Parable of the vineyard.png

‘किनकि स्वर्गको राज्य एकजना जमिनका मालिकजस्तै हो, जो आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा लगाउने उद्देश्यले बिहान सबेरै निस्के। अनि खेतालाहरूसित दिनको एक दीनर ज्याला ठहराई तिनले तिनीहरूलाई आफ्नो दाखबारीमा पठाए। अनि नौ बजेतिर तिनी फेरि निस्के, र तिनले बजारमा अरूलाई बेरोजगार भई उभिरहेका देखे र उनीहरूलाई भनेः “तिमीहरू पनि मेरो दाखबारीमा जाओ! अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु”; अनि उनीहरू गए। अनि तिनी बाह्र बजे र तीन बजे निस्के, र तिनले फेरि त्यस्तै गरे। अनि पाँच बजे तिनी फेरि निस्के, र तिनले अरूलाई बेरोजगार भई उभिरहेका भेट्टाए र यिनीहरूलाई सोधे: “तिमीहरू किन यहाँ दिनभरि काम नगरीकन उभिरहेका छौ?” अनि यिनीहरूले तिनलाई भनेः “कसैले पनि हामीलाई काममा लाएन; यसैले।” अनि तिनले यिनीहरूलाई भनेः “तिमीहरू पनि मेरो दाखबारीमा जाओ! अनि जे उचित छ, त्यो तिमीहरूले पाउनेछौ।”

अनि जब साँझ पर्‍यो, तब यी दाखबारीका मालिकले आफ्नो भण्डारीलाई आज्ञा गरे: “यी खेतालाहरूलाई बोलाऊ, र पछिल्लाहरूबाट शुरु गरेर अघिल्लाहरूसम्म तिनीहरूलाई तिनीहरूको ज्याला देऊ!” अनि जब पाँच बजे काममा लगाइएकाहरू हाजिर भए, तब यिनीहरूले एक-एक दीनार पाए। अनि जब अघिल्लाहरू आए, तब तिनीहरूले बढ़ी ज्याला पाउने आशा गरे; तर तिनीहरूले पनि त्यस्तै गरी हरेकले एक-एक दीनार पाए। अनि त्यो ज्याला पाएपछि तिनीहरूले यसो भन्दै यी जमिनका मालिकको विरोधमा गनगन गरेः “यी पछि आएकाहरूले एकै घण्टा मात्र काम गरे, र तपाईंले तिनीहरूलाई हामीसित बराबर तुल्याउनुभएको छ, जसले दिनभरिको भार र ताप सयौं।” तर तिनले तिनीहरूमध्ये एकजनालाई जवाफ दिएर भनेः “साथी, मैले तिमीलाई कुनै अन्याय गरेको छैनँ। के तिमी मसँग एक दीनारमा राजी भएनौ र? यसकारण तिम्रो ज्याला लिएर जाऊ! तर म यस पछिल्लोलाई पनि त्यति नै दिन चाहन्छु, जति मैले तिमीलाई दिएको छु। के म आफ्नो सम्पत्तिसित, मलाई जे मन लागेको छ, त्यही गर्न मेरो हक छैन र? अनि म भलो भएकोमा के तिम्रो आँखा जल्छ?” यसरी नै पछिल्लाहरूचाहिँ पहिला हुनेछन् र अघिल्लाहरूचाहिँ अन्तिम हुनेछन्; किनकि बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन्।’ मत्ती २०:१-१६

प्रभु येशूले बोल्नुभएको यस दृष्टान्तबाट म आज तपाईंहरूसित केही आशिषहरू बाँड्न चाहन्छु, जुन आशिषहरू मैले केही हप्ताअघि यहाँको स्थानीय मण्डलीको सभामा बसेर पाएँ। अनि मैले पाएको प्रथम आशिष यस प्रकारको छः हाम्रा प्रभु येशू यी दाखबारीका मालिक हुनुहुन्छ, जसले यस दृष्टान्तअनुसार फसलका प्रभु भईकन अङ्गुररूपी फसल भित्र्याउन खेतालाहरूलाई खोज्नुभएको र काममा लगाउनुभएको छ; किनकि यस दाखबारीको फसल पाकेको थियो। अनि यस कुरामा ढिलो गर्नुहुँदैनथियो, नत्र ता यो अमूल्य फसल बिग्रिनेथियो।

