Lot and Jesus.png

“लूतका दिनहरूमा जस्तै भइरहेको थियोः तिनीहरूले खाइरहेका र पिइरहेका थिए, तिनीहरूले किनबेच गरिरहेका थिए, तिनीहरूले रोपिरहेका र निर्माण गरिरहेका थिए; तर जुन दिनमा लूत सदोमबाट निस्के, त्यही दिनमा आकाशबाट आगो र गन्धक बस्यो, र त्यस अग्नि-वर्षाले तिनीहरू सबैलाई नाश पार्‍यो, जुन दिनमा मानिसको पुत्र प्रकट हुनेछन्, त्यस दिनमा पनि ठीक यस्तै हुनेछ। त्यस दिनमा जुन मानिस घरको कौसीमा हुनेछ र त्यसका मालसामानहरू घरभित्र हुनेछन्, त्यो मानिस ती सामानहरू लिन तल नओर्लोस्; अनि जुन मानिस खेतबारीमा हुनेछ, त्यो मानिस पनि त्यसरी नै फर्केर नजाओस्। लूतकी पत्नीलाई याद गर! जसले आफ्नो प्राण बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउँछ, उसले त्यो जोगाउनेछ। म तिमीहरूलाई भन्छु, त्यस रातमा दुईजना एकै खाटमा हुनेछन्–एकजना लगिनेछ र अर्को छोड़िनेछ। दुईजना स्त्रीहरू एकसाथ जाँतो पिँधिरहेका हुनेछन्–एउटी लगिनेछे र अर्को छोड़िनेछे। दुईजना खेतबारीमा हुनेछन्-एकजना लगिनेछ र अर्को छोड़िनेछ।” अनि जवाफमा तिनीहरूले उहाँलाई सोधेः "कहाँ, प्रभु?” अनि उहाँले तिनीहरूलाई भन्नुभयोः “जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन्।” लूका १७:२८-३७ 

मानव जातिको इतिहासमा दुईवटा प्रमुख घटनाहरू घटे, जुन घटनाहरूमा सबै मानिसहरूको निम्ति, विशेष गरी भक्तिहीन मानिसहरूको निम्ति एउटा दिव्य सन्देश र गम्भीर चेताउनी छः क) नूहको दिनमा सारा संसारका मानिसहरूमाथि आएको जलप्रलय, साथै ख) सोदम र गोमराका शहरहरू खरानीमा परिणत भएको सर्वनाश। उहिलेको संसारमाथि उर्लेर आएको जलप्रलयको विषयमा हामी 'प्रभु येशूको दोस्रो आगमनको सम्बन्धमा नूह, पानीजाहाज र जलप्रलय' नामक अर्को लेखमा ध्यान दिएका छौं; यसकारण कृपाय गरी तपाईंले त्यो लेख पढ्नुहोला। तर आज हामी दोस्रो घटनामाथि हाम्रो ध्यान लगाउनेछौंः सोदम र गोमराको सर्वनाश। 

वर्तमान समयमा मृत सागर जहाँ अवस्थित छ, त्यहाँ एक समयमा अदनको सुन्दर बगैंचाजस्तो, मिस्र देशमा भएझैं जताततै पानीले सिँचिएको एउटा फलाइलो सुन्दर मैदान थियो, अनि यस मैदानमा सदोम र गमोरा नामक शहरहरू अवस्थित थिए, जुन शहरहरूमा कनानी जातिका मानिसहरू बस्थे। सदोम र गमोराका बासिन्दाहरू परमप्रभुको दृष्टिमा साह्रै दुष्ट र घोर पापी मानिस थिए। तिनीहरूको अधर्म के पो थियो त? 

