Deno.png

विभिन्‍न मण्डली–समूह अर्थात्‌  मण्‍डली सम्‍प्रदाय 
भन्‍नाले के बुझिन्‍छ ?

मण्डली–समूह (Christian denomination) भन्‍नाले इसाई धर्मभित्र रहेका ती विभिन्‍न संगठनात्मक समूहहरूलाई बुझिन्छ, जसले इसाई धर्मका मूल सत्य—येशू ख्रीष्ट प्रभु र उद्धारकर्ता हुनुहुन्छ, बाइबल परमेश्वरको वचन हो, र सुसमाचारको सत्यमा एकै किसिमले विश्वास गर्छन्; तर सिद्धान्त, परम्परा, नेतृत्व संरचना वा आराधनाको शैलीमा केही फरक राख्छन्। यी फरक–फरक अभ्यास वा व्याख्याका कारण एउटै विश्वासभित्र पनि छुट्टाछुट्टै समूहहरू बनेका छन्, जसलाई नै मण्डली–समूह/सम्‍प्रदाय (Christian denomination)  भनिन्छ।

इसाई धर्म संसारका विभिन्‍न भूगोल, संस्कृतिहरू, भाषा र राजनीतिक परिस्थितिहरूमा फैलिँदै जाँदा यी भिन्‍नताहरू देखा परे। पहिलेका इसाई परिषदहरूले एकता कायम गर्न खोजे पनि समय–क्रमसँगै केही शिक्षामा मतभेदहरू बढ्दै गए। यी मतभेदहरू इतिहासका विभिन्‍न चरणमा संस्थागत रूप लिन थाले र अन्ततः छुट्टाछुट्टै परम्परा वा सम्‍प्रदायको रूपमा स्थापित भए। त्यसैले यी सबै अलग धर्म होइनन् तर यी सबै एउटै इसाई विश्वासका फरक–फरक रूप वा अभ्‍यास हुन्।

हरेक मण्डली–समूह (Christian denomination) को आफ्नै नेतृत्व संरचना हुन्छ—कसैले बिशप, कार्डिनल वा पादरीको संरचना अपनाउँछ; कसैले एल्डर, पास्टर वा स्थानीय अगुवाहरू प्रयोग गर्छ। क्याथोलिक, अर्थोडक्स र एङ्ग्लिकनजस्ता केही सम्‍प्रदाय धेरै संरचित र ऐतिहासिक नेतृत्व प्रणालीमा अडिएका हुन्छन्, भने ब्‍याप्‍टिस्ट जस्ता केही समूहरूमा स्थानीय मण्डली पूर्ण रूपमा स्वतन्त्र हुन्छ। यी नेतृत्व संरचनाले आराधनाको शैली, संस्कार (sacraments), र मण्डलीको जीवनलाई धेरै प्रभावित गर्छ।

यद्यपि, अभ्‍यासहरू भिन्‍नताहरू भए तापनि अधिकांश मण्डली–समूह (Christian denomination) हरूले एक–अर्कासँग सहकार्य गर्छन्—सामाजिक काम, सेवाकार्य, राहत वितरण, मिशन कार्य, तथा बाइबल शिक्षासँग सम्बन्धित परियोजनाहरूमा। यसरी उनीहरू विश्वस्तरमा एकता, प्रेम, र सेवामार्फत ख्रीष्टको स्वभाव प्रकट गर्न इच्छुक हुन्छन्। विविधताले पनि विश्वासलाई समृद्ध बनाउँछ, किनकि प्रत्येक समूहले आफ्‍नो विशिष्ट दृष्टिकोण, आराधना, वा सेवाका माध्यमबाट सम्पूर्ण इसाई समुदायलाई योगदान दिन्छ।

आजका दिनमा मण्डली–समूह (Christian denomination) संसारका करिब सबै देश र संस्कृतिमा फैलिएका छन्, र विभिन्‍न भाषामा, विभिन्‍न शैलीमा आराधना र स्‍तुतिप्रशंसा गर्छन्। यसले सुसमाचारको विश्वव्यापी प्रभाव र ख्रीष्टको सन्देशको सार्वभौमिकतालाई देखाउँछ। फरक–फरक अभ्‍यास, अनुशासन र परम्परा हुँदाहुँदै पनि सबै विश्वासीको एकता—येशू ख्रीष्टमा भएको विश्वास र उहाँको देह (Body of Christ) मा भएको सहभागिताले सबैलाई एकै परिवारमा बाँधेर राख्छ।

मण्डली–विविधता (Christian–diversity) को कारण विश्वभरका विभिन्‍न इसाई सम्‍प्रदाय, उप–सम्‍प्रदाय, र स्वतन्‍त्र मण्डलीहरूबीच देखिने विशाल विविधतालाई जनाउँछ। येशू ख्रीष्टमा एउटै विश्वास साझा भए पनि संस्कृतिगत, ऐतिहासिक, भौगोलिक, भाषिक, र सिद्धान्तगत कारणहरूले गर्दा इसाई समुदायहरूले आफ्नो-आफ्नै पहिचान र अभ्यास विकास गरेका छन्। यसैले सेन्टर फर स्टडी अफ ग्लोबल क्रिश्चियनिटीका अनुसार आज विश्वमा ४५,०००–५०,००० जति छुट्टाछुट्टै मण्डली–समूह/सम्‍प्रदाय (Christian denominations) हरू पाइन्छन्। यी सबै एउटै धर्मका विविध अभिव्यक्तिहरू हुन्, जसले इसाई धर्मलाई विश्वव्यापी बनाएको छ।

