पर्ने ठाउँ होइन। स्वर्ग परमेश्वरको अनन्त वासस्थान हो, जसको सृष्टि कहिले र कसरी भएको हो, सो हामी जान्दैनौं। किनभने पवित्र बाइबलले यसको कुरा उठाएको छैन, यसको प्रकाश प्रकट गरेन; तर यसको विषयमा चुप लागेको छ।
स्वर्ग बितेर जाने ठाउँ होइन, तर अनन्त-अनन्तसम्म रहिरहने पवित्र ठाउँ हो। अनि यस पृथ्वीमा बस्ने मानिसहरूको असल खराब कारबाहीबाट स्वर्गलाई कुनै असर पर्दैन; त्यहाँ खिया लाग्दैन, त्यहाँ कुनै चोर पस्दैन; त्यहाँ पाप, रोग वा मृत्यु हुँदैन। स्वर्ग परमेश्वर पिताको महिमित घर हो। प्रभु येशू स्वर्गबाट आउनुभयो र फेरि स्वर्गमा चढ़िजानुभयो। यसकारण स्वर्ग कस्तो छ, उहाँलाई पूरा थाहा हुन्छ। अनि स्वर्गमा उहाँले हामी विश्वासीहरूको निम्ति एउटा ठाउँ तयार पार्दै हुनुहुन्छ। उहाँले तयार गर्नुभएको त्यो ठाउँ एउटा परम सुन्दर शहर हो; त्यो त नयाँ यरूशलेम हो, जुन शहर एक दिन स्वर्गबाट ओर्लेर आउनेछ र नयाँ पृथ्वीमाथि अवस्थित हुनेछ। अब चाँडै प्रभु येशू हामी ख्रीष्ट विश्वासीहरूलाई लैजान स्वर्गबाट फर्केर आउनुहुनेछ। के तपाईं पनि उनीहरूमध्ये एक हुनुहुन्छ?
किनभने स्वर्गको विषयमा मुख्य प्रश्न बाइबलको सठीक अनुवाद हुने कुरा होइन, तर स्वर्गमा बस्नुहुने परमेश्वरसितको तपाईंको र मेरो सम्बन्ध सठीक हुनुपर्छ; यो नै प्रमुख र प्रथम कुरा हो। किनभने स्वर्ग जाने एकमात्र बाटो प्रभु येशू हुनुहुन्छ। उहाँले ‘हे प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ’ भन्ने प्रश्न गर्ने चेलालाई यसो भन्नुभयोः ‘बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि परमेश्वर पिताकहाँ जाँदैन।’ प्रभु येशूविना तपाईं र म पनि स्वर्ग जाँदैनौं। यसो हो भने तपाईंलाई प्रभु येशूमाथि विश्वास र अस्था राखेर जीवनमा पुरर्याउने बाटोमा हिँड्न थाल्नुहुन अनुरोध गर्छौं।
प्रभु येशूले भन्नुभयोः ‘जीवनको रोटी म नै हुँ।’ मानिसले यस रोटीबाट खाओस्, र नमरोस् भन्ने हेतुले उहाँ स्वर्गबाट ओर्लेर आउनुभएको हो। यसकारण अनन्त जीवन पाउन त्यो दिव्य रोटी खानुहोस्! यस सिलसिलामा खानु भनेको आफ्नो मनले र आफ्नो विश्वासले ग्रहण गर्नुहोस्, उहाँलाई आफ्नो मुक्तिदाता तुल्याउनुहोस् र उहाँबाट यो नयाँ दिव्य जीवन उपभोग गर्नुहोस्! अब चाँडै प्रभु येशू फेरि आउनुहुनेछ; के तपाईं र म उहाँको आगमनको निम्ति तयार छौं? के हामीले उत्कट इच्छाले उहाँको बाटो हेर्दै बसेका छौं? परमेश्वरको निम्न वचनबाट उत्साह लिनुहोस्ः
“अनि म यूहन्नाले, अँ, मैले त्यो पवित्र शहर, त्यो नयाँ यरूशलेम परमेश्वरको तर्फबाट स्वर्गबाट तल झरिरहेको देखें, जुन शहरचाहिँ आफ्ना पतिको निम्ति सिँगारिएकी दुलहीजस्तै तयार भएको थियो। अनि मैले स्वर्गबाट यसो भन्दै गरेको एउटा ठूलो वाणी सुनें: “हेर, मानिसहरूसित परमेश्वरको वासस्थान! अनि उहाँले उनीहरूको साथमा वास गर्नुहुनेछ, अनि उनीहरू उहाँका जनहरू हुनेछन्, अनि परमेश्वर उनीहरूसित रहिरहनुहुनेछ र उनीहरूका परमेश्वर हुनुहुनेछ। अनि परमेश्वरले उनीहरूका आँखाहरूबाट सबै आँसु पुछिदिनुहुनेछ; अनि मृत्यु कहिल्यै हुनेछैन; अँ, शोक, रुवाइ र पीड़ा कहिल्यै हुनेछैन नै; किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
प्रकाश २१:२-४
यस सम्बन्दमा तपाईंले हामीसँग कुरा गर्न अथवा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने, अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद
प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउनलोड गरेर पढ्नुहोस्ः