अनि यस सम्बन्धमा उहाँले आफ्ना चेलाहरूलाई अर्को ठाउँमा यसो भन्नुभयोः “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनेर प्रार्थना गर!” (मत्ती ९:३७-३८ )। अनि उहाँले फेरि भन्नुभयो: “आफ्ना आँखाहरू उठाओ र खेतबारीहरू हेर; किनकि ती कटनीको निम्ति पहेंलै भइसकेका छन्” (यूहन्ना ४:३५)। यसकारण हामीले सिक्नुपर्ने पहिलो कुरा यो होः प्रभुको दाखबारीमा फसल पाकिरहेको छ। अमूल्य आत्माहरू नाश हुन लागेका छन्; अनि तिनीहरू नाश हुनुभन्दा अघि, हो, यो मूल्यवान् फसल बिग्रिनुभन्दा अघि यो फसल उठाउन र भित्र्याउन प्रभुलाई खेतालाहरूको आवश्यकता पर्छ, यसमा कुनै शङ्का छैन। यसकारण उहाँ घरिघरि निस्कनुहुन्छ र अन्तिम घड़ीसम्म, अर्थात् आजको दिनसम्म खेतालाहरूलाई खोज्दै हुनुहुन्छ र काममा लगाउँदै हुनुहुन्छ। किनकि जबसम्म अन्यजातिका मानिसहरू पूरा सङ्ख्यामा परमेश्वरको राज्यमा भित्र्याइएका हुँदैनन्, तबसम्म उहाँको फसल उठाइन्छ र भित्र्याइन्छ। तब यसमा हाम्रो हिस्सा के हो त? हाम्रो जिम्मेवारी यस प्रकारको छः हामी कि त खेतालाहरूको निम्ति प्रभुलाई हाम्रो प्रार्थनामा निरन्तर विन्ती गर्नुपर्छ, कि त हामी उहाँको दाखबारीमा परिश्रम गर्ने खेताला हुन आफै तयार हुनुपर्छ, र आफूलाई यस कामको निम्ति पूरा अर्पण गर्नुपर्छ। हामी कि त सुसमाचारको काममा व्यस्त रहनुपर्छ, कि त प्रभुको मण्डलीमा सेवा गर्न तत्पार हुनुपर्छ। परमेश्वरको वचनले हामीलाई यसको निम्ति निम्न प्रोत्साहन दिन्छः ‘यसकारण मेरा प्रिय भाइहरूहो, स्थिर होओ, अटल होओ र प्रभुको काममा सधैंभरि प्रशस्त हुँदै जाओ; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन’ (१ कोरिन्थी १५:५८ )। यसकारण प्रिय भाइबहिनीहरूहो, आउनुहोस्, हामी यो उक्त पद सिरोपर गरौं, र प्रभुको काममा व्यस्त रहौं! प्रभुको काममा परिश्रम गरौं! प्रभुको काममा आफूलाई दिइहालौं र प्रभुको काममा प्रगति गर्दै जाऔं!

यस दृष्टान्तबाट दोस्रो आशिष यस प्रकारको छः परमेश्वरका जनहरूमध्ये आवश्यक नपरेको, उहाँको काममा लागिनपर्नुपरेको कुनै मानिस नै छैन। किनकि यस दृष्टान्त अनुसार हाम्रा प्रभु घरिघरि खेतालाहरूलाई बोलाउन निस्कनुभएको छ। उहाँलाई विशेष सीप र क्षमता भएका मानिसहरूलाई होइन, तर साधारण कामदार वा खेतालाहरूलाई आवश्यक पर्छ। अनि यस सम्बन्धमा मलाई याद छ, कि जब म नयाँ विश्वासी थिएँ, तब घरिघरि मिसनरीहरूको मुखबाट प्रभुको कामको निम्ति हृदय-स्पर्शी आह्वानहरू सुनिन्थे। तर वर्तमान समयमा यस प्रकारका आह्वानहरू कम सुनिन्छन्, किन होला? यसको गल्ती हामीले प्रभुमा खोज्नुहुँदैन, तर प्रभुको मण्डलीमा पो खोज्नुपर्छ। हाम्रो हृदय प्रभुको बोलावट र उहाँको कामप्रति कति खल्लो, कि त कठोर भएको हुनुपर्छ! किनकि प्रभु येशू अनुग्रहको समयको अन्तिम घड़ीमा पनि निस्केर जानुहुन्छ र हामीजस्तै मानिसहरूलाई खेतालाहरूको रूपमा उहाँको दाखबारीमा काम गर्ने अवसर दिँदै हुनुहुन्छ।

