के मासु खानु पाप हो?

के मासु खानु पाप हो ? 

इस्वी संवत् २०१९ सालमा पारित भएको गाईवस्तु संरक्षण ऐनअनुसार असममा हिन्दू मन्दिर र धर्मस्थलहरूको पाँच किलोमिटरको परिधिमा न पशु काट्न, न मासु बेच्न पाइन्छ। अनि भर्खर उत्तर प्रदेशको सरकारले एउटा आदेश दिएको छ, जुन आदेशअनुसार अवैध वधशालाहरू/गोसखानाहरू बन्द गर्नुपर्छ र धार्मिक स्थलहरूको पाँच सय मिटरको परिधिमा मासु बेच्नु सशक्त मनाही गरिएको छ। अनि प्रणामी आदि सम्प्रदायहरू पनि छन्, जसले अहिंसाको सिद्धान्त अपनाएर मासु खाँदै खाँदैनन्। यसकारण यो सामान्य प्रश्न उठ्छः के मासु खानु पाप हो त? कति मानिसहरूको राय सुन्न हो भने, कसैलाई यस्तै लाग्न सक्छ। 

तर यस प्रश्नको सठीक उत्तर पाउन हामीले पहिले हाम्रो सोचविचारमा एक-दुई कुरा सच्याउनु र समाधान गर्नुपर्छः एक, पाप भनेको के हो? हामीले यसको सय उत्तर पाउनुपर्छ; अनि दुई, कसले चाहिँ एउटा कुरा पाप र अर्को कुरा धर्म भन्न पाउँछ? यसको विषयमा पनि हामी सुनिश्चित हुनुपर्छ। किनकि परमेश्‍वरको पवित्र वचन बाइबलअनुसार पापचाहिँ समाज वा मानिसहरूको रायको कुरा होइन, तर यो त परमेश्‍वरका सुस्पष्ट आज्ञाहरूमध्ये कुनै एउटा भङ्ग गर्नु वा उल्लङ्घन गर्नु हो। अनि हाम्रा सृष्टिकर्ता परमेश्‍वरले नै पाप के हो र धर्म के हो, सो भन्नुहुन्छ। वास्तवमा उहाँबाहेक अरू कसैले पनि 'यो पाप हो, त्यो धर्म हो' भन्न पाउँदैन। यसकारण हामी तपाईंलाई उहाँले यस सम्बन्धमा के-के भन्नुभयो, सो ध्यानसित पढ्नुहुन अनुरोध गर्दछौं। किनकि पवित्र बाइबलमा यसो लेखिएको छः 

अनि परमेश्‍वरले भन्नुभयो: “हेर, मैले सारा पृथ्वीको सतहमाथि भएको हरेक बीउ लाग्ने सागपात र हरेक रूख, जसमा बीउ लाग्ने फल हुन्छ, तिमीहरूलाई दिएको छु; यो तिमीहरूको आहार हुनेछ।" उत्पत्ति १:२९-३०

मानिससित परमेश्‍वरले यो उक्त बातचित सृष्टिको शुरुमा, संसारमा पाप प्रवेश गर्नुभन्दा अघि गर्नुभएको हो; उहाँले मानिससँग बोल्नुभयो र स्पष्टसँग भन्नुभयोः सबै सातपात र फलफूल मानिसको निम्ति आहार हो। यसो हो भने, शुरुमा मानिस परमेश्‍वरको इच्छा र आदेशअनुसार शाकाहारी थियो। तर पछिबाट यस कुरामा निम्न परिवर्तन आयोः परमेश्‍वरले उहिलेको संसार र भक्तिहीन मानिसहरूमाथि जलप्रलय ल्याउनुभएपछि उहाँले नूह र तिनका सन्तानहरूसित यसो बोल्नुभयोः

“चलफिर गर्ने हरेक जीवित प्राणी तिमीहरूको आहार हुनेछ; हरियो सागपात दिएझैं मैले तिमीहरूलाई यी सबै थोकहरू पनि दिएको हुँ; तर तिमीहरूले मासु त्यसको प्राणसित अर्थात् त्यसको रगतसित नखानू!” उत्पत्ति ९:३-४ 

यसकारण बुझ्नुहोस्, नूहको पालोदेखि दिव्य आदेशअनुसार मानिसले मासु खाने आज्ञा होइन, तर मासु खाने अनुमति पो पायो। यसकारण यस ईश्वरीय अनुमतिअनुसार मासु खानु पाप होइन रहेछ। केवल मासु त्यसको रगतसित खानुहुँदैनथियो।  तब मासु लगायत अन्य खानेकुराहरू निषेध गर्ने कुरा कहाँबाट आयो त ? आउनुहोस्, हामी पवित्र बाइबलको निम्न वचन पढ़ौं :

