धार्मिकता भनेको के हो?
धार्मिकता भनेको के हो? अनि परमेश्वरको दृष्टिमा को धर्मी गनिन्छ? धार्मिकताको खास अर्थको खोजीमा मैले पुरानो नियममा चार-पाँचजना व्यक्तिहरूलाई भेट्टाएको छु, जसको विषयमा हामी 'उनी धर्मी थिए' भन्ने वाक्य पढ्छौं। यसकारण उनीहरूको जीवनबाट र विशेष गरी पवित्र बाइबलको वृत्तान्तबाट उनीहरू कसरी धर्मी गनिए, सो कुरा पक्का पनि थाहा पाउन सकिन्छ। अनि धार्मिकताको सम्बन्धमा म तपाईंको सामु क्रमैसँग कयिन र हाबिल, हनोक र नूह अनि अब्राहामलाई साक्षीको रूपमा राख्न चाहन्छु।
उत्पत्ति ४:१-१२: कयिन र हाबिल
उत्पत्ति चार अध्यायमा हामी आदमका जेठा छोरा कयिन र तिनको माहिला छोरा हाबिलको विषयमा निम्न कुरा पढ्छौं : हुर्केर ठूलो भएपछि तिनको माहिला छोरा हाबिल भेड़ाको गोठाला भए र तिनको जेठा छोरा कयिनचाहिँ खेती गर्ने किसान भए। अनि समयको अन्तरालमा कयिनले परमप्रभुलाई एउटा भेटी चढ़ाए, जुन भेटीचाहिँ यिनको काम र पेसाअनुसार बारीको फल थियो। अनि हाबिलले पनि आफ्नो बगालका पहिले जन्मेका पाठाहरूबाट र तिनीहरूको बोसोबाट एउटा भेटी ल्याए। अनि यी भेटीहरूको विषयमा परमेश्वरको वचनमा यस्तो लेखिएको छः 'अनि परमप्रभुले हाबिललाई र तिनको भेटी ग्रहण गर्नुभयो, तर कयिनलाई र यिनको भेटी उहाँले ग्रहण गर्नुभएन' (उत्पत्ति ४:४७-५क)। यसकारण धर्मी हुने सम्बन्धमा हामी पहिलो कुरा सिकौं: जो धर्मी छ, उसलाई परमेश्वरले ग्रहण गर्नुहुन्छ। यसर्थ परमेश्वरको सामु ग्रहणयोग्य हुनु र धर्मी हुनु एउटा कुरा हुँदो रहेछ।
हाबिल र तिनको भेटी किन ग्रहण गरियो, तर कयिन र यिनको भेटी किन ग्रहण गरिएन? यसको खास कारण हामीले परमेश्वरको वचनमा खोजेर भेट्टाउनुपर्छ। तर यसो गर्नुभन्दा अघि हामीले पहिले उत्पत्ति चार अध्यायको बाँकी कुरा गरेर यस खण्डको अध्ययन सिद्ध्याउनुपर्छ।
उत्पत्ति ४:५ख-७ पदमा यसो लेखिएको छः 'तब कयिन साह्रै रिसाए र यिनको मुख अँध्यारो भयो। अनि परमप्रभुले कयिनलाई सोध्नुभयोः “तिमी किन रिसाएको? अनि तिम्रो मुख किन अँध्यारो भएको हँ? तिमीले असल कुरा अथवा सठीक काम गर्दा हौ त, के तिमीलाई ग्रहण गरिँदैन र? तर तिमीले असल कुरा वा सठीक काम गर्दैनौ भने त पाप ढोकैमा कुरिबस्छ; अनि पापले तिम्रो लालच गर्छ; तर तिमीले पापमाथि राज्य गर्नुपर्छ।' परमप्रभुले हाबिललाई र तिनको भेटी ग्रहण गर्नुभएकोमा, तर आफू र आफ्नो भेटी ग्रहणयोग्य नभएको देखेर कयिन धेरै रिसाए। कयिन क्रोधी मानिस, अँ, रिसाहा थिए। अनि पक्का पनि यिनको यो रिस धर्मी रिस थिएन। परमेश्वरले यिनीबाट यसको कारण सोधेर यिनको होस खोल्न खोज्नुभयो, त्यसपछि उहाँले यिनलाई निम्न तीनवटा कुराहरू सिकाउनुभयोः क) जसले असल काम गर्छ अथवा सठीक काम गर्छ, ऊ ग्रहणयोग्य हुन्छ-हुन्छ ख) जसले सठीक काम गर्दैन, त्यो नभन्दै पाप गर्न पुग्छ; ग) किनकि सिंहले झैं पापले कुरेर बस्छ र हामीलाई शिकार गर्छ। पापले प्रवेश गरेको संसार यस्तै छ, भाइबहिनीहो। पाप जताततै हाम्रो नजिकमा हुन्छ; तर हामीले पाप गर्नुहुँदैन; पापले हामीलाई वशमा राख्नुहुँदैन; हामीले पो पापमाथि राज गर्नुपर्छ। कयिनलाई दिइएको ईश्वरीय शिक्षा यो थियो।
अनि हाम्रो विषयमा कसो हो? के हामी परमेश्वरको दृष्टिमा जे असल र ग्रहणयोग्य छ, त्यही गर्छौं? अनि के हामी पापमाथि राज गर्छौं, कि के हामी पापको वशमा रहेर पापका दास भएका छौं?
