Happy Dashai!

हालैमा नवरात्री चल्दै गरेको बेलामा मैले प्रार्थना गर्दैथिएँ; किनकि मैले यस दशैंमा मेरा भाइबहिनीहरूलाई कुनै न कुनै आशीर्वाद दिन चाहें। यसकारण प्रार्थनाको उत्तरमा मेरो तर्फबाट मैले पवित्र बाइबलमा तपाईंको निम्ति पाएको यो आशीर्वाद ग्रहण गर्नुहोस्ः 

मुक्ति पाउनुहोस्, र सत्यताको ज्ञानमा आउनुहोस्! किनकि यो तपाईंप्रति परमेश्‍वरको र मेरो शुभेच्छा हो। 

पहिलेदेखि नै कोलकाता महानगर भव्य प्रकारले दुर्गापूजा मनाइरहेकोमा सुप्रख्यात छ। अनि नवरात्रीमा भीड़ैभीड़ मानिसहरूको 'पण्डाल-होप्पिङ्ग' भइरहेको छ। यसो गर्दा तिनीहरू खूब आनन्दित भई यस शहरका सड़कहरूको चारैतिर एउटा पूजाको मण्डपदेखि अर्को पूजाको मण्डपमा हाँस्दै र मीठो-मीठो खानेकुरा खाँदै डुलिहिँड्छन्। यो रमाइलो दृश्य हेर्दा मेरो मनमा यो प्रश्न उठ्यो : के मूर्तिपूजा धर्मको काम हो? 

सरस्वती पूजा, हनुमान जयन्ती, नाग पन्चमी, गणेश चतुर्थी, कृष्ण जन्माष्टमी, विश्वकर्म-पूजा, दुर्गा पूजा, लक्ष्मी-पूजा, छठ-पूजा, महा शिव-रात्री आदि अवसरमा सधैं कुनै न कुनै मूर्ति राखेर पूजा गरिन्छ। अनि मूर्तिविना कुनै पूजा-कार्य हुँदैन। किन होला? के मूर्ति नभई हुँदैन? 

आउनुहोस्, हामी यसको विषयमा सत्गुरु येशूको राय लिऔं। यसको निम्ति म तपाईंलाई एउटा बातचितमा सहभागी तुल्याउन चाहन्छु, जुन बातचितमा प्रभु येशू एउटी समारी स्त्रीसँग कुरा गर्दै हुनुहुन्छ। 

“त्यस स्त्रीले उहाँलाई भनीः “हजुर, तपाईं भविष्यवक्ता हुनुहुन्छ भन्ने कुरा अब मलाई थाहा भयो। हाम्रा पितापुर्खाहरूले यस गेरिजिम पहाड़माथि पूजा गर्ने गर्थे, तर तपाईंहरू के भन्नुहुन्छ भने, यरूशलेम पो त्यो ठाउँ हो, जहाँ मानिसहरूले आएर उपासना गर्नुपर्छ।” येशूले उसलाई भन्नुभयो: “हे नारी, मलाई विश्वास गर! त्यो समय आउँछ, जुन घड़ीमा तिमीहरूले न यस पहाड़माथि, न यरूशलेममा मेरा पिताको उपासना गर्नेछौ। जसलाई तिमीहरूले चिन्दैनौ, उहाँको पूजा तिमीहरूले गरेका छौ, तर हामीचाहिँ उहाँको उपासना गर्छौ, जसलाई हामी चिन्दछौं। किनकि मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। तर त्यो समय आउँछ र त्यो समय अहिले नै हो, जुन घड़ीमा साँचो उपासकहरूले मेरा पिताको उपासना आत्मामा र सत्यतामा गर्नेछन्; किनकि मेरा पिताले यस्ताहरूलाई खोज्नुहुन्छ, जसले उहाँको उपासना गर्छन्। परमेश्‍वर आत्मा हुनुहुन्छ, अनि उहाँको उपासना गर्नेहरूले उहाँलाई आत्मामा र सत्यतामा उपासना गर्नुपर्छ।” त्यस स्त्रीले उहाँलाई भनीः “हो, मलाई थाहा छ, मसीह अर्थात् ख्रीष्ट आउनुहुन्छ; अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले हामीलाई सबै कुराहरू बताइदिनुहुनेछ।” येशूले उसलाई भन्नुभयोः “तिमीसँग बल्ने, म उही हुँ।” यूहन्ना ४:१९-२६ 

