Three Crosses.png

प्रभु येशूलाई मृत्युदण्ड दिने दिनमा गलगथा भन्ने ठाउँमा तीनवटा क्रूसहरू खड़ा थिए; किनकि त्यही दिनमा उहाँसँग अरू दुईजना कुकर्मीहरूलाई पनि मृत्युदण्ड दिइएको थियो। अनि यसरी भविष्यवक्ता यशैयाले भनेको 'उहाँ अपराधीहरूसँग गनिनुभयो' भन्ने भविष्यवाणीको वचन पूरा भयो (यशैया ५३:१२)। 

तर यी तीनवटा क्रूसहरूमा अर्थ लगाउनुभन्दा अघि आउनुहोस्, हामी यसको विषयमा पवित्र बाइबलबाट यसको वृत्तान्त पढ़ौं, जहाँ यस्तो लेखिएको छः 

'अनि प्रभु येशूसँगै अरू दुईजना कुकर्मीहरू पनि यिनीहरूलाई मृत्युदण्ड दिन लगिए। अनि जब तिनीहरू 'खोपड़ी' भनिने ठाउँमा आइपुगे, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगेर ती कुकर्मीहरूलाई पनि, एउटालाई दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि हुने गरी क्रूसमा टाँगे। तब येशूले भन्नभयोः “हे पिता तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँका वस्त्रहरू भाग - भाग गरे, र गोला हाले। अनि जनताका मानिसहरू हेर्दै उभिए, अनि तिनीहरूसित तिनीहरूका शासकहरू पनि, जसले यसो भन्दै उहाँलाई गिल्ला गरे: “त्यसले अरूलाई बचायो; लौ, त्यसले आफूलाई बचाओस्, यदि त्यो ख्रीष्ट, परमेश्वरको चुनिएको जन हो भने!” अनि सिपाहीहरूले पनि उहाँकहाँ आउँदै, उहाँलाई सिर्का दिँदै र यसो भन्दै उहाँलाई खिसी गरे: “तँ यहूदीहरूको राजा होस् भने, आफूलाई बचा!” अनि उहाँको मास्तिर ग्रीक, ल्याटिन र हिब्रू लिपिमा एउटा दोषपत्र पनि लेखिएको थियोः 'यिनी यहूदीहरूका राजा हुन्।' अनि झुन्ड्याइएका कुकर्मीहरूमध्ये एकजनाले यसो भन्दै उहाँको निन्दा गस्योः “तिमी ख्रीष्ट हौ भने, आफूलाई र हामीलाई बचाऊ!” तर अर्को कुकर्मीले जवाफ दिँदै यसो भनेर त्यसलाई हपारयोः “के तँ, जो पनि त्यही दण्डमा परिरकेको छस्, परमेश्वरको डर मान्दैनस्? हामीले त साँच्चै  न्यायअनुसार नै; किनकि हामीले आफ्ना कामहरूको उचित फल पाइरहेका छौं; तर यी मानिसले कुनै अनुचित काम गरेका छैनन्।” अनि उसले येशूलाई भन्योः “हे प्रभु, जब तपाईं आफ्नो राज्यमा आउनुहन्छ, तब मलाई सम्झिदिनुहोस्!” अनि येशूले उसलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ।”  लूका २३:३२-४३ 

तीनवटा क्रूसहरू, जसमा दुईजना कुकर्मीहरूले र तिनीहरूको बीचमा प्रभु येशूले मृत्युदण्ड पाउनुभयो। अनि आज हामी यी तीनवटा क्रूसहरू र तिनमा झुन्डिएका व्यक्तिहरूको विषयमा विचार गरौं। 