'हेर, सदोमको अधर्म यही थियोः त्यसमा र त्यसका बस्तीहरूमा घमण्ड थियो, भोजनको भरपूरी थियो, प्रशस्त अल्छीपन थियो; अँ, त्यसले गरिब र खाँचोमा परेका मानिसहरूको हात बलियो पारेन।' इजकिएल १६:४९ 

सदोमका मानिसहरूसँग उब्रोपब्रो हुने गरी प्रशस्त खानेकुरा थियो; तिनीहरू घमण्डी भए, तिनीहरू अल्छे थिए; तिनीहरूमा गरिब, दुःखी मानिसहरूप्रति कुनै दयामाया थिएन। यो तिनीहरूको अधर्मको शुरुआत थियो। तर समयको अन्तरालमा तिनीहरूको पाप बढ्दै गयो र साह्रै घिनलाग्दो गयो। तिनीहरूले भौतिक रूपले उन्नति गरे, अनि पैसा र धनसम्पत्तिले भ्याएसम्म तिनीहरू एउटा भक्तिहीन जीवन जिउँथे। किनकि विस्तारै-विस्तारै ठूला अधर्महरू र पापपूर्ण अभिलाषाहरूले तिनीहरूको बोली, तिनीहरूको चालचलन र तिनीहरूका कामकुराहरूमा राज्य गर्न थाले। यी मानिसहरूले भौतिक प्रशस्तता सहन सक्दैनथिए, र तिनीहरू अधम पापी बने। यसकारण बुझ्नुहोस्ः मानिसले दुःखकष्ट र गरिबी जे पनि सहन सक्छ, तर फलिफापचाहिँ सहन सक्दैन। किनभने फलिफाप नै जुनै मानिस र जुनै जातिको निम्ति पनि पतन ल्याउने मूल-कारण हो। 

अनि यी सदोमका पापी मानिसहरूको बीचमा लूत प्रवासी भई बस्थे। लूत परम-अरामबाट आएका विदेशी मानिस थिए; तिनी अघि धेरै समयसम्म अब्राहामसँग रहेका थिए। तर उनीबाट छुटेपछि तिनी सदोममा बस्न लागे। तिनले सदोमकी एउटी स्त्रीलाई विवाह गरे र यिनीबाट तिनलाई छोरीहरू जन्मे। सदोमका मानिसहरूको दुष्टताले तिनको धर्मी मनलाई पिरोल्थ्यो। तिनीहरूको बीचमा जुन कुकर्महरू तिनले दिन प्रतिदिन देख्थे र जुन अपशब्दहरू तिनले घरिघरि सुन्थे, ती कुकर्म र अपशब्दहरू सहन तिनको निम्ति अति गाह्रो थियो। यसैबाट तिनको मन पीड़ित र साह्रै व्याकुल हुन्थ्यो। 

अनि यही समयमा यता कनान देशको मम्रे भन्ने ठाउँमा अब्राहामसँग परमप्रभुको भेट भयो, र उनीसित अन्य विषयमा बातचित हुँदा उहाँले उनलाई सदोम र गमोराको बारेमा पनि आफ्नो गुनासो सुनाउनुभयो। किनभने उहाँले तिनीहरूका अधर्महरू अझ बढ़ी सहन सक्नुहुन्नथियो। तिनीहरूको पापको नाप पूरा भएको थियो, र उहाँले तिनीहरूलाई नाश गर्न लाग्नुभयो। यो कुरा सुन्नासाथ अब्राहामले मध्यस्थको काम गरे र लूतलाई सम्झेर परमप्रभुलाई सदोममा सम्भवतः जिएका धर्मी मानिसहरूको निम्ति अन्तर्विन्ती गर्न लागे। परमेश्वरले दुष्ट मानिसहरूलाई नाश गर्नुहुँदा धर्मी जनहरूलाई कसरी नाश गर्न सक्नुहुनेथियो त? यो उनको विचारमा असम्भव कुरा थियो। अब्राहामका आँखामा उहाँ सारा पृथ्वीको परम धर्मी न्यायकर्ता हुनुहुन्थ्यो, जसले सठीक न्याय कायम राख्‍नुहुन्थ्यो। यसकारण उहाँले धर्मी जनहरूलाई अवश्य नाश गर्नुहुन्नथियो। यसकारण उनले यस भेटघाटमा परमप्रभुलाई घरिघरि धर्मी जनहरूको पक्षमा विन्ती चढ़ाए। 