आउनुहोस्, उक्त यस बातचितबाट हामी निम्न कुराहरू सिकौं : 

क) यस स्त्रीले यहाँ प्रभु येशूलाई एक दर्शीको रूपमा हेर्दैथिई र स्वीकार गर्दैथिई। अनि हाम्रो विषयमा कसो हो? के हामी उहाँको मुखबाट केही ज्ञान ग्रहण गर्न तयार छौं? 

ख) प्रभु येशूले होइन, तर यस स्त्रीले यस बातचितमा धर्मको कुरा उठाई अनि उहाँलाई समारी धर्म र यहूदी धर्मको बीचको भिन्नता देखाई; अनि प्रभु येशूले यहाँ उसलाई यसको जवाफ दिनुभएको हो। उहाँले यहाँ धर्म प्रचार गर्नुभएन। 

ग) प्रभु येशूको कुरा सुन्नुहोस्ः समारीहरूले ईश्वरको पूजा त गर्दैथिए, तर उहाँलाई नचिनीकन पूजा गर्दैथिए। तर यहूदीहरूले सत्य परमेश्‍वरलाई चिन्दैथिए र उहाँको उपासना गर्दैथिए। यसकारण समारी जाति छोड़ेर यस संसारमा अरू मानिस र जातिहरू पनि होलान्, जसले आफ्ना सृष्टिकर्तालाई नचिनीकन पूजा गर्दछन्। अनि यस सम्बन्धमा उपासना-स्थल मुख्य होइन, तर उपासना गर्ने तरिका पो मुख्य कुरा हो। 

घ) मुक्ति यहूदीहरूबाट आउँछ। यस वाक्यमा केही अर्थ हाल्न खाँचो भएको देखिन्छ। किनभने उहिलेको समयमा परमेश्‍वरले एकजना व्यक्तिलाई छान्नभयो, जसको नाम अब्राहाम थियो। अनि उनी र उनको वंशसँग उहाँले एउटा अनन्त करार बाँध्नुभयो। अब्राहामको वंश यहूदीहरू हुन्। अनि परमेश्‍वरले उनीहरूलाई दाऊदको घरानाबाट एकजना मुक्तिदाता पठाउँछु भन्ने प्रतिज्ञा गर्नुभयो। अनि प्रभु येशूमा उहाँको यो प्रतिज्ञा पूरा भयो। उहाँ यहूदीहरूको मुक्तिदाता भई आउनुभयो। तर उहाँ उनीहरूको निम्ति मात्र होइन, तर उहाँ सारा संसारका मानिसहरूको मुक्तिदाता हुनुहुन्छ। अनि यो कुरा बिलकुल सत्य होः आफ्ना पापहरूबाट मुक्ति नपाएको मानिसले सत्य परमेश्‍वरलाई चिन्दैन, साँचो गरी उहाँलाई पुजेको कुरा छोड़िजाओस्। 

ङ) तपाईं र म – हामी परमेश्‍वरका साँचो उपासक हुनु हो भने, हामीले परमेश्‍वरलाई आत्मामा र सत्यतामा पुज्नुपर्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ। यसर्थ कसैले उहाँलाई आफ्नै आँखाहरूले देखेको छैन। यसकारण जसले उहाँलाई कुनै मूर्तिको रूप दिन्छ, उसले परमेश्‍वरलाई चिनेको छैन, तर उहाँको कल्पना मात्र गरेको हो, र यसरी नै आफ्नो अज्ञानताको पक्का प्रमाण दिएको छ; किनभने सृष्टिकर्ता परमेश्‍वर निराकार हुनुहुन्छ। 