पहिलो क्रूसमा एउटा कुकर्मी झुन्डिएको थियो, जसले संसारका सबै पापी मानिसहरूको प्रतिनिधि गर्छ। त्यो मानिस आफ्ना पापहरूमा मर्‍यो। त्यसले न्यायअनुसार आफ्ना अधर्महरूको निम्ति उचित दण्ड पायो। त्यो मानिस अविश्वासमा मस्यो। त्यसले प्रभु येशूमाथि विश्वास गर्नुको सट्टामा बरु उहाँको निन्दा पो गर्ने दुःसाहस गर्‍यो, ती शासकहरूले जस्तै, जसले 'त्यसले अरूलाई बचायो; लौ, त्यसले आफूलाई पनि बचाओस्, यदि त्यो ख्रीष्ट, परमेश्वरको चुनिएको जन हो भने!' भन्दै प्रभु येशूलाई गिल्ला गरे। त्यस कुकर्मीले उहाँको निन्दा गर्‍यो, ती सिपाहीहरूले जस्तै, जसले 'तँ यहूदीहरूको राजा होस् भने, आफूलाई बचा!' भनेर उहाँलाई खिसी गरे। ठीक त्यस्तै त्यसले पनि 'तिमी ख्रीष्ट हौ भने, आफूलाई र हामीलाई बचाऊ!' भनेर उहाँको गिल्ला गर्‍यो। 

यसमा हामी तिनीहरूको अविश्वास पर्दाफास भएको देख्छौं। अविश्वासको साँचो चरित्र हेर्नुहोस्! तिनीहरूले प्रभु येशूबाट मुक्ति पाउन उहाँको बारेमा जान्नुपर्ने सबै कुराहरू जाने। शासकहरूले जाने उहाँ ख्रीष्ट, परमेश्वरको चुनिएका जन हुनुहुन्छ। सिपाहीहरूले जाने, उहाँ यहूदीहरूको ख्रीष्ट राजा हुनुहुन्छ। अनि त्यस कुकर्मीले जान्दथियो, प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। तर त्यस ज्ञानबाट तिनीहरूलाई केही लाभ भएन, किनकि त्यो ज्ञान तिनीहरूको हृदयमा विश्वासद्वारा स्वागत गरिएन। हामी यो कसरी जान्दछौं? तिनीहरूको मुखका शब्दहरूबाट यो सुस्पष्ट भएको छः तिनीहरूले उहाँलाई गिल्ला गरे, तिनीहरूले उहाँको खिसी र निन्दा गरे। दोस्रो कुराः चाहे शासकहरू होऊन्, चाहे सिपाहीहरू होऊन्, चाहे त्यो कुकर्मी होस्, तिनीहरू सबैले यसो भनेः 'आफूलाई बचाऊ!' किनभने त्यो तिनीहरूकै सिद्धान्त थियो। तिनीहरूको धारणाअनुसार मानिसले आफूलाई बचाउनुपर्छ। यस संसारभरिका मानिसहरूको सिद्धान्त यस्तो छ; यसकारण तिनीहरूले आफूलाई बचाउन कोशिश गर्छन्; तर यसो गरेर तिनीहरू आफ्ना पापहरूमा मर्नुपर्छ। किनकि तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको चुनिएको जन, संसारको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा विश्वास गर्दैनन्। आफूलाई बचाउने मानिसहरूको कोशिश विफल हुन्छ। धर्मकर्महरूले फेल खान्छन्। आफूलाई बदली गर्ने तिनीहरूको प्रयास व्यर्थ हो; किनकि मानिस स्वभावैले पापी हो। के हब्सीले आफ्नो छालाको रङ्ग फेर्न सक्छ? के चितुवाले आफ्ना थोल्पाहरू बदल्न सक्छ? तब पापी मानिसले आफ्नो जीवन बचाउन सक्छ। होइन, होइन, सबै मानिसहरू पापी हुन्। तिनीहरूले आफूलाई बचाउन सक्दैनन्। तिनीहरूलाई एउटा मुक्तिदाताको खाँचो छ, अनि त्यो मुक्तिदाता प्रभु येशू हुनुहुन्छ, जो तिनीहरूका पापहरूको निम्ति क्रसमा मर्नुभयो र तिनीहरूको पापबलि हुनुभयो। उहाँले तिनीहरूको निम्ति प्राश्यचित गर्नुभयो; उहाँले आफ्नो पवित्र रगत बगाएर पापबाट छुटकाराको मूल्य तिरिदिनुभयो। तर हाय, यी शासकहरूको निम्ति, हाय यी सिपाहीहरूको निम्ति, हाय त्यस कुकर्मीको निम्ति; किनिकि तिनीहरू क्रूसमा टाँगिनुभएको प्रभु येशूको छेउमा उपस्थित थिए, तर तिनीहरूले उहाँबाट मुक्तिको अमूल्य, महान् आशिष पाउन सकेनन्। किनकि माझमा, यी कुकर्मीहरूको बीचमा झुन्डिनुभएको मानिसचाहिँ परमेश्वरबाट ठहरिनुभएको तिनीहरूको मुक्तिदाता हुनुहुन्थ्यो। 

