Rosary.png

हिन्दू धर्म र बौद्ध धर्ममा भएजस्तै रोमन क्याथोलिक इसाईहरूसँग पनि निक्कै शताब्दीहरूदेखि रोजरी-माला छँदैछ; अनि यो रोजरी-मालाचाहिँ एउटा क्रूस र उनसट्ठी गुरिया भएको जपमाला हो। यसको नाम ल्याटिन भाषाबाट आएको छ, र यसको शाब्दिक अर्थ 'गुलाफको माला' वा 'गुलाफको शिरपेच' हो; किनकि जुन मानिसले रोजरी-माला जप्दछ, यस मानिसले आत्मिक हिसाबले माता मरियमलाई एउटा आदरको मुकुट लगाइदिन्छ। रोजरीको प्रार्थनाको क्रम यस मालाको शुरुमा लगाइएको क्रसबाट थाल्ने गर्छ, र त्यस ठाउँमा 'प्रेरितहरूको विश्वासको सार' रटिन्छ, त्यसपछि मत्ती ६:९-१३ पदअनुसार 'प्रभुको प्रार्थना' गरिन्छ र त्यसपछि तीनपल्ट 'हेल मेरी' जपिन्छ। 'हेल मेरी' भन्ने प्रार्थना लूका १:२८ र ४२ पदबाट लिइएको हो, जस्तैः 'हे कृपाको पात्र मरियम, तपाईंलाई सलाम! परमप्रभु तपाईंसँग हुनुहुन्छ; स्त्रीहरूमध्ये तपाईं नै धन्यको हुनुहुन्छ र तपाईंको गर्भको फल पनि धन्यको हुनुहुन्छ!' तर त्यसपछि यस प्रार्थनामा निम्न अबाइबलीय शब्दहरू थपिन्छन्ः 'हे पवित्र मरियम, परमेश्‍वरकी आमा, हामी पापीहरूको निम्ति अन्तर्विन्ती गर्नुहोस्, अहिले र हाम्रो मृत्यु हुने घड़ीमा पनि, आमेन!' त्यसपछि 'महिमा होस्' भन्ने प्रार्थना गरिन्छ, त्यसपछि फेरि दसपल्ट 'हेल मेरी', बीचमा फेरि 'महिमा होस्' भन्ने प्रार्थना गर्दै अघि बढिन्छ। यसरी नै रोजरी-माला जप्ने मानिसले त्रिपन्न पल्ट 'हेल मेरी' भन्ने प्रार्थना जपिसक्छ।

यस रोजरी-माला जप्ने चलनले सन् १९१७ सालमा अझ टेवा पायो; किनकि त्यस वर्षमा पुर्तगालको फातिमा नामक ठाउँमा कन्या मरियमचाहिँ छ महिनाभित्र छपल्ट नौ-दस वर्षका तीनजना गोठाला नानीहरूकहाँ देखा परिन् र तिनीहरूलाई यी उक्त प्रार्थनाहरू र अन्य सम्बन्धित प्रार्थनाहरू सिकाइदिइन्। अनि त्यस समयदेखि त्यो फातिमा भन्ने ठाउँ रोमन क्याथोलिक इसाई भाइबहिनीहरूको निम्ति एउटा प्रख्यात तीर्थस्थल बन्न गयो। तब यस विषयमा हाम्रो मनमा प्रश्न उठ्छः यस रोजरी-मालाको विषयमा खास कुरा के हो? 