विश्वमा सबैभन्दा ठूलो इसाई समूह/सम्‍प्रदाय रोमन क्‍याथोलिक चर्च (Roman Catholic Church) हो, यसमा विश्वका आधाभन्दा बढी इसाईहरू सामेल छन्। यसपछि इस्‍टर्न अर्थोडक्‍स (Eastern Orthodox) र ओरेन्‍टेल अर्थोडक्‍स (Oriental Orthodox) समूह/सम्‍प्रदायहरू पर्दछन्, जसले प्राचीन इसाई परम्पराहरू पछ्याइराखेका छन्। तेस्रो ठूलो समूह/सम्‍प्रदाय प्रोटेस्‍टेण्‍ट (Protestant) हो, जहाँ लुथरन रिफर्मड (Lutheran, Reformed), एङ्गलिकन (Anglican), ब्‍याप्‍टिस्‍ट (Baptist), मेथोडिस्‍ट (Methodist), पेन्‍टेकोस्‍टल (Pentecostal) जस्ता सयौँ इसाई समूह/सम्‍प्रदाय छन्। प्रोटेस्‍टेण्‍ट (Protestants) भित्र मात्र हजारौँ उप-समूह/सम्‍प्रदाय जन्मिएका छन्, जसले समूहगत विविधतालाई निकै ठूलो बनाएको छ।

यस विविधताको अर्को कारण सान्दर्भीकरण (contextualization) हो—अर्थात् स्थानीय संस्कृतिलाई सम्मान गर्दै सुसमाचारलाई अपनाउने प्रक्रिया। अफ्रिका, एशिया र ल्याटिन अमेरिकामा विकसित भएका स्वतन्त्र चर्चहरूले आफ्ना भाषिक, सांस्कृतिक, संगीतात्मक, र सामाजिक पहिचानलाई आराधनामा समायोजन गरेका छन्। यसले इसाई धर्मलाई स्थानीय संस्कृतिसँग जोडिएको, सरल र समुदाय–केन्द्रित बनाएको छ। यी साना मण्डलीहरू पछि गएर छुट्टै सम्‍प्रदायिक वा समूहगत अभियान (denominational movement) का रूपमा पनि विकसित हुन सक्छन्।

सन १९०० पछि विश्वभर पेन्टेकोस्टल-क्यारिज्म्याटिक अभियान (Pentecostal–Charismatic movement) ले समूहगत विविधता झन् तीव्र बनायो। पवित्र आत्माको वरदान, आराधनाको स्वतन्त्रता, स्‍तुति प्रशंसा–गीत, चङ्गाइ, र शक्तिशाली प्रार्थनाको अभ्यासका कारण थुप्रै नयाँ चर्चहरू स्थापना भए। यी मध्ये धेरैले स्‍वतन्‍त्र मण्‍डली (independent churches) हरूको रूपमा काम गर्छन्, जसले विश्‍वव्‍यापी इसाई समुदायमा हजारौँ नयाँ उप–समूहहरू थपिदिएका छन्। यिनै कारणले आजको इसाई समुदायमा धेरै गतिशील, विस्तारशील, र विविधता देखिन्छ।

यस विस्तृत विविधताबीच पनि सबै इसाई सम्‍प्रदायहरूको मूल केन्द्र भने एउटै हो—येशू ख्रीष्ट। अधिकांश चर्चहरूले बाइबललाई अधिकारिक मान्छन्, त्रिएक परमेश्वरमा विश्वास गर्छन् र सुसमाचार प्रचार र सेवाकार्यलाई प्राथमिकता दिन्छन्। यसले विविधताभित्र पनि साझा एकताको भावना जगाउँछ। समूहगत वा साम्‍प्रदायिक विविधता वास्तवमा इसाई धर्मको विश्वव्यापी फैलावट, अनुकूलन क्षमता र विभिन्‍न संस्कृतिमा उभिन सक्ने सामर्थ्यको प्रमाण हो।

नेपालमा इसाई आस्‍था विस्तार हुन थालेको करिब १९५०–१९६० को दशकदेखि विभिन्‍न समूह/ सम्‍प्रदाय (denominations) हरू क्रमशः भित्रिन थाले। यसअघि नेपाल धेरै दशकसम्म बन्द राष्ट्र भएकाले ख्रीष्टियनता प्रवेश गर्न सकेन। तर देश खुल्न थालेपछि मिशनरीहरूको सेवा, स्थानीय विश्वासीहरूको साक्षी, र बाइबल–अनुवाद तथा शिक्षा–स्वास्थ्य सेवामार्फत अनेकौं मण्डलीहरू स्थापना हुँदै गए। यसरी नेपालमा आज धेरै प्रमुख समूह/सम्‍प्रदाय (denominations) सक्रिय रूपमा सेवा गर्दै आएका छन्, जसले नेपालका विभिन्‍न जाति–भाषा समुदायहरूमा सुसमाचार फैलाउन महत्वपूर्ण भूमिका निभाएका छन्।

[यो उत्तर चितवन, भरतपुर–नौरङ्गेस्थित नौरङ्गे मण्डलीका जवानहरूको तर्फबाट, पास्टर आमोस गुइदेलको अनुरोधमा NBCI का प्रतिनिधिद्वारा तयार गरिएको हो।]

Your encouragement is valuable to us

Your stories help make websites like this possible.