अनि त्यस दिनको साँझमा परमेश्वरका दुईजना दूतहरू सदोममा आइपुगे। अनि जब लूतले उनीहरूलाई देखे, तब तिनले उनीहरूलाई आफ्नो घरमा पहुना सत्कार गरे। अनि ती स्वर्गका दूतहरूले लूतलाई भन्न लागेः 'हामी यो ठाउँ नष्ट गर्न आएका हौं; किनकि परमप्रभुको सामु तिनीहरूको चिच्च्याहटको आवाज झर्को भएको छ; यसकारण परमप्रभुले हामीलाई यो शहर नष्ट गर्न पठाउनुभएको हो।' अनि यस रातको भोलिपल्ट, उज्यालो हुन लागेको बेलामा ती स्वर्गका दूतहरूले लूतलाई यसो भन्दै हतार गराएः 'उठ, आफ्नी पत्नी र यहाँ तिमीसँग भएका तिम्रा यी दुईजना छोरीहरूलाई लिएर जाऊ; नत्र तिमी यस शहरको अधर्ममा भस्म हुनेछौ।' किनकि परमप्रभुको दया तिनीमाथि रहेको थियो। यी स्वर्गका दूतहरूले तिनको हात, तिनकी पत्नीको हात र तिनका छोरीहरूका हात पक्रे र तिनीहरूलाई यस शहरबाट निकालेर तिनीहरूलाई शहर - बाहिर छोड़िराखे। 'आफ्नो प्राण बचाउन भाग! आफ्नो पछिल्तिर फर्केर नहेर!' यो तिनीहरूको निम्ति परमेश्वरको अन्तिम आज्ञा थियो। 'पहाड़तिर भागेर जाओ; नत्र तिमीहरू भस्म हुनेछौ।' 'छिट्टै गर, त्यहीं भागेर जाओ; किनकि तिमीहरू त्यहाँ नपुगुन्जेल हामी केही गर्न सक्दैनौं।' अनि धरतीमाथि घाम झुल्किरहेको बेलामा परमप्रभुले आकाशबाट सदोम र गमोरामाथि गन्धक र आगो बर्साउनुभयो। उहाँले ती शहरहरू, यो समस्त मैदान र ती शहरहरूका सबै बासिन्दाहरूलाई, साथै यस मैदानको जमिनमा उम्रेका सबै चीजबीजहरू नष्ट पारिदिनुभयो। अनि लूतकी पत्नीचाहिँ? यिनले पछि फर्केर हेरिन्, र तत्कालै यिनी एउटा नुनको खाँबा भइन्। यसकारण बुझ्नुहोस्ः हामी परमेश्वरको न्यायबाट बाँच्नुपरेको छ। हामी संसारसित नाश हुनुहुँदैन। यसकारण प्रभु येशूमा शरण लिनुहोस् र परमेश्वरको न्यायबाट उम्केर जानुहोस्! किनकि स्वर्गदूतको आज्ञा छः 'आफ्नो प्राण बचाउन भाग! आफ्नो पछिल्तिर फर्केर नहेर!' 

परमेश्वरको वचनअनुसार लूतका दिनहरूमा जस्तै भइरहेको थियो, ठीक त्यस्तै प्रभु येशूको दोस्रो आगमनको समयमा पनि हुने रहेछ। मानिसहरूको बीचमा अधर्महरू ज्यादा बढ्नेछन्। तर एक दिन मानिसहरूका पापको नाप पूरा हुनेछ। परमेश्वरले मानिसहरूका पापहरू सधैंभरि सहनुहुनेछैन, किनकि उहाँको शहनशीलतामा पनि एउटा सीमा छ; यसकारण उहाँले मानिसहरूलाई अवश्य न्याय गर्नुहुनेछ। किनभने उहाँले धर्मी जनहरूलाई परीक्षाबाट बचाउन, तर अधर्मी मानिसहरूलाई न्याय गरेर दण्ड दिन जान्नुहुन्छ। निस्सन्देह अशुद्ध अभिलाषाहरूको वशमा हुने व्यभिचारी मानिसहरूले उहाँको क्रोधको आगो चाख्नेछन्। तिनीहरूले उहाँको निन्दा गरून्, तिनीहरूले आफूमाथि उहाँको अधिकार सरासर इन्कार गरून्। तिनीहरूले उहाँको विरोधमा ठूला-ठूला कुरा बोलून्, बाकून्; अँ, तिनीहरू उहाँलाई अलिकति पनि नतेर्ने हठी मानिसहरू किन नहोऊन्, जसमा परमेश्वरको डर  अलिकति पनि छैन। तर तिनीहरूको निम्ति नरकको आगो साँचिराखेको छ। हामी यो कसरी निश्चित जानौं? परमेश्वरको सत्य वचनको निम्न खण्डले यो कुरा सुस्पष्ट रूपले बताएको छ, जहाँ हामी यसो लेखिएको पढ्छौंः 