अब दिव्य आत्माले स्पष्ट गरी भन्नुहुन्छः  “पछि आउने समयहरूमा कोही-कोही बहकाउने आत्माहरूमा र दुष्टात्माहरूका शिक्षाहरूमा ध्यान दिएर विश्वासबाट भड्किएर जानेछन्; यिनीहरू ती हुन्, जसले कपट्याइँमा झूट बोल्छन्, जसको विवेकचाहिँ तातो फलामले डामिएको हुन्छ, जसले विवाह गर्न मनाही गर्छन् र कतिपय खानेकुराहरूबाट अलग रहने आज्ञा गर्छन्, जुन खानेकुराहरू परमेश्‍वरले विश्वास गर्नेहरू र सत्यता जान्नेहरूले धन्यवादसाथ ग्रहण गरून् भन्ने उद्देश्यले सृष्टि गर्नुभयो। किनकि परमेश्‍वरले सृष्टि गर्नुभएको जुनैपनि वस्तु असल हो, र धन्यवादसाथ लिइयो भने, कुनै कुरा पनि अस्वीकार गर्न लायकको हुँदैन; किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा शुद्ध- चोखो पारिन्छ।”१ तिमोथी ४:१-५

परमेश्‍वरको वचनको यस खण्डबाट केही महत्त्वपूर्ण कुरा बुझिन्छः 

क) सबै खानेकुराहरू त परमेश्‍वरले पो सृष्टि गर्नुभयो। 
ख) अनि उहाँले सृष्टि गर्नुभएका सबै वस्तुहरू असल र ग्रहणयोग्य हुन्छन्। 
ग) उहाँले यी खानेकुराहरू उहाँलाई मान्ने आफ्ना विश्वासी जनहरूको निम्ति सृष्टि गर्नुभयो। 
घ) उनीहरूले उहाँको हातबाट यी खानेकुराहरू धन्यवादसाथ ग्रहण गर्नुपर्छ। 
ङ) परमेश्‍वरको वचन र प्रार्थनाद्वारा यी खानेकुराहरू शुद्ध-चोखो पारिएका हुन्छन्। 
च) विभिन्न खानेकुराहरू मनाही गर्ने मानिसहरूले यसको विषयमा खास सत्यता के हो, सो जान्दैनन्। यिनीहरूले यसको खास तथ्य बुझेका छैनन्। 
छ) यस्ता मानिसहरूले दिएका आज्ञाहरू मानिसहरूका सिद्धान्तहरू मात्र हुँदा रहेछन्। 
ज) अनि जुन मानिसले यस कुरामा आफ्नो जिद्दी गर्छ, त्यो मानिस विवेकशील मानिस होइन रहेछ; उसले यस विषयमा झूट बोल्दो रहेछ। हामीले उसको कुरा सुन्नुहुँदैन।

ठिक्कै छ, शरीरको स्वास्थ्यको दृष्टिकोणले हेर्नु हो भने, कसैलाई उसको शरीरको कमजोरी र अस्वास्थ्यको खातिर कति खानेकुरा नखाए असल र हितकारी होला; यसमा कुनै शङ्का छैन। तर आत्मिक दृष्टिकोणले हेर्नु हो भने, खानेकुराहरूमाथि ध्यान दिनु लाभदायक होइन। यसमा कुनै फाइदा छैन।

“नाना प्रकारका र अनौठा शिक्षहरूद्वारा तिमीहरू यता-उता नलगिओ; किनकि अनुग्रहद्वारा हृदय स्थिर हुनु असल कुरा हो, खानेकुराहरूद्वारा होइन, जुन खानेकुराहरूको सेवनमाथि केन्द्रित रहनेहरूलाई ती खानेकुराद्वारा कुनै खास लाभ भएन।” हिब्र १३:९

खानेकुराहरूले होइन, तर परमेश्‍वरको अनुग्रहले पो हाम्रो हृदय लाभ गर्छ। यसो हो भने, हामी आत्मिक हिसाबले खानेकुराहरूमाथि ध्यान नदिऔं; किनकि परमेश्‍वरको दृष्टिमा खानेकुराले हामीलाई उहाँको सामु ग्रहणयोग्य तुल्याउँदैन। खाएर हामी पापी हुँदैनौं; नखाएर हामी धर्मी हुँदैनौं। किनकि यस्तो लेखिएको छः 