प्रभु येशू कुकर्मीहरूको बीचमा क्रूसमा झुन्डिनुभयो। उहाँ कुकर्मीहरूको बीचमा गनिनुभयो। किन? अर्को कुकर्मीको मुखबाट हामी यो सुनौं: 'हामीले त साँच्चै न्यायअनुसार नै; किनकि हामीले आफ्ना कामहरूको उचित फल पाइरहेका छौं; तर यी मानिसले कुनै अनुचित काम गरेका छैनन्।' यी कुकर्मीहरूले न्यायअनुसार आफ्ना कुकर्महरूको उचित दण्ड पाए। तर प्रभु येशूले कुनै अनुचित काम गर्नुभएन, क्रूसको मृत्युको योग्य कुनै अपराध, कुनै अधर्म गर्नुभएन। तब उहाँ किन अपराधीझैँ मर्नुपर्‍यो? पवित्र बाइबलले यसको बारेमा के भन्दछ? 

"किनकि धर्म-नियम हाम्रो पापी स्वभावद्वारा कमजोर भएको हुनाले त्यसले जुन कुरा पूरा गर्न सकेन, त्यही कुरा परमेश्वर आफैले पूरा गर्नुभयो, किनकि उहाँले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापको निम्ति पठाउनुभयो र उहाँको शरीरमा पापलाई दण्ड दिनुभयो।" रोमी ८:३

यसकारण बुझ्नुहोस्, हामी मानिसहरूमा भएको पापी स्वभाव जुनै धर्मको निम्ति पनि हार खानुपर्ने वस्तु हो। यसमा सबैले हार खानुपर्छ। तर परमेश्वरले हाम्रो पापी स्वभावसित हार खानुभएन। किनभने जुन कुरा कुनै धर्मले पनि हाम्रो जीवनमा पूरा गर्न सक्दैन, त्यही कुरा परमेश्वरले तपाईंको र मेरो जीवनमा पूरा गर्न सक्नुहुन्छ। उहाँ पापी मानिसहरूबाट धर्मी मानिसहरू बनाउन सक्नुहुन्छ। कसरी? अब परमेश्वरको वचनका उक्त शब्दहरूमा ध्यान दिनुहोस्! परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई पठाउनुभयो। उहाँ स्वर्गदूत वा देवताको रूपमा आउनुभएन, तर मानिस भएर आउनुभयो। किन? मानिस भएर उहाँ पापमय शरीर समान हुनुभयो। उहाँले हामी पापीहरूको स्थान लिनुभयो। उहाँ किन मानिस हुनुभयो? उहाँले पापबलि हुनको निम्ति मानिसको रूप धारण गर्नुभयो। उहाँले पाप भन्ने कुरा जान्नुहुन्नथियो। पापको गन्ध उहाँको पवित्र जीवनमा अलिकति पनि लाग्दैनथियो; उहाँ बिलकुल पापरहित हुनुहुन्थ्यो। तर उहाँ यस क्रूसमा हाम्रो निम्ति पाप पो हुनुभयो।

"परमेश्वरले पापै नजान्नुहुनेलाई हाम्रो निम्ति पाप तुल्याउनुभयो; किन? किनकि प्रभु येशूमा हामीले परमेश्वरको धार्मिकता प्राप्त गर्नु थियो।" २ कोरिन्थी ५: २१ 

अनि उहाँको पवित्र शरीरमा परमेश्वरले पापलाई मृत्युदण्ड दिनुभयो। हो, उहाँले कुनै अनुचित काम गर्नुभएन। राज्यपाल पिलातुसले उहाँमा कुनै गल्ती कुनै अपराध पाएनन्। तब उहाँलाई किन मृत्युदण्ड दिइयो? यसको विषयमा परमेश्वरको वचनले भन्दछः परमेश्वरले उहाँको शरीरमा पापलाई मृत्युदण्ड दिनुभयो। पाप यति डरलाग्दो कुरा हो। परमेश्वरले पापलाई मृत्युदण्ड दिनुपर्छ। मृत्युदण्डको योग्य पाप के-के हुन्? 