च) परमेश्‍वरले आफ्ना उपासकहरूलाई खोज्दै हुनुहुन्छ। तर तिनीहरूले उहाँलाई साँचो प्रकारले पुज्नुपर्छ। यो अनिवार्य हो। के तपाईंले उहाँलाई चिन्न चाहनुहुन्छ? के तपाईंले उहाँलाई साँचो आराधना चढ़ाउन चाहनुहुन्छ? 

छ) तब प्रभु येशूबाट यो सिक्नुहोस्; किनभने सारा ब्रह्माण्ड रचना गर्नुहुने सृष्टिकर्ता उहाँको पिता हुनुहुँदो रहेछ। यसकारण पिता परमेश्‍वरको उपासना कुन प्रकारले गर्नु ठीक हो, सो उहाँबाट सिक्‍नुहोस्! 

आउनुहोस्, हामी यस सम्बन्धमा पवित्र बाइलबको निम्‍न खण्ड पनि पढ़ौं! 

खोपिएको मूर्ति रच्नेहरू सबै व्यर्थका हुन्छन्; अनि तिनीहरूका ललित वस्तुहरूबाट कुनै लाभ हुँदैन। ती मूर्तिहरू आफ्नो निम्ति साक्षी हुन्; किनकि तिनीहरूले देख्दैनन्; तिनीहरूले केही जान्दैनन्; यसकारण तिनीहरू लज्जित हुनेछन्। जुन देवताबाट अथवा जुन धातुको मूर्तिबाट कुनै लाभ हुँदैन, त्यस्तो देवता रच्ने अथवा त्यस्तो धातुको मूर्ति ढालेर बनाउने मानिस को होला त नि? हेर, त्यस रचनाकारका सबै साथीसङ्गीहरू लज्जित हुनेछन्; तब ती कारिगरहरूको विषयमा चाहिँ कसो हो? तिनीहरू मरणशील मानिस मात्र हुन्। तिनीहरू सबै भेला होऊन्; तिनीहरू खड़ा होऊन्; तर तिनीहरू भयभीत हुनेछन् र एकसाथ लज्जित हुनेछन्। 

उता एकजना लोहारले चिम्टा लिएर कोइलामा काम गर्छ र घनहरूले पिटी-पिटी त्यस धातुलाई एउटा आकार दिन्छ, अनि आफ्नो पाखुराको बलले त्यसलाई बनाउँछ; अँ, ऊ भोकाउँछ र बलहीन हुन्छ; उसले पानी पिउँदैन भने ऊ ल्यालकलुलुक हुन्छ। अथवा यता एकजना सिकर्मीले एउटा नाप्‍ने डोरी निकाल्छ, सुइरोले एउटा काठको टुक्रामाथि धर्को तान्छ, कुँद्ने हतियारहरूले त्यसमा काम गर्छ, कर्काटोले त्यसमा रेखा खिँच्छ र मानिसको सुन्दरताअनुसार त्यस मूर्तिलाई मानिसको रूप दिन्छ, यसैले कि त्यो मूर्ति मन्दिरभित्र बसिरहोस्। 

मानिसले आफ्नो निम्ति देवदारका केही रूखहरू ढाल्छ; अनि त्यसले सरु र फलाँटको रूख लिन्छ, जुन रूखहरू त्यसले वनका रूखहरूको बीचबाट आफ्नो निम्ति छानेको छ। मानिसले एउटा सालको विरुवा रोप्छ, र पानीभरीले त्यो बढ्न दिन्छ। त्यसपछि त्यो रूख त्यस मानिसको निम्ति आगो बाल्ने काममा आउँछ। किनकि मानिसले त्यसबाट केही भाग लिएर आगो ताप्छ; हो, त्यसले आगो सल्काउँछ र रोटी पोल्छ। अनि त्यही मानिसले त्यस रूखबाट एउटा देवता पनि बनाउँछ र त्यसलाई दण्डवत् गर्छ। ओहो, मानिसले त्यस रूखबाट एउटा खोपिएको मूर्ति बनाउँछ, र त्यस मूर्तिको सामु लम्पसार पर्छ, कसरी? 