हामी नघुमाईकन कुरा सीधा भन्छौंः माता मरियमलाई प्रार्थना चढ़ाउने यो रोजरी-माला जप्ने चलन परमेश्‍वरको वचनको ज्योतिमा सरासर गल्ती साबित ठहरिन्छ; किनभने पवित्र बाइबलमा यसो लेखिएको छः 

“परमेश्‍वर के इच्छा गर्नुहुन्छ भने, सबै मानिसहरूले मुक्ति पाऊन्, र तिनीहरू सत्यताको ज्ञानमा आऊन्। किनभने परमेश्‍वर एकैजना हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूको बीचमा एकैजना मध्यस्थ हुनुहुन्छ, ख्रीष्ट येशू - ती मानिस, जसले आफैलाई सबैको लागि छुटकाराको दामको रूपमा दिइहाल्नुभयो, जसको साक्षी ठीक समयमा दिइयो, जसको निम्ति म प्रचारक र प्रेरितको रूपमा नियुक्त भएको हुँ; म ख्रीष्टमा सत्य बोल्छु, भूट बोल्दिनँ।” १ तिमोथी २:४-७ 

परमेश्‍वरको वचनको यस उक्त खण्डअनुसार परमेश्‍वर र मानिसहरूको बीचमा एकैजना हुनुहुन्छ, जसले मेलमिलाप गराउने मध्यस्थको काम गर्न सक्नुहुन्छ, अनि त्यो मानिस माता मरियम होइनन्, तर प्रभु येशू हुनुहुन्छ। किनकि क्रसमा मरेर र यसरी हाम्रो पापबलि भई उहाँले हामी सबैको निम्ति छुटकाराको दाम तिरिदिनुभयो। संसारको एकमात्र मुक्तिदाता उहाँ हुनुहुन्छ। प्रभु येशूका प्रेरितहरू यसको निम्ति प्रत्यक्षसाक्षी हुन्। यसकारण जुन मानिसले प्रभु येशूलाई बाहेक अरू कसैलाई आफ्नो मध्यस्थ तुल्याउँछ, अनि चाहे त्यसले उहाँकी आमा मरियमको सहारा किन नलिएको होस्, यस मानिसले मुक्ति नपाएको प्रमाण दिन्छ, र उसले सत्यताको ज्ञान पनि पाएको छैन। यसकारण हामीले प्रभु येशूकी आमा मरियम तिनलाई सुहाउँदो स्थानभन्दा उच्च पार्नुहुँदैन। तिनी पवित्र मरियम होइनन्, तर हामीजस्तै पापी मानिस थिइन्। तिनी परमेश्‍वरकी आमा होइनन्, तर येशूकी आमा हुन्। तिनलाई 'परमेश्‍वरकी आमा' भन्न ईश्वरनिन्दा गरेको पाप पो हो। तिनले पापीहरूको निम्ति केही गर्ने होइनन्, अन्तर्विन्ती गर्ने पनि होइनन्, तिनले हामीलाई बचाउने होइनन्, हामीलाई बचाउनमा मद्दत गर्ने पनि होइनन्।

यसकारण हामीले तिनको नाम पुकार्नुहुँदैन। तिनी स्वर्गकी रानी होइनन्; तिनी कन्या मरियम होइनन्; तिनी माता मरियम पनि होइनन्। यो कसरी जान्न सकिन्छ? हामी परमेश्‍वरको वचनबाट यो सब कुरा जान्दछौं। किनकि हाम्रो जीवन र हाम्रो विश्वासको सम्बन्धमा एकमात्र साँचो, अचूक, विश्वासयोग्य कसीचाहिँ पवित्र बाइबल हो। 
आउनुहोस्, हामी यही अचूक कसी प्रयोग गरेर यस सम्बन्धमा सत्य के हो, सो पत्ता लगाऔं!

क) येशूकी आमा मरियम पापी थिइन्; किनभने लूका १:२८ पदमा यसो लेखिएको छः “हे कृपाको पात्र मरियम, प्रणाम!” जो मानिस पापरहित छ, त्यस मानिसलाई कृपा चाहिँदैन। तर हामीजस्तै पापी मानिसहरूलाई परमेश्‍वरको कृपाको खाँचो पर्छ। मरियमचाहिँ नासरत शहरमा एउटा साधारण यहूदी परिवारमा जन्मेकी स्त्री थिइनन्। तिनी हामीजस्तै आदमको वंशकी थिइन्। अनि आदमका सबै सन्तानहरू स्वभावैले पापी मानिस हुन्। अनि अरू मानिसहरूलाई जस्तै तिनलाई पनि मुक्ति पाउन खाँचो थियो। प्रेरित १:१४ पदमा हामी तिनलाई प्रभु येशूका प्रेरितहरूको साथमा रहेर निरन्तर प्रार्थना र विन्ती चढ़ाएकी र पवित्र आत्माको आगमनको बाटो हेरिरहेकी देख्छौं। यसो हो भने, तिनी त हामीजस्तै मानिस हुनुपर्छ, होइन र?  