धार्मिकताको सम्बन्धमा हामीले बुझ्नुपर्ने दोस्रो कुरा यस प्रकारको छः जसले परमेश्वरको विचारअनुसार सठीक काम गर्दैन, तर बेठीक काम गर्छ, त्यो ग्रहणयोग्य हुँदैन; त्यसले पाप गर्छ, र त्यो मानिस धर्मी होइन, तर पापी ठहरिन्छ।
उत्पत्ति ४:८: 'अनि कयिनले आफ्नो भाइ हाबिलसँग कुरा गरे।' (कयिनले गरेको बातचित राम्रो-नराम्रो केकसो थियो, सो यहाँ, यस खण्डमा लेखिएको छैन; तर रिसाएको मानिसको बातचित असल कहाँ हुन्छ र, त्यो जलनले तातो-तातो भएको हुनुपर्छ)। 'तर तिनीहरू बाहिर बारीमा गएको बेलामा कयिन आफ्नो भाइ हाबिलको विरोधमा उठे, र यिनले तिनलाई मारे।' अनि परमेश्वरले कयिनलाई भन्न भएको जस्तै, ठीक त्यस्तै हुन आयोः यिनी आफ्नो पापको शिकार भए; किनभने यिनको रिस यिनको घमण्डको फल थियो भने, यिनले गरेको हत्या यिनको रिसको फल थियो। यिनको पापी स्वभावले यिनलाई जित्यो, र यिनी हत्यारा भए।
उत्यपत्ति ४:९: ‘अनि परमेश्वरले कयिनलाई सोध्नुभयो: “तिम्रो भाइ हाबिल कहाँ छ?” अनि त्यसले जवाफ दिएर भन्योः “त्यो मलाई थाह छैन। के म मेरो भाइको रक्षक हुँ र?” "परमेश्वरको निम्ति यस बातचितको उद्देश्य कयिनलाई यिनको पापको विषयमा कायल पार्नु थियो। तर पछुताउनु र पश्चात्ताप गर्नुको सट्टामा यिनले झूट बोले, र परमप्रभुलाई कडाभन्दा कड़ा जवाफ दिए। यिनको भाइ हाबिल कहाँ थिए, सो यिनलाई राम्ररी थाहै थियो, र यिनको मनमा भ्रातृ-प्रेम भएको भए, हाबिल आफ्नो भाइप्रति यिनको व्यवहार अर्कै हुनेथियो। तर यिनको घमण्ड, यिनको रिस र यिनको इबीले यिनलाई खाइदियो। हो, यिनले आफ्नो भाइको हेरचाह र वास्ता गर्नुपर्नेथियो। आफ्नो भाइप्रति यिनको जिम्मेवारी यो थियो।
उत्पत्ति ४:१०: ‘तब उहाँले भन्नुभयोः “तिमीले गरेको यो के हो? भूमिबाट तिम्रो भाइको रगतको आवाजले मलाई पुकारिरहेकै छ। अनि अब तिमी यस पृथ्वीबाट श्रापित भएका छौ, जसले तिम्रो हातबाट तिम्रो भाइको रगत ग्रहण गर्न आफ्नो मुख खोल्यो। जब तिमीले जमिनलाई खनजोत गर्छौं, तब त्यसले अबदेखि उसो तिमीलाई आफ्नो उब्जनी दिनेछैन नै। पृथ्वीमा तिमी भगुवा र डुलुवा हुनेछौ।” ’