मानिसले त्यस रूखको एउटा भाग आगोमा जलाउँछ; त्यसको अर्को भागबाट त्यसले मासु खान्छ; त्यसले मासु पोल्छ, र तृप्त हुन्छ; अँ, त्यसले आगो ताप्छ र भन्छ: “अहा, मलाई कति न्यानो भयो! मैले आगोको काम के हो, सो देखें।” अनि त्यस रूखको बाँकी भागबाट त्यस मानिसले आफ्नो निम्ति एउटा देवता, एउटा खोपिएको मूर्ति बनाउँछ। ऊ त्यसको सामु लम्पसार पर्छ, उसले त्यसलाई दण्डवत् गर्छ र त्यसलाई प्रार्थना चढ़ाएर भन्छः “हे भागवान्, मलाई छुटकारा देऊ; किनकि तिमी मेरो देवता हौ।” 

यी मानिसहरूले न जानेका छन्, न बुझेका छन्; किनकि परमप्रभुले तिनीहरूका आँखाहरू बन्द गरिदिनुभएको छ, र तिनीहरूले देख्न सक्दैनन्। अनि तिनीहरूका हृदयहरू उहाँले बन्द गरिदिनुभएको छ, र तिनीहरूले बुझ्न सक्दैनन्। किनकि कसैले पनि यो कुरा आफ्नो हृदयमा ख्यालै गर्दैन, न ता यसो भन्न तिनीहरूसँग ज्ञान वा समझ छः “यसको एक भाग मैले आगोमा जलाएँ; अँ, यसको भुङ्ग्रामाथि मैले रोटी पोलें; मैले मासु पोलेर खाएँ; त के यसको बाँकी भागबाट म एउटा घृणित वस्तु बनाऊँ? के म एउटा रूखको ठुटाको सामु लम्पसार परूँ?” मूर्तिलाई पुज्ने मानिस त खरानीमाथि पो चरेको रहेछ; त्यसको ठगिएको हृदयले त्यसलाई बहकाएको छ, र त्यसले आफ्नो आत्मा छुटाउन सक्दैन, न भन्न सक्छः “कतै मेरो दाहिने हातमा झूट त होइन र?” यशैया ४४:९-२० 

पवित्र बाइबलको शिक्षा स्पष्ट छः मूर्तिपूजा धर्मको काम होइन, तर अधर्म पो हो। परमेश्‍वरको दृष्टिमा मूर्ति झूट हो; मूर्ति एउटा घृणित वस्तु हो। मूर्ति रच्ने मानिसको कल्पना व्यर्थ हो। यसकारण मूर्तिबाट कुनै लाभ हुँदैन। जसले मूर्तिहरू रच्छ वा मूर्तिहरू पुज्छ, ऊ अन्तमा अवश्य लज्जित हुनेछ। तब मूर्ति पुज्ने चलन कहाँबाट आयो त? हामी यो पनि हेरौं; किनकि पवित्र बाइबल यसको विषयमा सफा छः 

“किनभने सृष्टिकर्ता परमेश्‍वरलाई चिने ता पनि मानिसहरूले उहाँलाई परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्, अनि तिनीहरू धन्यवादी पनि भएनन्; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए र तिनीहरूको मूर्खा हृदय अँध्यारो भयो। बुद्धिमान् छौं भन्ने कुरा दाबी गर्दै तिनीहरू मूर्खा बने, र तिनीहरूले अमर परमेश्‍वरको महिमा विनाशी मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। यसकारण परमेश्‍वरले तिनीहरूलाई त्यागिदिनुभयो।” रोमी १:२१-२४ 