तर हुन सक्छ, तपाईंले यी पछिल्ला खेतालाहरूले जस्तै भन्न सक्नुहुन्छः ‘कसैले पनि हामीलाई काममा लाएन नि; यही कारणले हामी कामविना यहाँ दिनभरि उभिरहेका हुन्छौं।’ यसकारण म आज प्रभुको सेवक भएको हैसियतले तपाईंलाई भन्छुः आज प्रभु येशूले तपाईंलाई उहाँको काममा खेतालाको रूपमा भर्ना गर्नुहुन्छ; आज उहाँ तपाईंलाई यसको निम्ति सुनौलो मौका दिँदै हुनुहुन्छ। किनभने कि त सुसमाचार सुनाउने काममा तपाईंको सेवा आवश्यक छ, कि त मण्डलीभित्र तपाईंले आफ्नो बोलावट र वरदानअनुसार परिश्रम गर्नुपर्छ। प्रभुका जनहरूमध्ये कोही पनि निष्क्रिय हुनुपर्दैन, अहँ, निष्क्रिय हुनुहुँदैन। यसकारण नभन्दै प्रभुको काममा लाग्नुहोस्! सुसमाचार सुनाउने मौकाहरू खोज्नुहोस्! प्रभुको गवाही दिने कुरामा निपुण भएको प्रचारक प्रचारिकाको काम सिक्नुहोस्! अनुभवी दाजुभाइहरूको साथमा लाग्नुहोस् र उनीहरूको देखासिकी गरेर उनीहरूबाट आत्मा जित्ने काम सिक्नुहोस्! तपाईंको जीवनको एकै घण्टा मात्र बाँकी रहे पनि यो समय खेर नफाल्नुहोस्! किनकि प्रभुको फसल पाकिरहेको छ। तब हामी बिनसित्ति किन बसिरहौं? होइन, होइन, हामीले प्रभुको काममा परिश्रम गर्नुपर्छ र अमूल्य आत्माहरू नाश हुनदेखि बचाउनुपर्छ, तिनीहरूलाई बटुल्नुपर्छ र ढिलो नहुने गरी तिनीहरूलाई परमेश्वरको राज्यभित्र ल्याउनुपर्छ। किनकि त्यो दिन चाँडै आउँदैछ, जब काम गर्न ढिलो भइसक्नेछ। किनभने रात आउँछ, जब कसैले पनि काम गर्न सक्दैन (यूहन्ना ९:४)।

तर प्रभु येशूको यस दृष्टान्तमा हाम्रो ध्यान आकर्षण गर्ने अझ एउटा कुरा रहेको छ, अनि यस कुरामा हाम्रो निम्ति अझ ठूलो आशिष लुकिरहेको छः उहाँले आफ्नो दाखबारीमा काम गर्ने खेतालाहरूलाई कुन प्रकारले ज्याला दिनुहुन्छ, यस दृष्टान्तको रहस्य यसैमा छ। किनकि...