अझै पनि कयिनले पश्चात्ताप गरून् भन्ने हेतुले परमेश्वरले यिनीसँग कुराकानी गर्नुभएको कुरा के तपाईंले याद गर्नुभयो? यिनले गरेको काम घोर अधर्म थियो, हत्या थियो! के यिनलाई त्यो अलिकति पनि लागेन? यिनको विवेकले काम नगरेको जस्तै देखिन्छ, कसरी? के यति चाँड़ै यिनले आफ्नो विवेकलाई मारेका? होइन, आफ्नो विवेक यिनले आफ्नो भाइलाई मार्नुभन्दा अघि मारिपठाएका हुनुपर्छ।
नर-हत्याले भूमिलाई साह्रै नराम्रो असर पार्दो रहेछ। अनि हत्या गरिएको मानिसको रगतले परमेश्वरबाट सठीक न्याय पाऊँ भन्ने दुहाई माग्छ (प्रकाश ६:९-१०)। उत्पत्ति ३:१७-१९ पदहरूमा आदमका सन्तानहरूमाथि आएको भूमिको सामान्य श्राप बयान गरिएको छ भने, यहाँचाहिँ कयिनलाई र हरेक हत्यारालाई अझै अर्को थप श्राप लाग्छ। यस्ताहरूलाई जमिनले आफ्नो उब्जनी नदिने रहेछ। अनि पृथ्वीभरि हत्यारा कहीं ढुक्कै हुँदैन; त्यसले कहीं पनि घरको न्यानोपन, ममता र स्नेह पाउँदैन। कसैले त्यसलाई नखेदे ता पनि त्यो सधैं बेचैनमा छ र भाग्दैछ। त्यसले कहीं शान्ति पाउँदैन; किनकि त्यसको मनमा शान्ति छैन, र त्यसको विवेक चुप लाग्दैन, तर यसले त्यसलाई त्यो एकलै भएको बेलामा दोष लगाइदिन्छ।
अब हाम्रो प्रश्नको विषयमा के भयो? हाबिल र तिनको भेटी किन ग्रहण गरियो? यसको उत्तर हिब्र ११:४ पदले दिन्छ, जहाँ यसो लेखिएको छः 'विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनको भन्दा उत्तम बलिदान चढ़ाए, जुन बलिदानद्वारा तिनले आफू धर्मी रहेछन् भन्ने गवाही प्राप्त गरे। परमेश्वरले नै तिनका दानहरूको विषयमा गवाही दिनुभयो; अनि यसैद्वारा तिनी मरे ता पनि तिनले अझै कुरा गर्छन्।' कयिनको भेटी र हाबिलको भेटीको विषयमा भिन्नता केमा थियो? वचनले के भन्दछ? हाबिलले विश्वासद्वारा उत्तम भेटी चढ़ाएका रहेछन्। अनि कयिनको भेटीमा विश्वास थिएन रहेछ। झन् यिनको भेटी श्राप परेको जमिनको फल पो थियो। तब प्रश्न उठ्छः हाबिलको विश्वास कहाँबाट आयो? तिनले कि त आफैले परमेश्वरको वचन सुनेको हुनुपर्छ, कि त आफ्ना बुबाआमाबाट उहाँको वचन सुनेको हुनुपर्छ; किनभने वचन सुनेर विश्वास आउँछ (रोमी १०:१७ )। परमेश्वरको वचनको सुनाइविना हाम्रो विश्वास अन्धविश्वास हो। तर हाबिलको विश्वास सही विश्वास थियो, ग्रहणयोग्य विश्वास थियो। अनि यस भेटी चढ़ाएको कामबाट हाबिलले के बुझे भने, 'म त धर्मी रहेछु'; किनभने परमेश्वरले यसको विषयमा