परस्त्रीगमन, व्यभिचार, अशुद्धता, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगड़ा, डाहा, क्रोध, विरोध, फूट, दलबन्दी, द्वेष, हत्या, मतवालीपन, मोजमज्जा र यीजस्तै अन्य कुराहरू। यी पाप- कर्महरूको निम्ति मानिसहरू मृत्युदण्डको योग्य हुन्छन्। अझै सुन्नुहोस्!

मानिसको स्वभावअनुसार किसिम-किसिमका अधर्महरू छन्, जस्तैः व्यभिचार, दुष्टता, लोभ, शत्रुभाव, डाहा, हत्या, झगड़ा, छल, दुष्ट विचार, कान फुकाइ र खुसामद, निन्दा, परमेश्वरको घृणा र अनादर, घमण्ड, सेखी, खराबको रचना, बुबाआमाप्रति अनाज्ञाकारिता, बेसमझ, करार भङ्ग, स्वाभाविक माया नभएको, मेलमिलाप गर्न नचाहेको, दया नभएको आदि। यस्ता कुकर्म गर्नेहरू मृत्युदण्डको योग्य हुन्छन्। 

यसकारण बुझ्नुहोस्, जब प्रभु येशू क्रूसमा झुन्डिएर मर्नुभयो, तब उहाँले यी सबै पापहरूको निम्ति दण्ड भोग्नुभयो। हाम्रो निम्ति उहाँले यी सबै कष्ट र सास्ती भोग्नुभयो। किन? यसमा हामीप्रति परमेश्वरको प्रेम प्रकट भयो। किनभने हामीप्रति उहाँको शुभ इच्छा छः कोही पनि नष्ट नहोस्, तर सबैले अनन्त जीवन पाऊन्। हामीप्रति उहाँको शुभ अभिप्राय छः सबै मानिसहरूले मुक्ति पाऊन्, अँ, सबै मानिसहरू सत्यको ज्ञानमा आऊन्। 

यसकारण शासकहरूको पक्ष नलिनुहोस्, सिपाहीहरूको पक्ष पनि नलिनुहोस्, त्यस कुकर्मीको पक्ष पनि नलिनुहोस्! प्रभु येशूको निम्ति गिल्ला, खिसी र निन्दा, यस्ता दुष्कर्म तपाईंबाट कहिल्यै नभएका होऊन्! आफूलाई बचाउने प्रयास पनि नगर्नुहोस्! तर प्रभु येशूमाथि विश्वास गर्नुहोस्! उहाँको पापबलिबाट आउने अमूल्य, अपार आशिष, पापहरूको क्षमा ग्रहण गर्नुहोस्! 

अब हामीले दोस्रो कुकर्मीमाथि एकक्षण ध्यान दिनुपर्छ। किनकि उसले जीवनको अन्तिम घड़ीमा प्रभु येशूमाथि विश्वास गर्‍यो। 

"तर अर्को कुकर्मीले जवाफ दिँदै यसो भनेर त्यसलाई हपारयोः " के तँ, जो पनि त्यही दण्डमा परिरकेको छस्, परमेश्वरको डर मान्दैनस्? हामीले त साँच्चै न्यायअनुसार नै; किनकि हामीले आफ्ना कामहरूको उचित फल पाइरहेका छौं; तर यी मानिसले कुनै अनुचित काम गरेका छैनन्।” अनि उसले येशूलाई भन्यो: “हे प्रभु, जब तपाईं आफ्नो राज्यमा आउनुहन्छ, तब मलाई  सम्झिदिनुहोस्!” अनि येशूले उसलाई भन्नुभयोः “म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ।”