'अनि परमेश्वरले सदोम र गमोराका शहरहरू खरानीमा परिणत गरीकन तिनीहरूलाई विनाशको दण्ड दिनुभयो र तिनीहरूलाई पछिबाट भक्तिहीन जीवन जिउनेहरूको निम्ति एउटा नमुना तुल्याउनुभयो। अनि उहाँले दुष्ट मानिसहरूको घिनलाग्दो चालको कारणले विरक्त भएका धर्मी लूतलाई छुटकारा दिनुभयो भने, (किनकि तिनीहरूको बीचमा बसोबास गरेका यी धर्मी जनले तिनीहरूका कुकर्महरू देखेर र तिनको बारेमा सुनेर आफ्नो धर्मी मन दिनहुँ पीड़ित पार्थे), प्रभुले भक्त जनहरूलाई परीक्षाहरूबाट कसरी छुटकारा दिनुपर्छ, सो जान्नुहुन्छ र अधर्मी मानिस- हरूलाई दण्ड दिनको निम्ति न्यायको दिनसम्म साँचिराख्न पनि जान्नुहुन्छ, विशेष गरी तिनी- हरूलाई, जो अशुद्ध पार्ने अभिलाषाको वशमा हुन्छन् र शरीरको पछि लाग्छन् र जसले प्रभुत्व तुच्छ ठान्छन्। तिनीहरू दुःसाहसी, हठी मानिसहरू हुन्छन्, जो उच्च पदाधिकारीहरूको निन्दा गर्न समेत डराउँदैनन्।'  २ पत्रुस २:६-१० 

यसकारण बुझ्नुहोस्, जब परमेश्वरले सदोम र गमोराका शहरहरू खरानीमा परिणत गर्नुभयो र तिनीहरूलाई विनाशको दण्ड दिनुभयो, तब उहाँले तिनीहरूलाई पछिबाट भक्तिहीन जीवन जिउनेहरूको निम्ति एउटा नमुना तुल्याउनुभयो। 

'सदोम र गमोरा र यही प्रकारले तिनको वरिपरि भएका शहरहरू अनन्त आगोको सजाय भोगेर एउटा नमुना बनेका छन्; किनकि तिनीहरूले आफूलाई पूरा रूपले व्यभिचारको वशमा सुम्पिदिन्थे र अन्य शरीरको पछि लाग्ने गर्थे।'  यहूदा १:७ 

यसकारण आउनुहोस्, र हामी मृत सागर भएको ठाउँमा जाऔं, र यस उराठलाग्यो स्थलमा परमेश्वरको न्यायको विषयमा विचार गरौं र एउटा गम्भीर पाठ सिकौं! नरकको अनन्त आगो तयार छ। तर यो ननिभ्ने आगो कसको लागि हो? यो अग्निकुण्ड डरपोकहरूको निम्ति, विश्वास नगर्नेहरूको निम्ति, घिनलाग्दा हुनेहरूको निम्ति, हत्या गर्नेहरूको निम्ति, व्यभिचार गर्नेहरूको निम्ति, टुनामुना गर्नेहरूको निम्ति, मूर्तिपूजा गर्नेहरूको निम्ति र झूट बोल्नेहरू सबैको निम्ति तयार भएकै छ (प्रकाश २१:८)। तर परमेश्वरको न्यायको त्यस डरलाग्दो दिनमा हाम्रो आत्मा बाँच्नु परेको छ। लूत र तिनको परिवार न्यायबाट उम्के, किन होला? उत्पत्ति १९:२९ पदमा यसो लेखिएको छः 'अनि यस्तो भयोः जब परमेश्वरले त्यस बेंसीका शहरहरू नाश गर्नुभयो, तब परमेश्वरले अब्राहामलाई सम्झना गर्नुभयो; यसैले जुन शहरहरूमा लूत बस्थे, ती शहरहरू नाश गर्नुहुँदा उहाँले लूतलाई विनाशको बीचबाट निकाल्नुभयो।' यसकारण बुझ्नुहोस्, अब्राहामले परमप्रभुको सामु लूतको निम्ति अन्तर्विन्ती गरेको हुनाले लूत बाँचे। अनि हाम्रो विषयमा कसो हो? आउनुहोस्, हामी रोमी ८:३३-३४ पदहरू पढ़ौं, जहाँ यसो लेखिएको छः 