ख) तिनी परमेश्‍वरकी आमा होइन, तर येशूकी आमा हुन्। परमेश्‍वरको कुनै आमा हुँदैन। अनि परमेश्‍वरको अनन्त पुत्रको विषयमा के हो? यसको विषयमा हिब्रू ७:३ पद पढ़ौं, जहाँ यस्तो लेखिएको छः “मेल्किसेदेकचाहिँ विनापिता, विनामाता, विनावंशका हुन्, उनका न दिनहरूको शुरु छ, न जीवनको अन्त; तर उनी परमेश्‍वरको पुत्रजस्तै थिए; उनी निरन्तर पूजाहारी भएर रहन्छन्।” अब्राहामलाई भेट्न आउने र उनलाई आशीर्वाद दिने मेल्किसेदेकको विषयमा यहाँ जुन कुरा लेखिएको छ, त्यो कुरा सीधा परमेश्‍वरको पुत्रमाथि लागू गरिएको छः उहाँको शारीरिक बुबाआमा छैन, र उहाँको वंश छैन; अनि उहाँको जीवनको शुरु र अन्त छैन। तर जब प्रभु येशूले मानिसको चोला धारण गर्नुभयो, तब उहाँ मरियमको गर्भबाट, एउटी शुद्ध कन्याबाट जन्मनुभयो, र मानिस बन्नुभयो। 

फेरि यस्तो लेखिएको छः “अनि जब समय पूरा भयो, तब परमेश्‍वरले आफ्नो पुत्रलाई पठाउनुभयो, जो एउटी स्त्रीद्वारा जन्मनुभयो, जो व्यवस्थाको अधीनतामा जन्मनुभयो, यस हेतुले कि उहाँले व्यवस्थाको अधीनतामा भएका मानिसहरूलाई दाम तिरेर छुटकारा दिन सकून्” (गलाती ४:४)। किनकि हामीले याद गर्नुपर्छ, कि मरियम, ती यहूदी स्त्रीबाट जन्म लिनुभन्दा अघि परमेश्‍वरको पुत्रको अस्तित्व छँदैथियो। तर जब परमेश्‍वरको निम्ति सठीक समय आयो, तब उहाँले दुई हजार वर्षअघि आफ्ना पुत्रलाई पठाउनुभयो। अनि त्यस बेलामा उहाँले आमा मरियमबाट जन्म लिनुभयो, र उहाँको नाम 'येशू' राखियो। किन? किनभने उहाँले हामीजस्तै पापी मानिसहरूलाई हाम्रा पापहरूबाट मुक्त गर्न जन्म लिनुभयो (मत्ती १:१९)। यसकारण हामी यो कुरा बुझौंः अरू कसैको नाममा मुक्ति छैन, न स्वर्गमा न पृथ्वीमा, केवल येशूको नाममा मुक्ति छ। उहाँको नाममा हामीले मुक्ति पाउनैपर्छ (प्रेरित ४:१२)। यसकारण मुक्ति पाउन प्रभु येशूको नाम पुकार्नुहोस्!