त्यस दोस्रो कुकर्मीले परमेश्वरको डर मान्यो। यसर्थ उसले आफ्ना कुकर्महरूको उचित दण्ड स्वीकार गर्‍यो। हो, ऊ मृत्युदण्डको योग्य व्यक्ति थियो। त्यो दण्ड न्यायअनुसार सठीक थियो। पापी मानिसहरूको निम्ति मृत्युदण्ड ठहरिएको छ। किनकि पापको परिणाम मृत्यु हो। तर प्रभु येशूमा परमेश्वरको निगाहको फल अनन्त जीवन हो। के तपाईं परमेश्वरको डर मान्न तयार हुनुहुन्छ? के तपाईंमाथि उहाँको न्यायको फैसला एकदम सय हो भनेर मानिलिनुहुन्छ? तब प्रभु येशूलाई यसरी पुकार्नुहोस्ः 'हे प्रभु येशू, मलाई तपाईंको दयामा सम्झाइदिनुहोस्!' तब प्रभु येशूबाट आज, उहाँसित स्वर्गलोकमा हुने आश्वासन पाउनुहुनेछ। यसको अर्थ यस प्रकारको छः तपाईं आज मुक्ति पाउनुहुन्छ। आज तपाईंको सम्बन्ध प्रभु येशूसित जोडिएको हुन्छ। किनकि उहाँ जीवित प्रभु हुनुहुन्छ; मरेको तेस्रो दिनमा मरेकाहरूको बीचमा उहाँ जीवित भई निस्कनुभयो। उहाँ स्वर्ग चढ़िजानुभयो, उहाँ स्वर्गलोकमा हुनुहुन्छ। आज स्वर्गलोकको हक तपाईंको हुनेछ। कसरी? विश्वाससाथ प्रभु येशूको नाम पुकार्नुहोस् र उहाँबाट मुक्तिको दान ग्रहण गर्नुहोस्! 

'खोपड़ी' भन्ने ठाउँमा तीनवटा क्रूस खड़ा थिए। एउटा क्रूसमा एउटा कुकर्मीले मृत्युदण्ड पायो, र त्यो आफ्ना पापहरूमा मर्‍यो। त्यसले न्यायअनुसार उचित दण्ड पायो। किनकि पापको ज्याला मृत्यु हो। बीचको क्रूसमा प्रभु येशू झुन्डिएर मर्नुभयो। उहाँले कुनै अनुचित काम गर्नुभएन। उहाँ मृत्युदण्डको योग्य हुनुहुन्नथियो। तर परमेश्वरले उहाँमाथि हाम्रा पापहरू लगाइदिनुभयो र उहाँको शरीरमा पापलाई दण्ड दिनुभयो। यसकारण प्रभु येशूमाथि विश्वास गर्नेहरूले पापको दण्ड भोग्नुपर्नेछैन। प्रभु येशूले तिनीहरूको निम्ति पापको ऋण तिरिदिनुभयो। अनि तेस्रो क्रूसमा एउटा कुकर्मी मर्‍यो, जसले जीवनको अन्तिम घड़ीमा परमेश्वरको डर मान्यो, पछुतायो र प्रभु येशूमाथि आफ्नो विश्वास राख्यो। उसले त्यही दिनमा मुक्ति पायो। उसले अनन्तसम्म प्रभु येशूसँग रहन पायो। उसले परमेश्वरको राज्यको हक पायो। त्यही दिनमा ऊ प्रभु येशूसँग स्वर्गलोकमा पुग्यो। प्रभु येशूमाथि राखिएको उसको विश्वासले यति भिन्नता ल्यायो। यसकारण प्रिय भाइबहिनीहो, साहस गर्नुहोस्, प्रभु येशूमाथि भरोसा राख्‍नुहोस्; किनकि तपाईंको विश्वासले तपाईंको जीवनमा यति ठूलो भिन्नता ल्याउँछ। 

यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्‍नुहुन अनुरोध गर्छौं। धन्यवाद। 

email: [email protected] 

प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्‍नुहोस्, र 'आशाको किरण' भन्ने हाम्रो रेडियो कार्यक्रम, अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web-page बाट डाउनलोड गरेर पढ्नुहोस्ः 

www.nbcinepal.org 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.