तिनलाई गवाही दिनुभएको थियो। साँचो विश्वासले परमेश्वरको अनुमोदन पाउँदो रहेछ (१ यूहन्ना ५:९-११)। अनि कयिनको विषयमा कसो हो? यिनी अधर्मी रहेछन् भन्ने गवाही यिनले आफ्नो चढ़ाएको भेटी र यसप्रति परमेश्वरले देखाउनुभएको प्रतिक्रियाबाट पाए, र यिनले कुरा बुझे, र यिनी यसमा रिसाए। यिनमा विश्वासै थिएन, जुन कुराविना कसैले पनि परमेश्वरलाई खुशी पार्न सक्दैन (हिब्रू ११:६)।
हाबिल मरे; कयिनले तिनको हत्या गरे, तर यिनले तिनलाई चुप गराउन सकेनन्; हाबिल र तिनको भेटी अझै पनि बोल्दैछन्, हामीलाई केही न केही कुरा भन्न खोज्दैछन्। हो, विश्वासविना कसैले पनि परमेश्वरलाई खुशी तुल्याउन सक्दैन। कयिनले सकेनन्, तपाईं र मैले-हामी पनि सक्दैनौं। परमेश्वरले हामीमा विश्वास खोज्दै हुनुहुन्छ; तर के उहाँ हामीमा उहाँलाई आदर गर्ने विश्वास, उहाँलाई मनपर्ने विश्वास पाउनुहुन्छ? तब हाम्रो विश्वास परमेश्वरको वचनअनुसार र उहाँको वचन आधारित विश्वास हुनुपर्छ। यस्तो विश्वास हाम्रो हो भने, हामी उहाँबाट अनुमोदनको गवाही पनि पाउँछौं नै र हामी उहाँको सामु ग्रहणयोग्य ठहरिन्छौं।
कयिनको कुरा अझ सकेको छैन। १ यूहन्ना ३:११-१२ पदहरू पढ़ौं, जहाँ यसो लेखिएको छः ‘किनकि तिमीहरूले शुरुदेखि सुनेको समाचार यही हो: हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। कयिनजस्तो होइन, जोचाहिँ दुष्टबाटको थियो र जसले आफ्नो भाइलाई मारयो। अनि त्यसले उसलाई किन मारयो त? किनभने त्यसका कामहरू दुष्ट थिए, तर त्यसका भाइका कामहरूचाहिँ धर्ममय र ग्रहणयोग्य थिए।' अब कुरा स्पष्ट भयोः कयिनचाहिँ दुष्टबाटको थिए! यसको अर्थ बुझ्न हामी यूहन्ना ८:४४ पदको सहारा लिनुपर्छ, जहाँ प्रभु येशूले यहूदीहरूलाई भन्नुभयोः 'तिमीहरू आफ्नो बुबा शैतानबाटका हौ, र तिमीहरूले आफ्नै बुबाका कुइच्छाहरू पूरा गर्न चाहन्छौ। त्यो त शुरुदेखि नै हत्यारा थियो, र सत्यमा रहेन; किनकि त्यसमा सत्य छँदैछैन। जब त्यसले झूट बोल्छ, तब त्यो आफ्नै तर्फबाट बोल्छ; किनकि त्यो त झूट हो र झूटको बुबा हो।' अब दुष्टबाटको हो भन्ने अर्थ बुझियोः शैतान हत्यारा हो। शैतान झूट बोल्ने हो। त्यसको सन्तान पनि यस्तै छः हत्यारा र झूट बोल्ने हो। के अब तपाईंले कयिनलाई चिन्नुभयो?