“तर खानेकुराले हामीलाई परमेश्‍वरकहाँ ग्रहणयोग्य तुल्याउँदैन; किनकि खायौँ भने पनि हामी ठूलो हुँदैनौं, खाएनौं भने पनि हामी सानो हुँदैनौं।” १ कोरिन्थी ८:८ 

परमेश्‍वरले जहाँ-जहाँ राज्य गर्नुहुन्छ, उहाँको त्यस राज्यभित्र खानेकुरा र पिउने कुराहरू मुख्य हुँदैनन्। के तपाईं र म, हामीले उहाँलाई हाम्रो जीवनमाथि राज्य गर्न दिन्छौं? तब हामीले उहाँको सामु ग्रहणयोग्य हुन कोशिश गर्नुपर्छ; हामीले उहाँको इच्छा पूरा गर्नुपर्छ। हामी अटुटसँग उहाँको सँगतिमा जिउनुपर्छ। हामी उहाँसित मेलमिलाप राख्नुपर्छ। हामीले आफ्नो पाप मानिलिनुपर्छ। हाम्रो हृदयमा उहाँको शान्ति र आनन्दले राज्य गरेको हुनुपर्छ, जस्तो लेखिएको छः  

“किनकि परमेश्‍वरको राज्य खानु पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।” रोमी १४:१७ 

‘जसले खान्छ, त्यसले नखानेलाई तुच्छ नठानोस्; अनि जसले खाँदैन, त्यसले खानेलाई न्याय नगरोस्; किनकि परमेश्‍वरले उसलाई ग्रहण गर्नुभएको छ।' रोमी १४:३ 

तब यस विषयमा निष्कर्ष के हो त ? मासु खाने मानिसले मासु नखाने मानिसलाई तुच्छ ठान्नुहुँदैन। अनि मासु नखाने मानिसले मासु नखाने मानिसको न्याय गर्नुहुँदैन। किन ? किनकि परमेश्‍वरले मासु खाने मानिसलाई जस्तै 
मासु नखाने मानिसलाई पनि ग्रहण गर्नुहुन्छ। कसरी ? प्रभु येशूमाथि विश्वास राखेका हुनाले हामी सबैजना उहाँको सामु ग्रहणयोग्य हुन्छौं, जस्तै लेखिएको छः 

“आफ्नो अनुग्रहमा उहाँले हामीलाई उही प्रिय पुत्रमा ग्रहणयोग्य तुल्याउनुभयो।” एफेसी १:६ 

के तपाईं परमेश्‍वरको सामु ग्रहणयोग्य हुन चाहनुहुन्छ? तब मासु नखाएर वा अन्य खानेकुराहरू नखाएर यसो गर्ने कोशिश नगर्नुहोला। ठिक्कै छ, तपाईंलाई मासु खान मन लाग्दैन। यो तपाईंको इच्छा अधीनस्थको कुरा हो। तपाईंले यसो गर्न पाउनुहुन्छ। अनि हामीले तपाईंलाई मासु खानुमा उत्साह दिँदैनौं, तर परमेश्‍वरसँग आफ्नो सम्बन्ध सठीक राख्नुहुन अनुरोध गर्छौं। यसकारण तपाईंले आफ्ना धर्मकर्महरूमाथि भरोसा नगर्नुहोला। किनकि यसरी तपाईं उहाँको सामु कहिल्यै, अँ, कहिल्यै ग्रहणयोग्य हुनुहुन्न नै। हामीले उहाँको निगाह पाउनुपर्छ; किनकि हामी सबैजना उहाँको उच्च ईश्वरीय स्तरमा पुग्न नसक्ने कमजोर मानिसहरू हौं। हामीले उहाँका आज्ञाहरू उल्लङ्घन गरेका छौं। यसकारण हामीलाई ग्रेस मार्क्स पाउनु छ। अनि यही निगाह उहाँले हामीलाई आफ्नो प्रिय पुत्र प्रभु येशूमार्फत प्रदान गर्नुहुन्छ। उहाँ यसको निम्ति यस संसारमा आउनुभयो। उहाँ यसको निम्ति क्रसमा मर्नुभयो। उहाँले यसको निम्ति आफ्नो अनमोल रगत बगाउनुभयो। यसकारण उहाँको नाममा पापको क्षमा ग्रहण गर्नुहोस्! तर अन्तमा हामीले खानेकुराहरूमाथि ध्यान दिने मानिसहरूको विषयमा बुझ्नुपर्छः 

