Jesus Birth.jpg

के ख्रीष्‍टमस डिसेम्बर २५ मै मनाउनुपर्छ र अरू मितिमा मनाउन मिल्दैन र?

बाइबलमा डिसेम्बर २५ तारिखलाई येशू ख्रीष्‍टको जन्मदिन भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छैन। येशूको जन्मको ठ्याक्कै मिति बाइबलले बताउँदैन। तर चौथो शताब्दीतिर प्रारम्भिक इसाईहरूले डिसेम्बर २५ लाई येशूको जन्म सम्झने दिनका रूपमा मनाउन थाले। यो मिति रोमी साम्राज्यको “सोल इनभिक्टस” भन्‍ने पर्वसँग मेल खाने गरी रोजिएको मानिन्छ, जसले अँध्यारोबाट प्रकाशको आगमनलाई जनाउँथ्यो। त्यसैले ख्रीष्टमसको मुख्य कुरा मिति होइन, यसको अर्थ हो—परमेश्‍वरले येशू ख्रीष्‍टमार्फत् संसारमा उद्धार ल्याउनुभएको सन्देश।

ख्रीष्‍टमस कुनै साधारण मिति होइन, यो ख्रीष्‍टको जन्म, उहाँको जीवन र उद्धारको योजना सम्झने आत्मिक उत्सव हो। केही मण्डलीहरूले डिसेम्बर २५ बाहेक अरू मितिमा पनि येशूको जन्म उत्सव मनाउँछन्, तर उद्देश्य एउटै हुन्छ—परमेश्‍वरको प्रेम र उद्धारलाई सम्झनु र धन्यवाद दिनु।

त्यसैले ख्रीष्‍टमस मनाउँदा मिति भन्दा पनि हाम्रो हृदयको भाव महत्वपूर्ण हुन्छ। हामीले येशूको जन्म, जीवन र बलिदानलाई श्रद्धा, आभार र विश्‍वासका साथ सम्झिनु आवश्यक छ। डिसेम्बर २५ होस् वा अरू कुनै मिति, यदि त्यो उत्सवले हाम्रो विश्‍वास बलियो बनाउँछ र येशूको महिमा बढाउँछ भने, त्यो नै साँचो ख्रीष्‍टमस हो।

संक्षेपमा भन्‍नुपर्दा, २५ डिसेम्बरलाई येशूको वास्तविक जन्मदिन भनेर होइन, तर संसारभरका धेरै इसाईहरूले सोही दिन ख्रीष्‍टको जन्मको सम्‍झनामा उत्सव मनाउँछन्‌। किनकि पवित्रशास्‍त्र बाइबलले भन्छ:

“आनन्द मनाउनेहरूसँग आनन्द मनाओ, र रुनेहरूसँग रोओ” (रोमी १२:१५-१६)।

त्यसैले जब संसारभरका धेरै इसाईहरूले यस दिनलाई ख्रीष्‍ट येशूको जन्मको सम्झनामा जन्‍मोत्‍सव मनाउँछन्‌, हामी पनि आराधना र सङ्गतिमा सहभागी भएर उहाँको आत्मिक जन्मोत्सव मनाउँछौं। यस अवसरमा हामीले उहाँको जीवन, शिक्षाहरू र बलिदान सम्झेर विश्‍वास र आस्था बलियो बनाउने प्रयत्न गर्दछौं। साथै, प्रेम, दया र सेवा भावको अभ्यास गरेर हामी उहाँको सन्देशलाई व्यवहारमा उतार्ने अवसर पाउँछौं।

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।