क) हाम्रो निम्ति ज्याला निर्धारित गरिएको छ
यस दृष्टान्तमा हाम्रा प्रभुले पहिला खेतालाहरूसित ज्याला निर्धारित गर्नुभयो, तर पछि काममा लगाइएका खेतालाहरूले उहाँको निगाहअनुसार ज्याला पाए। यसकारण प्रभुको सेवा गर्न चाहनेहरूले यो पाठ सिक्नुपर्छः हामीले आफ्नो ज्याला प्रभुको हातमा छोड्नुपर्छ। यो हाम्रो बुद्धि ठहरिन्छ। किनकि जे उचित छ, उहाँले त्यो हामीलाई दिनुहुन्छ र त्योभन्दा बढ़ी दिनुहुन्छ। किनभने मत्ती १९:२७ पदमा पत्रुसले हाम्रा प्रभुलाई निम्न प्रश्न सोधेः ‘हेर्नुहोस् प्रभु, हामीले सबै कुराहरू त्याग्यौं र तपाईंलाई पछ्यायौं; तब हामीले के पाउनेछौं?’ तिनलाई दिइएको प्रभुको उत्तरबाट सुस्पष्ट हुन्छः हाम्रो सेवाको निम्ति हामीले दुई प्रकारका इनामहरू पाउनेछौं। एउटा इनाम लौकिक हुन्छ, र अर्को इनाम अलौकिक हुन्छ। अनि यसमा खास हामीले बुझ्नुपर्छ, कि हाम्रो इनाम हाम्रो त्यागअनुसार पो हामीलाई दिइन्छ। किनकि जसले उहाँको नामको खातिर घर, दाजुभाइ, दिदीबहिनी, बुबा, आमा, पत्नी, छोराछोरीहरूलाई वा जग्गाजमिन आदि छोड़ेको छ, उसले सय गुणा इनाम पाउनेछ, र अनन्त जीवन उसको हक हुनेछ (मत्ती १९:२९)।

ख) हामीलाई उचित ज्याला दिइन्छ
ओहो, हामीलाई हामीले गरेको सेवाको निम्ति कम्ती होइन, तर हामीलाई उचित इनाम दिइन्छ। प्रभु येशूको सेवा गर्ने भाइबहिनीहरूहो, जे उचित छ, त्यो तपाईंहरूले पाउनुहुन्छ; अनि चाँड़ै त्यो दिन आउँछ, जब हामी त्यो लौकिक इनामभन्दा बढ़ी इनाम, एउटा अनन्त इनाम पाउनेछौं। किनकि हाम्रा प्रभु भलो र उदारचित्तको हुनुहुन्छ।

ग) ज्याला दिने मालिक भलो हुनुहुन्छ
हामीले पापको सेवा होइन, संसारको सेवा पनि होइन, तर हामीले प्रभुको सेवा गर्न पाएको कुरा कहिल्यै बिर्सनुहुँदैन। यो कति ठूलो सौभाग्य हो!! यसको निम्ति हामी कृतज्ञ हुनुपर्छ। हामीले आनन्दसाथ प्रभुको सेवा गर्नुपर्छ (भजन १००:२)। हामी अल्छे नहोऔं, तर आत्मामा जोशिला होऔं र यसरी प्रभुको सेवा गरिरहौं (रोमी १२:११)। किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ (लूका १०:७, १ तिमोथी ५:१८)।

घ) कति खेतालाहरूको हृदयमा लोभ बसेको छ
प्रभुले पछिल्ला खेतालाहरूबाट शुरु गरेर यिनीहरूलाई यिनीहरूको ज्याला दिनुभयो; किनभने उहाँले अघिल्ला खेतालाहरूको हृदयमा भएको लोभ प्रकट गर्न चाहनुभयो र तिनीहरूलाई यसको विषयमा पछुताउने मौका दिनुभयो। किनकि तिनीहरूको हृदय र ध्यान यस निर्धारित गरिएको तुच्छ ज्यालामाथि अड़ेको थियो। यसकारण तिनीहरूले पछि आएका आफ्ना सङ्गी-खेतालाहरूलाई डाहा गरे र उदारचित्त हुनुभएको प्रभुको विरोधमा गनगन गरे। तिनीहरूको विचारमा, प्रभुको सेवा गर्नुचाहिँ पैसा कमाउने बाटो, अँ, शुभ-लाभको उपाय पो भएको रहेछ। तर यो सुस्पष्ट छः प्रभुको सेवा गर्ने कुनै मानिस धनी बन्नेछैन नै।

यस सम्बन्धमा हामीले प्रेरित पावलको शिक्षा सुन्नुपर्छ, जसरी तिनले १ तिमोथी ६:५-१० पदको खण्डमा हामीलाई निम्न कुराहरू सिकाएका छन्।

१) परमेश्वर यस्ताहरूलाई घृणा गर्नुहुन्छ, जसको मनमा यस प्रकारको लोभ छ। अनि लोभचाहिँ मूर्तिपूजा बराबर पाप हो (कलस्सी ३:५)। यसकारण परमेश्वर लोभी मानिसहरूबाट पर बस्नुहुन्छ।

२) प्रभुको सेवा र भक्ति गर्ने मानिस सन्तुष्ट हुनुपर्छ। यसमा ठूलो लाभ हुन्छ।

३) कहिले र कतिमा हामी सन्तुष्ट रहनुपर्छ? प्रेरित पावलको उत्तर यस प्रकारको छः जब हामीसँग खानेकुरा र वस्त्र हुन्छ, तब हामी यसैमा सन्तुष्ट हुनुपर्छ। किन?