क) तिनीहरू मानिसहरूका आज्ञा र सिद्धान्तहरू अनुसार चल्दैछन्। 
ख) यसैले हामी तिनीहरूका आदेशहरूअनुसार चल्नुपर्दैन, र तिनीहरूको सिद्धान्त ख्याल गर्नुपर्दैन। 
ग) किनकि खानेकुराहरू नाशवान् थोकहरू हुन्। 
घ) धार्मिक हिसाबले जस-जसले खानेकुराहरू इन्कार गर्छन्, तिनीहरूले आफ्नै इच्छाअनुसार यसो गर्छन्। यो तिनीहरूको धर्म हो; यो परमेश्‍वरको धर्म होइन। तिनीहरूले खानेकुराहरूबाट अलग बसेर आफ्नो शरीरलाई सास्ती दिन चाहन्छन्। तर यसको के काम? आत्मिक हिसाबले यसबाट तिनीहरूलाई कुनै लाभ हुँदैन। तब यसको उद्देश्य अरू के हुन सक्ला? अहो, यसो गर्दा तिनीहरूले आफ्नो मन र शरीरका लालसाहरू पो पूरा गर्दा रहेछन्, जसरी लेखिएको छः

“यसकारण यदि तिमीहरू संसारका प्राथमिक शिक्षाहरूबाट ख्रीष्टसँग मरेका छौ भने संसारमा बाँचिरहेझैं गरी तिमीहरू किन मानिसहरूका आज्ञाहरू र शिक्षाहरूअनुसार विधिविधानहरूको अधीनतामा रहन्छौ, जस्तैः नछोऊ, नचाख, हातमा नलेऊ ! यी सबै कुराहरू काममा लगाउँदा- लगाउँदै नष्ट भएर जान्छन्; जुन कुराहरूमा साँच्ची नै आफ्नो इच्छाअनुसारको पूजा, दीनता र शरीरलाई कष्ट दिने काममा बुद्धिको झलक त देखा पर्ला, ता पनि तिनमा केही मूल्य छैन, तर शरीरका लालसाहरू पूरा गर्ने काम मात्र हुन्छ।” कलस्सी २:२०-२३ 

तब यस सम्बन्धमा हामी कुन सिद्धान्त अपनाए ठीक होला त ? खाएर, पिएर वा अरू जे गरेर पनि हामीले परमेश्‍वरको इच्छा पालन गर्न र उहाँको आदर गर्न खोज्नुपर्छ। अनि उहाँको इच्छा जान्न चाहेमा हामी तपाईंलाई पवित्र बाइबल पढ्नुहुन सल्लाह दिन्छौं। किनकि हामीले उहाँलाई हाम्रो जीवनको हर कुरामा सम्मान गर्नुपर्छ र उहाँलाई आदर हुने कुरा गर्नुपर्छ। 

“यसकारण चाहे तिमीहरू खाओ, चाहे पिओ, चाहे तिमीहरू जेसुकै गर, सबै कुराहरू परमेश्‍वरको महिमाको निम्ति गर!” १ कोरिन्थी १०:३१ 

अनि निम्न दुईवटा कुराहरू पनि ख्याल गर्न लायकका छन्ः 

“झगड़ाको साथमा बलिपशुहरूले भरिएको घरभन्दा शान्तिको साथ निस्तो गाँस नै उत्तम हो।“ हितोपदेश १७:१ 

मासु खानुभन्दा खराब कुरा त झगड़ा पो हो। यसकारण हामीले सकेसम्म सबै मानिसहरूसँग मेलमिलापमा बस्ने चेष्टा गर्नुपर्छ।  

“प्रेमले दिएको सागपातको भोजनचाहिँ घृणासँग दिइएको पोसाइएको पशुभन्दा उत्तम हो।” हितोपदेश १५:१७ 

मासु खानु पाप होइन, तर घृणाचाहिँ त्यो महान् पाप हो, जुन पाप हामीले गर्नुहुँदैन। किनकि प्रेमचाहिँ सबैभन्दा उत्तम सद्गुण हो। यसैले हामीले एक-अर्कालाई प्रेम गरौं, र प्रेरित पावलको निम्न उच्च सिद्धान्त अपनाऔंः 

“यसकारण खानेकुराले मेरो भाइलाई ठेस खुवाउँछ भने मेरो भाइलाई ठेस नदिऊँ भन्ने मनसायले म कहिल्यै मासु खानेछैनँ।” १ कोरिथी ८:१३ 

यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा  हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद। 

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।