ग) तिनी कन्या मरियम होइनन्; किनकि प्रभु येशूलाई जन्माएपछि तिनले अरू छोराछोरीहरूलाई जन्माइन्, अनि तिनका पति यूसुफले तिनीसित सहवास गरे (मर्कूस ६:३ र मत्ती १:२५ )। तिनी माता मरियम होइनन्, न स्वर्गकी रानी हुन्। येशूकी आमा न मेरी आमा, न तपाईंकी आमा हुन्; हामीले तिनीबाट आत्मिक जीवन पाएका छैनौं, न परमेश्‍वरको सन्तान हुने हक पायौं। जति मानिसहरूले प्रभु येशूको नाममाथि विश्वास गरेर उहाँलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्छन्, परमेश्‍वरले ती सबै मानिसहरूलाई परमेश्‍वरका सन्तान हुने हक दिनुहुन्छ (यूहन्ना १:१२), अनि उहाँ तिनीहरूका पिता बन्नुहुन्छ (यूहन्ना १:१३ )। यसमा मरियमको हात छैन। तर येशूको नाममा सित्तैंमा पापको क्षमा पाएको मानिसको हृदयमा पवित्र आत्मा आई वास गर्नुहुन्छ। यसकारण मुक्ति पाएको कुरामा हामी सुनिश्चित हुन सक्छौं। अनि मुक्ति पाएको दिनदेखि हामी हाम्रो हृदयदेखि परमेश्‍वरलाई 'बुबा' भनेर पुकार्छौ (रोमी ८:१५)। यसमा येशूकी आमा मरियमको के हिस्सा छ, मलाई भन्नुहोस्! होइन, होइन, पापको क्षमा दिने अधिकार र पवित्र आत्माको वरदान दिने काम अरू कसैलाई दिइएको होइन, तर त्यो त पूरापूर प्रभु येशूको एकमात्र पेवा हो।

अनि स्वर्गकी रानीको विषयमा कसो हो? यस सम्बन्धमा मलाई एउटा घटनाको याद आउँछ, जुन घटना म तपाईंसित यहाँ बाँड्न चाहन्छु। त्यस बेलामा म नयाँ विश्वासी थिएँ, अनि एक दिन मेरा बुबासित मेरो बहस भयो। याद रहोस्ः मेरा बुबाचाहिँ माता मरियमको भक्ति गर्ने आमाका कान्छा छोरा हुनुहुन्थ्यो। किनभने उहाँ भक्त क्याथोलिक हुनुहुन्थ्यो, जसले माता मरियमलाई मान्ने गर्नुहुन्थ्यो, रोजरी-माला जप्नुहुन्थ्यो र सदा तिनको पक्ष लिनुहुन्थ्यो। मेरा बुबाको विचारअनुसार स्वर्गको सिंहासनमाथि परमेश्‍वर पिता विराजमान हुनुहुन्छ र उहाँको दाहिने हातमा प्रभु येशू उहाँको पुत्र हुनुहुन्छ, अनि परमेश्‍वर पिताको देब्रे हातपट्टिचाहिँ येशूकी आमा मरियम स्वर्गकी रानीको रूपमा बस्छिन् अरे। तब मैले धर्मशास्त्र पवित्र बाइबल खोलें र मेरा बुबालाई प्रकाशको पुस्तकका निम्न खण्डहरू पढेर सुनाएँ। 