४) किनकि हामी यस संसारमा नाङ्गा आयौं र यस संसारबाट नाङ्गै बिदा हुनेछौं (अय्यूब १:२१)। हामी केही पनि साथमा लैजान सक्दैनौं–यस स्वर्गीय इनामबाहेक, जुन इनाम स्वर्गमा हाम्रो निम्ति सुरक्षित राखिएको छ।

५) प्रभुको सेवा गरेर अथवा उहाँको सेवा नगरेर पनि हामी यस संसारमा धनी हुने इच्छा नगरौं! किनभने हामी आफूलाई परीक्षामा किन पार्ने? हामी शैतानको पासोमा किन पर्ने? हामी अनेक मूर्ख र हानिकारक अभिलाषाहरूमा किन फस्ने? हामी बरबादी र विनाशमा किन डुब्ने?

६) रुपियाँ-पैसाको लोभचाहिँ सबै खराबीको जरा हो। यो हाम्रो विश्वास खतम पार्ने र हाम्रो आत्मिक जीवन नाश गर्ने डरलाग्दो विष पो हुँदो रहेछ। हामी पथभ्रष्ट भएर विश्वासबाट किन सत्यको बाटो बिराउने? हामी आफूलाई किन नाना किसिमका पीड़ाहरूले छेंड़ैछेंड़ पार्ने? यसमा हाम्रो अमूल्य आत्मा गुमाउने सवाल छ।

७) होइन, होइन, हामी तत्कालै यस्तो कुराबाट भाग्नुपर्छ (१ तिमोथी ६:११)। के हामीलाई मत्ती १९ अध्यायमा त्यस धनी जवानको सम्झना आलो रहेको छैन, जसलाई प्रभु येशूले यसो भन्नुभयो: “तिमीसँग जे छ, बेचेर गरिबहरूलाई देऊ, र स्वर्गमा तिमीसँग धन हुनेछ; अनि आऊ, मेरो पछि लाग!” तर यो सुन्दाखेरि त्यो जवान दु:खित भयो र गइगयो; किनकि त्यससँग धेरै सम्पत्ति थियो। तपाईं र म - हामी धन्यका हौं; किनकि हामी धनी छैनौं, र हामीसँग धेरै धन छैन; किनकि संसारको धनले हामीलाई प्रभुको सेवा र भक्ति गर्न रोक्नेथियो। तब उहाँको सेवा गर्दा-गर्दै हामी किन धनी हुन खोज्ने? यो हामीलाई सुहाउँदैन; अनि हाम्रो धनले प्रायः हाम्रो भलाइ गर्दैन। हाम्रो ध्यान स्वर्गको धनमाथि रहनुपर्छ। किनकि जसले प्रभुको निम्ति केही त्याग्छ, उसले यसको निम्ति सय गुणा बढ़ी र कहिल्यै नाश नहुने धन पाउनेछ।