शुरुका मानिसहरूले परमेश्‍वर को हुनुहुन्छ, सो जानेका थिए। तर तिनीहरूले उहाँलाई दिनुपर्ने सम्मान दिँदैनथिए; तिनीहरू उहाँप्रति धन्यवादी पनि हुँदैनथिए। यी पापहरूले गर्दा मानिसहरू आफ्नो विचारमा बेकम्मा भए; अनि तिनीहरूको हृदय अँध्यारो भयो। तिनीहरूले आफूलाई खूब ज्ञानी सम्झे, तर हाय, तिनीहरू मूर्खा बने, र तिनीहरूले अमर परमेश्‍वरलाई नाशवान् मानिस, चरा, जनावर र नागजस्तै विभिन्न रूपहरू दिए। फलस्वरूप परमेश्‍वरले तिनीहरूलाई त्यागिदिनुभयो। तर यहूदीहरूसित परमेश्‍वरको व्यवहार अर्को थियो। उहाँले मोशाद्वारा तिनीहरूलाई मिस्र देशको दासत्वबाट छुटकारा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई निम्न आज्ञा दिनुभयोः 

“परमप्रभु तिम्रा परमेश्‍वर म नै हुँ, मैले तिमीलाई मिस्र देशबाट, दासत्वको घरबाट निकालेर ल्याएँ; मबाहेक तिम्रो अरू कुनै देवीदेवता हुनुहुँदैन। तिमीले आफ्नो निम्ति कुनै खोपेको मूर्ति नबनाउनू; अर्थात् तिमीले माथि आकाशमा भएको, तल पृथ्वीमा भएको वा पृथ्वीमनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनू! तिमीले यी थोकहरू दण्डवत् नगर्नू र तिनीहरूको पूजा नगर्नू! किनकि म, परमप्रभु तिम्रा परमेश्‍वर जलन राख्ने ईश्वर हुँ, मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मको निम्ति म तेस्रो र चौथा पुस्तासम्म दण्ड दिन्छु; तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरू पालन गर्नेहरूका सन्तानहरूलाई हजारौं पुस्तासम्म म निगाह देखाउँछु।” प्रस्थान २०:२-६ 

यसकारण बुझ्नुहोस्ः साँचो परमेश्‍वरलाई चिन्नको निम्ति हामी पापको दासत्वबाट छुटकारा पाएको हुनुपर्छ। पापबाट छुटकारा पाउनु र मुक्ति पाउनु एकै कुरा हो। प्रभु येशू संसारको मुक्तिदाता भई आउनुभयो। उहाँ यसको निम्ति क्रसमा मर्नुभयो र हाम्रो पाप-बलि हुनुभयो, अनि यसरी उहाँले हाम्रा पापहरूको निम्ति मोल तिरेर प्रायश्चित्त गर्नुभयो र हाम्रो छुटकाराको दाम दिनुभयो। यसकारण विश्वासले उहाँको नाममा पापको क्षमा ग्रहण गर्नुहोस्! 

मुक्ति पाएको मानिसले सत्य परमेश्‍वरलाई बाहेक अरू कसैको पूजा गर्दैन। तेंत्तीस कोटी देवीदेवाहरूको बीचमा सत्य परमेश्‍वर को हुनुहुन्छ? परमेश्‍वरलाई धन्यवाद होस्, मैले प्रभु येशूको पितालाई एकमात्र सत्य परमेश्‍वरको रूपमा चिन्न पाएको छु। यसकारण विन्ती छ, तपाईं पनि मुक्ति पाउनुहोस् र सत्यताको ज्ञानमा आउनुहोस्! 