कयिनले हाबिललाई किन मारे? परमेश्वरको दृष्टिमा कयिनका कामहरू दुष्ट थिए, तर यिनका भाइका कामहरू धर्ममय अथवा ग्रहणयोग्य थिए। कयिनले परमप्रभुलाई भेटी चढ़ाए, ता पनि यिनका काम दुष्ट ठहरिए। ओहो, हामीले सिक्नुपर्ने पाठ कति गहकिलो, कति गम्भीर छ! परमेश्वरको इच्छाअनुसार नभएका धर्मकर्महरू मैला थाङ्नाहरू, अँ, अधर्म पो हुन्, जुनचाहिँ उहाँलाई प्रसन्न तुल्याउँदैनन्, र उहाँको अनुमोदन पनि पाउँदैनन्। जे होस्, कयिनका कामहरू विश्वासका कामहरू थिएनन्; यसैले ती कामहरू परमेश्वरको सामु ग्रहणयोग्य भएनन्; तर हाबिलका कामहरू उहाँको दृष्टिमा ग्रहणयोग्य र सठीक थिए; किनकि यी कामहरू विश्वासका कामहरू थिए। यस सम्बन्धमा प्रेरित पावलको कुरा याद गरौं, जसले भनेका छन्ः 'हरेक कुरा जुनचाहिँ विश्वासको होइन, त्यो कुरा पाप हो' (रोमी १४:२३)।
कयिन र हाबिलबाट हामीले निम्न कुरा सिक्यौंः जो धर्मी छ, ऊ परमेश्वरको सामु ग्रहणयोग्य हुन्छ। परमेश्वरले हाम्रो भेटी ग्रहण गर्नुहुन्न भने, हामीमा एउटा कमी भएको हुनुपर्छ। अनि त्यो कमी विश्वासको अभाव हो। हाबिलमा त्यो विश्वास थियो; अनि तिनको विश्वासले गर्दा तिनले परमेश्वरलाई उहाँको इच्छा अनुसारको एउटा ग्रहणयोग्य, उहाँलाई मनपर्ने भेटी चढ़ाए। अनि साँचो विश्वास सधैं परमेश्वरको वचन आधारित विश्वास हुनुपर्छ। यसकारण हामीले भेटी चढ़ाउनुभन्दा अघि पहिले उहाँको कुरा सुन्नुपर्छ र परमेश्वरको इच्छा के रहेछ, सो बुझ्नुपर्छ, नत्र हामी उहाँको सामु आफ्नो हठमा चल्ने ठहरिनेछौं। कयिनको अन्तिम प्रतिक्रिया के थियो? उत्पत्ति ४:१६: ‘अनि कयिन परमप्रभुको उपस्थितिबाट निस्केर गए।' पश्चात्ताप गरेर आफ्नो पाप मानिलिने कुरा छोड़ौं, दुःखलाग्दो कुरा, कयिन त परमेश्वरलाई छोडेर हिँडिहाले।
उत्पत्ति ६:८-९: नूह
हाम्रो निम्ति दोस्रो उदाहरण नूह हो; किनकि तिनी पनि धर्मी थिए, जस्तो लेखिएको छः ‘तर नूहले परमप्रभुको दृष्टिमा निगाह पाए। केवल नूहचाहिँ आफ्नो पुस्ताका मानिसहरूको बीचमा धर्मी र सिद्ध थिए। नूह परमेश्वरको साथ-साथ हिँड्थे।' नूह दोस्रो व्यक्ति थिए, जसको विषयमा तिनी परमेश्वरको साथ-साथमा हिँडेको कुरा लेखिएको छ; किनभने केही पुस्ता अघि हनोक पनि परमेश्वरको साथ-साथ हिँड्थे (उत्पत्ति ५:२२ र २४ )। नूहको पुस्ताका मानिसहरू भक्तिहीन र अति दुष्ट थिए। किनकि उत्पत्ति ६:५ पदमा यसो लेखिएको छः 'परमप्रभुले पृथ्वीमा मानिसको दुष्टता ज्यादा भएको र तिनको हृदयका विचारहरूको एक-एक कल्पना निरन्तर खराबै मात्र भएको देख्नुभयो।' तब नूह परमप्रभुबाट निगाह किन पाए? यो त तिनको धर्मी र सिद्ध अवस्थाको फल हुनुपर्छ, होइन र? तिनी परमेश्वरको साथ-साथमा हिँड्ने गर्थे। यसको मतलब के होला त नि? के यो जान्न तपाईंको जिज्ञासो होइन र?