'परमेश्वरका चुनिएकाहरूको विरोधमा कसले अभियोग लगाउला? तिनीहरूलाई धर्मी ठहराउनुहुनेचाहिँ परमेश्वर स्वयम् हुनुहुन्छ। दण्डको आज्ञा दिने को होला त नि? तिनीहरूको निम्ति मर्नुभएको व्यक्तिचाहिँ ख्रीष्ट येशू हुनुहुन्छ; तर उहाँ त झन् बौरिउठ्नुभएको पनि हो; उहाँ परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ; उहाँले हाम्रो निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ।' 

हाम्रो निम्ति अब्राहामले होइन, अरू कुनै सान्तले, अहँ, येशूकी आमा मरियमले पनि होइन, अँ, अरू कसैले पनि होइन, तर केवल प्रभु येशूले अन्तर्विन्ती गर्नुहुन्छ। किनकि उहाँ हाम्रा पापहरूको निम्ति क्रसमा मर्नुभयो, र उहाँले हाम्रो निम्ति हाम्रा पापहरूको सजाय भोग्नुभयो। उहाँ मर्नुभएको तेस्रो दिनमा बौरिउठ्नुभयो; उहाँ स्वर्ग चढ़िजानुभयो; उहाँ परमेश्वरको दाहिने हातमा अनुग्रहको सिंहासनमाथि बस्नुभएको छ। यसकारण येशूको शरण लिनेहरू सबै परमेश्वरको न्यायबाट उम्कनेछन्; किनकि प्रभु येशू हाम्रो पक्ष लिएर हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। 

आफ्नो आत्मा बचाउनु वा गुमाउनु यसको सवाल हो। हामीले लूतकी पत्नीको सम्झना गर्नुपर्छ। आफू बाँच्नुपरेको क्षणमा यिनले आफ्नो मनमा संसारलाई र संसारका थोकहरूलाई बढ़ी माया गरिन्। किनकि यिनी लूतसँग सोदमबाट निस्कन त निस्के; तर यिनको निम्ति सबै थोक, अँ, यिनलाई प्रेम लाग्ने सबै कुराहरू सोदममा थिए। अनि यस शहरमाथि परमेश्वरको न्याय खस्दाखेरि यिनले अचानक पछिल्तिर फर्केर हेरिन्, र तत्कालै नुनको खाँबा बनिन्। यसकारण प्रभु येशूमा मुक्तिको ज्ञान पाएर हामी संसारमा फर्केर नजाऔं। किनकि लूतकी पत्नी उम्किनन्। हामी पनि उम्कनेछैनौं। तपाईंको आत्मा अनन्त आगोबाट बाँच्नु छ। तपाईंको निम्ति प्रभु येशूमा मुक्ति छ। तपाईंको निम्ति स्वर्गदूतको आज्ञा छः 'आफ्नो प्राण बचाउन प्रभु येशूकहाँ भाग! आफ्नो पछिल्तिर फर्केर नहेर!' 

यस सम्बन्धमा तपाईंले कति कुरा अझ बढ़ी बुझ्न, हामीलाई सोध्न वा सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद। 

email: [email protected] 

प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र 'आशाको किरण' अन्तर्गत हाम्रा रेडियो कार्यक्रमहरू सुन्नुहोस्, साथै अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउन लोड गरेर पढ्नुहोस्ः 

www.nbcinepal.org 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.