ङ) मौकाअनुसार हामीलाई ज्याला दिइन्छ
पछिल्ला खेतालाहरूले अघिल्ला खेतालाहरूले पाए जति ज्याला पाए; किनकि तिनीहरूले प्रभुको सेवा गर्ने अवसर ढिलो मात्र पाए। दिनभरि तिनीहरू निष्काम भएर उभिए। तिनीहरू अल्छे भएर बसेनन्, तर काम गर्ने तयारीमा रहे; तिनीहरू काम पाउँछौं कि भन्ने मनसायले उभिरहे। तर कसैले पनि तिनीहरूलाई काममा लगाएन। अन्तमा प्रभुले तिनीहरूलाई पनि काममा बोलाउनुभयो, किनभने साँझको बेलामा उहाँको फसल अझै पनि भित्र्याएको थिएन र केही काम बाँकी रहेको थियो। किनकि बिहानै काममा लगाइएका र पछि तिनीहरूलाई काममा साथ दिने खेतालाहरूले प्रभुको काम सिद्ध्याएका भए पछिल्लाहरूको आवश्यकता परेको थिएन। के अघिल्लाहरूले सकेसम्म परिश्रम गरेर तनमनले उहाँको काम गरे? यसमा मलाई शङ्का लागेको छ; यसमा हामीले एउटा प्रश्न चिन्ह लगाउनुपर्छ। हामीले यो प्रश्न गर्नुपर्छः तब यस दाखबारीको सम्पूर्ण फसल किन भित्र आएको थिएन? होइन, साँझ पर्दा फसलको अन्तिम भाग उठाउन अझ बाँकी नै थियो। यसकारण आखिर घड़ीमा प्रभु फेरि गएर अझ पनि खेतालाहरूलाई काममा लगाउन खोज्नुभयो। यस कुरामा दिनभरि परिश्रम गर्नेहरू कति खुशी हुनुपर्नेथियो! किनकि तिनीहरू थकित भइसकेका थिए; दिन धेरै बितिसकेको थियो, र पनि फसल उठाउन बाँकी रहेको थियो। यसकारण नयाँ श्रमशक्तिको टोली आइपुग्दा तिनीहरू रमाउनुपर्नेथियो; किनकि अब त यिनीहरूको सहायताले एकैक्षणमै बाँकी फसल उठाइनेथियो। तर तिनीहरूलाई फसलको के पर्वाह? फसल भित्र आओस् वा भित्र नआओस्, तिनीहरूलाई जसो भए पनि एक दीनार ज्याला पाउनु थियो। तिनीहरूले हाम्रा प्रभुको चिन्ता अलिकति पनि बुझ्न सकेनन्। यसकारण यस सम्बन्धमा हामीले प्रभुका निम्न शब्द सुन्नुपर्छः 'जसले बाली काट्छ, उसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, यस हेतुले कि बीउ छर्ने र बाली काट्ने दुवैले एकसाथ रमाउन सकून्' (यूहन्ना ४:३६)। यसकारण बुझ्नुहोस्, प्रभुको सेवा गर्ने मानिसले व्यर्थमा प्रभुको सेवा गर्दैन, तर अवश्य ज्याला पाउँछ। तर कुरा यतिमा सीमित रहँदैन। जसले फसल उठाउँछ, उसले अनन्त जीवनको निम्ति मूल्यवान् फल बटुल्छ। उसको सेवाले गर्दा स्वर्ग अमूल्य आत्माहरूले भरिन्छ, जसले उसको सेवकाइले गर्दा मुक्तिको सुसमाचार सुनेर प्रभु येशूमाथि विश्वास गर्ने मौका पाए र विश्वास गरेर अनन्त जीवन पाए। बीउ छर्ने र बाली काट्ने काम - यी दुवै काम खेतालाहरूको काम हुन्। अनि प्रभुको काम गर्न पाउने सबैजनाको निम्ति एकसाथ रमाउनु उचित छ। अघिल्ला खेतालाहरू पछिल्ला खेतालाहरूसित एकसाथ रमाउनुपर्नेथियो; किनकि अब त फसल उठाउने काम सिद्धियो र सम्पूर्ण फसल उठाइयो। किनभने यी पछिल्ला खेतालाहरूको सहायताले सम्पूर्ण फसल उठाइयो र भित्र आयो। तर तिनीहरूले यसो गर्न सकेनन्। हाय, तिनीहरूको हृदयमा भएको पाप, त्यस धनको लोभले गर्दा तिनीहरू एकसाथ रमाउन सकेनन्! रमाउनु त के, यसको सट्टामा तिनीहरूको आँखा जल्यो, र तिनीहरूले प्रभुको विरोधमा गनगन गरे। यसरी तिनीहरूले त्यो अनन्त स्वर्गीय आशिष गुमाए, र बिचरा, एक दिनको ज्याला मात्र तिनीहरूको हिस्सा भयो।

यस सम्बन्धमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद।
email: [email protected]

प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र ‘आशाको किरण’ को नाममा हाम्रो रेडियो ब्रोडकास्ट सुन्नुहोस्, अथवा अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो web page बाट डाउन लोड गरेर पढ्नुहोस्ः

www.nbcinepal.org

Your encouragement is valuable to us

Your stories help make websites like this possible.