आउनुहोस्, हामी परमेश्वरको वचन पवित्र बाइबलमा हिब्रू ११:५-७ पदहरू पढ़ौं, जहाँ यसो लेखिएको छः 'विश्वासैद्वारा हनोक उठाएर लगिए, र तिनले मृत्यु देख्नुपरेन; अनि तिनी फेला परेनन्; किनभने परमेश्वरले तिनलाई उठाइलानुभएको थियो। अनि उठाएर लगिनुभन्दा अघि तिनले परमेश्वरलाई खुशी पारेको गवाही पाएका थिए।
तर विनाविश्वास परमेश्वरलाई खुशी तुल्याउनु असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछ, उसले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसित खोज्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ।
विश्वासैद्वारा नूहले त्यस बेलासम्म नदेखिएका कुराहरूको विषयमा ईश्वरीय चेताउनी पाए, र डराएर उनले आफ्नो परिवारको उद्धारको निम्ति एउटा पानीजहाज तयार गरे, जुन पानीजहाजद्वारा उनले संसारलाई दोषी ठहराए, र उनी विश्वासैद्वारा पाइने धार्मिकताको हकवाला भए।'
परमेश्वरको साथ-साथ हिँड्ने मानिसको चालले परमेश्वरलाई खुशी पार्छ; हनोकले यसको गवाही पनि पाए। यसर्थ मैले परमेश्वरलाई खुशी पारेको छु- छैनँ भन्ने कुरा जान्न सकिन्छ। अनि परमेश्वरलाई खुशी पार्न उहाँमाथिको विश्वास अनिवार्य हो। अनि उहाँलाई चिन्न र उहाँको इच्छा जान्नको निम्ति मानिसले यत्नसित उहाँको खोजी गर्नुपर्छ। अनि नूहको कुरा गर्नु हो भने, उनले ईश्वरीय चेताउनी पाए, र उनी डराए; अनि आफ्नो परिवार बचाउन उनले परमेश्वरको आज्ञाअनुसार एउटा पानीजहाज तयार गरे, जसको निर्माणको निम्ति उनलाई निक्कै समय लाग्यो। यसकारण हामीले पनि नूहले जस्तै परमेश्वरको डर मान्नुपर्छ र निरन्तर उहाँको आज्ञापालन गर्नुपर्छ; यो कुरा विश्वासको चाल भनिन्छ। तब हामी पनि विश्वासद्वारा पाइने धार्मिकता प्राप्त गर्नेछौं। यसको शब्दमा ध्यान दिनुहोला। धर्मकर्म गरेर नूहले धार्मिकता नामक योग्यता कमाएनन्, तर उनले हकको सम्पत्तिको रूपमा यो धार्मिकता प्राप्त गरे, उहाँको निगाहमा। यो पूरापूर उनको विश्वासको फल थियो; किनभने त्यस बेलासम्म संसारमा खास कुनै धर्म स्थापित भएको थिएन। पानी-जहाजको निर्माण गर्दै गरेको समयमा नूहले यस विश्वासको कार्यद्वारा संसारका मानिसहरूलाई दोषी ठहराए। अनि २ पत्रुस २:५ पदअनुसार परमेश्वरले संसारका सबै भक्तिहीन मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो, तर नूहलाई जोगाउनुभयो, जसलाई यस पदमा 'धार्मिकताको प्रचारक' भन्ने नाम दिइयो।
परमेश्वरका आँखाहरूमा धर्मी र सिद्ध भएको नूहबाट हामीले कुरा बुझ्यौंः नूहको धार्मिकता परमेश्वरको निगाहको दान थियो; यो उनको विश्वासको चालको फल थियो। उनले आफ्नो जीवनमा परमेश्वरको वाणी सुन्न, उहाँसित डराउन र उहाँको आज्ञा मान्न सिके। यसरी नै उनले विश्वासबाट पाइने धार्मिकता अधिकारको सम्पत्तिको भागको रूपमा पाए।
उत्पत्ति १५:५-६: अब्राहाम
पवित्र बाइबलको उक्त खण्डमा यसो लेखिएको छः ‘परमप्रभुले अब्राहामलाई बाहिर ल्याउनुभयो र भन्नुभयोः “अब आकाशतिर हेर, र तिमीले यी ताराहरू गन्ती गर्न सक्छौ भने, तिनको गन्ती गर!” अनि उहाँले उनलाई भन्नभयोः “तिम्रो वंश यत्रो हुनेछ।” अनि अब्राहामले परमप्रभुमाथि विश्वास गरे। अनि उहाँले यो कुरा उनको निम्ति धार्मिकता ठहर्याउनुभयो।'