'यी कुराहरूपछि म हेर्दैथिएँ, अनि हेर, स्वर्गमा एउटा ढोका खोलिएको रहेछ; अनि मैले सुनेको त्यो पहिलो आवाज, जुनचाहिँ तुरहीको जस्तै थियो, त्यस आवाजले यसो भन्दै मसित बोलिरहेको थियोः “यहाँ माथि आऊ, र म तिमीलाई ती कुराहरू देखाउनेछु, जुनचाहिँ यी कुराहरूपछि हुनुपर्नेछ।” अनि तुरुन्तै म आत्मामा भएँ; अनि हेर, स्वर्गमा एउटा सिंहासन बसालिएको रहेछ, र त्यस सिंहासनमाथि एकजना बसिरहनुभएको थियो। अनि ती बस्नुहुने व्यक्तिचाहिँ स्फटिक र लालमणिजस्तो देखिनुहुन्थ्यो; अनि त्यस सिंहासनको वरिपरि हरितमणिजस्तो देखा पर्ने एउटा इन्द्रेणी थियो। अनि त्यस सिंहासनको वरिपरि चौबीसवटा आसनहरू थिए; अनि ती आसनहरूमाथि मैले सेतो वस्त्र पहिरेका चौबीसजना प्राचीनहरूलाई बसिरहेका देखें; अनि उनीहरूका शिरहरूमाथि सुनका मुकुटहरू थिए। अनि त्यस सिंहासनको सामु काँचको एउटा समुद्र थियो, बिल्लौरजस्तो; अनि त्यस सिंहासनको बीचमा र त्यस सिंहासनको वरिपरि अगाडिपट्टि र पछाडिपट्टि आँखै आँखाले भरिएको चारवटा जीवित प्राणीहरू थिए। .... अनि ती चारवटा जीवित प्राणीहरूमध्ये हरेकका छ- छवटा पखेटाहरू थिए; ती वरिपरि र भित्रपट्टि आँखै आँखाले भरिएका थिए; अनि “पवित्र, पवित्र, पवित्र, परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउनुहुनेछ” भन्दै तिनीहरू दिनरात विश्राम लिँदैनन्। जब ती जीवित प्राणीहरूले त्यस सिंहासनमाथि बस्नुहुने व्यक्तिलाई, जो सदा-सर्वदा जिउनुहुन्छ, महिमा, आदर र धन्यवाद चढ़ाउँछन्, तब ती चौबीसजना प्राचीनहरूले त्यस सिंहासनमाथि बस्नुहुने व्यक्तिको सामु लम्पसार परेर सदा-सर्वदा जिउनुहुनेलाई दण्डवत् गर्छन् र यसो भन्दै आ-आफ्ना मुकुटहरू त्यस सिंहासनको सामु राखिदिन्छन्ः “हे प्रभु, तपाईं महिमा, आदर र सामर्थ्य पाउन योग्य हुनुहुन्छ; किनकि तपाईंले नै सबै थोकहरू सृष्टि गर्नुभएको हो, र ती थोकहरू तपाईंकै इच्छाको निम्ति छन् र यसैको निम्ति सृष्टि गरिए।” " प्रकाश ४:१-११

'अनि म हेर्दैथिएँ, अनि त्यस सिंहासनको चारैतिर, अँ, ती जीवित प्राणीहरू र ती प्राचीनहरूको चारैतिर मैले धेरै स्वर्गदूतहरूको सोर सुनें; अनि उनीहरूको सङ्ख्या लाखौं र करोड़ों थियो, अनि उनीहरूले ठूलो सोरले यसो भन्दैथिए: “मारिनुभएको थुमा सामर्थ्य, धन, बुद्धि, बल, आदर, महिमा र धन्यवाद पाउन योग्य हुनुहुन्छ।” अनि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएको हरेक सृष्टि गरिएको प्राणीले, साथै समुद्रमा भएकाहरू र तिनमा भएका सबै थोकहरूले यसो भनिरहेका मैले सुनें: “त्यस सिंहासनमाथि बस्नुहुनेलाई र ती थुमालाई धन्यवाद, आदर, महिमा र सामर्थ्य सदा-सर्वदा भइरहोस्।” अनि ती चारवटा जीवित प्राणीहरूले “आमेन” भने; अनि ती चौबीसजना प्राचीनहरू घोप्टो परे, र उनीहरूले युगानुयुग जिउनुहुनेलाई दण्डवत् गरे।’ प्रकाश ५:११-१४