उक्त दिव्य आज्ञाअनुसार आकाशमा, पृथ्वीमा र समुद्रमा भएको कुनै थोकको प्रतिमूर्ति बनाएर ईश्वरको रूपमा पुज्नुहुँदैन। जसले यस प्रकारको कुनै मूर्ति पूजा गर्छ, उसले परमेश्‍वरको अवहेलना गरेको छ; उसले अधर्म पो गरेको छ। उसले यसको लेखा दिनुपर्छ, अनि उसका सन्तानहरूमाथि आशिष होइन, तर अभिशाप आउँछ। 
अब पवित्र बाइबलका निम्न खण्ड पढेर हामी यो विषय अन्त गर्छौं। 

‘अनि सिंहासनमाथि बस्नुहुनेले भन्नुभयो: “हेर, म सबै कुराहरू नयाँ बनाउँछु।” अनि उहाँले मलाई भन्नुभयोः “लेख, किनकि यी वचनहरू सत्य र विश्वासयोग्य छन्।” अनि उहाँले मलाई भन्नुभयोः “ भइसक्यो! अल्फा र ओमेगा, शुरु र अन्त म नै हुँ। जो तिर्खाउँछ, उसलाई म जीवनको पानीको धाराबाट सित्तैंमा पिउन दिनेछु। जसले जय पाउँछ, ऊ सबै कुराहरूको हकदार हुनेछ; अनि म उसको परमेश्‍वर हुनेछु, र ऊ मेरो छोरा हुनेछ। तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दा हुनेहरू, हत्या गर्नेहरू, व्यभिचार गर्नेहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले दन्किरहेको तालभित्र हुनेछ; योचाहिँ दोस्रो मृत्यु हो।”’ प्रकाश २१:५-८ 

यस दिव्य वचनको प्रकाशअनुसार मूर्तिपूजाचाहिँ नरकमा पुरयाउने डरलाग्दो पाप हो। परमेश्‍वरका निम्न वचनहरूअनुसार मूर्ति पुज्ने मानिसहरूको निम्ति स्वर्गीय शहरमा कुनै ठाउँ हुँदैन, तर तिनीहरू बाहिर अन्धकारमा बस्नुपर्नेछ। 

“तर त्यस शहरभित्र कुनै हालतमा पनि अशुद्ध पार्ने केही पनि थोक पस्नेछैन, न ता घिनलाग्दो काम गर्ने वा झूट रच्ने कोही पस्नेछ, तर तिनीहरू मात्र त्यसभित्र पस्नेछन्, जसका नामहरू त्यस येशूको जीवनको पुस्तकमा लेखिएका छन्। ... किनकि कुकुरहरू, टुनमुना गर्नेहरू, व्यभिचार गर्नेहरू, हत्या गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र झूट मन पराउने र झूट रच्नेहरू सबै बाहिर हुनेछन्।” प्रकाश २१:२७ र २२:१५ 

तपाईंप्रति परमेश्‍वरको शुभेच्छा छः मुक्ति पाउनुहोस्, र सत्यताको ज्ञानमा आउनुहोस्! यसकारण हामीले यति लेख्न आँट गरेका र हामी तपाईंलाई यहाँ पेश गरिएको परमेश्‍वरको वचन ग्रहण गर्नुहुन र पश्चात्ताप गरेर उहाँकहाँ फर्कनुहुन विनम्र अनुरोध गर्छौं। प्रभु येशूकहाँ आउनुहोस्, मुक्ति पाउनुहोस् र साँचो परमेश्‍वरलाई पिताको रूपमा चिन्नुहोस्! योजस्तो ठूलो आशिष अरू कुनै छैन। 

यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौ। धन्यवाद। 

email: [email protected] 

प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्‍नुहोस्‌, र रोचक किताबहरू, पवित्र बाइबलका टिप्पणीहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web-page बाट डाउन-लोड गरेर पढ्नुहोस्ः 

website: www.nbcinepal.org

Your encouragement is valuable to us

Your stories help make websites like this possible.