अब्राहामको जीवनबाट विश्वासद्वारा प्राप्त हुने धार्मिकता कसरी मिल्छ, सो हामी सिक्नेछौं। यस कुराले प्रेरित पावलको ध्यान आकर्षण गरेको थियो, किनकि रोमी चार अध्यायमा तिनले घरिघरि यसको सन्दर्भ उठाए, जस्तैः रोमी ४:३-५, ९, ११, १३ र २४-२५ पद। किनभने प्रेरित पावलको निम्ति कुरा स्पष्ट थियोः 'ख्रीष्टको सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको हो, जसरी लेखिएको छः “धर्मी जन विश्वासले जिउनेछ” "; यसर्थ शुरुदेखि अन्तसम्म विश्वास नै त्यो कुरा हो, जुन कुराचाहिँ परमेश्वरको दृष्टिमा धार्मिकता गनिन्छ (रोमी १:१७ )।
परमप्रभुले अब्राहामसित उनको वंशको विषयमा कुरा गरेर उनलाई प्रतिज्ञा गर्नुभयोः उनको वंश आकाशका ताराहरूजत्तिकै हुनेछ। अनि अब्राहामले न आफ्नो वृद्ध अवस्थामाथि, न आफ्नी पत्नीको मरेको गर्भको अवस्थामाथि ध्यान दिए, तर केवल परमेश्वरले उनलाई दिनुभएको प्रतिज्ञामाथि भरोसा राखे। अनि यो कुरा उनको हिसाबमा लेखियो र उनको धार्मिकता गनियो।
अन्तमा हामी यस सम्बन्धमा गलातीको पत्रमा निम्न कुरा पढ़ौंः
गलाती ३:२१: ‘किनकि जीवन दिन सक्ने कुनै धर्मको नियम हामीलाई दिइएको भए त, साँच्चै धार्मिकता त्यस धर्मको नियम पालन गरेर प्राप्त हुनेथियो।'
'तर मानिस धर्मका कर्महरूद्वारा धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमाथि राखिएको विश्वासले गर्दा मात्र धर्मी ठहरिन्छ भन्ने कुरा जानेर हामी आफैले पनि यस हेतुले येशू ख्रीष्टमाथि विश्वास गर्यौं , कि धर्मका कर्महरूले होइन, तर ख्रीष्ट येशूमाथि राखिएको विश्वासले धर्मी ठहरिन सकौं' (गलाती २:१६)। ' परमेश्वरको दृष्टिमा धर्मको नियम पालन गरेर कोही पनि धर्मी ठहरिँदैन भन्ने कुरा स्पष्ट छ; किनकि धर्मी जन विश्वासले जिउनेछ' (गलाती ३:११)।
परमेश्वरको दृष्टिमा धर्मी ठहरिनु हो भने, हामीले उहाँको सामु ग्रहणयोग्य हुनुपर्छ। अनि प्रभु येशूमाथि राखेको विश्वासद्वारा मात्र हामी उहाँको दृष्टिमा ग्रहणयोग्य हुन सक्नेछौं; अरू कुनै तरिकाले होइन। यसकारण परमेश्वरको सामु गनिने धार्मिकताको परिभाषा गर्नु हो भने, हामीले यसको व्याख्या यसो गर्नुपर्छः जुन मानिसले परमेश्वरको दृष्टिमा असल, ग्रहणयोग्य र सिद्ध हुने इच्छा गर्छ, त्यस मानिसले धर्मका कर्महरू गरेर होइन, तर विश्वासद्वारा मात्र यसो गर्न सक्छ। किनकि हाबिलले विश्वास गरे र कयिनको भन्दा उत्तम बलिदान चढ़ाए। नूहको चाल कदम-कदममा विश्वासको चाल थियो; किनकि उनी र हनोक परमेश्वरको साथ-साथ हिँड्थे। अनि अब्राहामको विषयमा कसो हो? तिनले परमप्रभुमाथि विश्वास गरे र यो विश्वास तिनको धार्मिकता गनियो। अनि हाम्रो विषयमा के हो? हामी परमेश्वरको सामु ग्रहणयोग्य हुनु हो भने, हामीले प्रभु येशूमाथि विश्वास गर्नुपर्छ; अरू उपाय छैन। अनि प्रभु येशूमाथिको विश्वास एक कदम मात्र हुने होइन, तर त्यो विश्वास हाम्रो जीवनको अन्तसम्मको चाल हुनुपर्छ। अनि जे-जे गर्छौ, त्यो धर्मका कर्महरू होइन, तर विश्वासका कामहरू हुनुपर्छ। यसरी नै हामी उहाँको दृष्टिमा ग्रहणयोग्य बन्नेछौं, यसरी नै हामी उहाँलाई खुशी पार्नेछौं, यसरी नै हामी उहाँको स्याबासी र अनुमोदन पाउनेछौं, र यसरी नै हामी इनामका योग्य हुनेछौं।
यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद।
email: [email protected]
प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउन-लोड गरेर पढ्नुहोस्ः