परमेश्‍वरको वचनका यी खण्डहरूमा हाम्रो निम्ति स्वर्गको साँचो, वास्तविक दृश्य बयान गरिएको छ, र यहाँ मानिसको कल्पनाको निम्ति कुनै ठावैं छैन। यस स्वर्गको यथार्थ दृश्यअनुसार परमेश्‍वर पिता सिंहासनमाथि बस्नुभएको र त्यसको वरिपरि चारवटा जीवित प्राणीहरू भएका रहेछन्, अनि त्यसको रिङ्गैमा चौबीसजना प्राचीनहरू आ-आफ्ना आसनहरूमा बसिरहेका रहेछन्। अनि त्यस सिंहासन, ती चारवटा जीवित प्राणीहरू र ती चौबीसजना प्राचीनहरूको माझमा मारिएको थुमा देखिनुभएको प्रभु येशू उभिरहनुभएको थियो। तर स्वर्गकी रानी खोइ, कहाँ छिन्? यहाँ, यस दृश्यमा येशूकी आमा मरियमको एक झलक छैन। किनकि तिनी स्वर्ग गएकी छैनन्, तिनले अरू सबै मरेका ख्रीष्ट-विश्वासीहरूले जस्तै गरी आफ्नो शरीरको बौरिउठाइको सुनौलो दिन पर्खिरहेकी छिन्। तब यस सम्बन्धमा मैले मेरा बुबालाई सोधेंः 'पिताजी, मलाई भन्नुहोस्! स्वर्गमा माता मरियम कहाँ छिन्?' तब उहाँ नम्र हुनुभयो, एक क्षण चुप रहनुभयो, त्यसपछि उहाँले मलाई भन्नुभयोः 'अहो, माता मरियम त हामीजस्तै साधारण मानिस पो हुँदा रहेछिन्; तिनले त पवित्र जनहरूको बीचमा आफ्नो स्थान पाएकी रहेछिन्!'

यसकारण निचोड़मा आएर म यति भन्न र तपाईंलाई ख्रीष्ट येशूको नाममा अनुरोध गर्न चाहन्छुः तपाईंले येशूकी आमालाई आफ्नो जीवनमा तिनलाई दिनुपर्ने स्थानभन्दा बढ़ी ठाउँ नदिनुहोस्! हो, तिनले कन्यावस्थाको आफ्नो शरीर परमेश्‍वरलाई अर्पण गरेर हाम्रा प्यारा प्रभु येशूलाई मानिसको चोला धारण गर्नमा ठूलो सहायता गरिन्; हो, उहाँकी आमा भएर तिनले उहाँलाई प्रेमको साथ हुर्काइन्, बढ़ाइन्। हो, तिनी उहाँकी धन्य कहाइएकी आमा हुन्। तर जुन मानिसले तिनलाई त्योभन्दा बढ़ी मान्छ, त्यस मानिसले पाप गर्छ। परमेश्‍वरको वचनले यसको फैसला गरिसक्यो। यसकारण तपाईंलाई विन्ती छ, परमेश्‍वरको भक्ति गर्ने साँचो इसाई बन्नुहोस्! यसको निम्ति रोजरीको सहारा नलिनुहोस्, तर आत्मा र सत्यतामा परमेश्‍वरको आराधना गर्नुहोस्! तपाईंलाई अन्यजातिहरूको पारा अपनाउनुभएको र तिनीहरूले जस्तै व्यर्थमा बरबराउनुभएको दोष किन लागोस्? परम्परामा होइन, तर परमेश्‍वरको वचनमाथि भरोसा गर्नुहोस्! पोपको कुरा होइन, तर प्रभु येशू र उहाँका प्रेरितहरूले सिकाउनुभएको कुरामाथि भार पर्नुहोस्! प्रेरित पत्रुसले १ पत्रुस ३:१८ पदमा भनेअनुसार प्रभु येशूले हामीलाई परमेश्‍वरकहाँ पुर्‍याउन अधर्मी मानिसहरूको निम्ति क्रूसमा दुःख भोग्नुभयो। उहाँ मारिनुभयो र मर्नुभएको तेस्रो दिनमा बौरिउठ्नुभयो। यसकारण उहाँको शरण परेर उहाँलाई आफ्नो एकमात्र मध्यस्थ तुल्याउनुहोस्! 

यस सम्‍बन्‍धमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौ। धन्यवाद। 

email: [email protected]

प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्‍नुहोस्, र रोचक किताबहरू, पवित्र बाइबलका टिप्पणीहरू र अन्य आत्मिक पुस्तक पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउनलोड गरेर पढ्नुहोस्ः

www.nbcinepal.org 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.