Holy God or Holy Lord.png

मेरो प्रश्न छः पवित्र धर्मशास्त्रको प्रकाशमा हाम्रा 
प्रार्थनामा 'पवित्र आत्मा परमेश्‍वर' वा 'पवित्र आत्मा प्रभु' भन्नु कति सुहाउँछ? 

हाम्रा प्रार्थनाहरूमा ‘पवित्र आत्मा परमेश्‍वर', 'पवित्र आत्मा प्रभु' भनेर पवित्र आत्मालाई सम्बोधन गरेको चलन हाम्रो बीचमा बढ़िरहेको हुनाले म यसको बारेमा यहाँ, मेरो तर्क पेश गर्न चाहन्छु। यस उक्त चलनमाथि हस्तक्षेप गरेर म हाम्रा दाजुभाइहरूको मुखमा कुनै मोहोला लगाउन चाहँदिनँ, तर केवल यसको विषयमा हजुरहरूलाई होशियार गराउन र यस कुरामा बाइबलीय सन्तुलन ल्याउन मेरो इच्छा छ। किनकि मैले सम्पूर्ण पवित्र बाइबलभरि नै हेरें, तर त्यसभित्र पवित्र आत्मालाई सम्बोधन गरिएको एकै पल्ट पाइनँ। तपाईंले यसको सन्दर्भ-पद पाउनुहुन्छ भने, मलाई बताउनुहुन अनुरोध गर्छु। यसकारण यस विषयमा आजको दिनमा, यहाँ यस सानो लेखमा मेरो आवाज उठाएको हुँ। हाम्रा प्रार्थनाहरूमा पनि हामीले बाइबलीय भाषा चलाउनुपर्छ भन्ने मेरो माग हो। मैले त्रीएक परमेश्‍वरमाथि हाम्रो विश्वास यहाँ खण्डन गर्न खोजेको होइन। तीन व्यक्ति एक ईश्वरको विषयमा हाम्रो विश्वास सुदृढ़ रहिरहोस्! यसकारण पवित्र आत्मा परमेश्‍वर हुनुहुन्न भन्न खोजेको आरोप मलाई कदापि नलागोस्। होइन, मैले केवल हाम्रा भाइहरूलाई होशियार गराउन चाहन्छु; तपाईंले यस लेखबाट अन्यता नबुझ्नुहोला। 

जब प्रभु येशू यस संसारमा हुनुहुन्थ्यो, तब उहाँले परमेश्‍वरलाई कसरी, कुन नाममा पुकार्नुभयो? उहाँको निम्ति परमेश्‍वर उहाँको पिता हुनुहुन्थ्यो। मत्ती ११:२५-२६ पदहरू म यसको उदाहरणको रूपमा दिन्छुः 'हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढ़ाउँछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र समझदार मानिसहरूदेखि छिपाउनुभएको छ र यी कुराहरू बालकहरूकहाँ प्रकट गर्नुभएको छ। हो, पिता; किनकि तपाईंको दृष्टिमा यो असल ठहरियो।' अनि यूहन्ना सत्र अध्यायमा प्रभु येशूले परमेश्‍वरलाई छ पल्ट 'पिता' भनेर सम्बोधन गर्नुभयो, जस्तै यूहन्ना १७:१ पदमा 'हे पिता', यूहन्ना १७:५ र २४ पदमा फेरि 'हे पिता' अनि यूहन्ना १७:११ पदमा 'पवित्र पिता', यूहन्ना १७:२४ पद 'हे धर्मी पिता'। प्रभु येशूको निम्ति परमेश्‍वर उहाँको पिता हुनुहुन्थ्यो; यसकारण आफ्ना प्रार्थनाहरूमा उहाँले परमेश्‍वरलाई सधैं 'पिता' भनेर सम्बोधन गर्नुभयो। यसको निम्ति बाइबलका अन्य पदहरू अझ दिन सकिन्थ्यो। किनकि यूहन्नाको सुसमाचारमा मात्र प्रभु येशूले आफ्ना पिताको विषयमा एक सयभन्दा बढ़ी पल्ट बोल्नुभयो र चर्चा गर्नुभयो। 

अनि जब प्रभु येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभयो, तब उहाँले तिनीहरूलाई भन्नुभयो, कि तिनीहरूले आफ्ना प्रार्थनाहरूमा परमेश्‍वरसित कुरा गर्दा उहाँलाई 'पिता' भनेर सम्बोधन गर्नुपर्छ, जस्तै प्रभुको प्रार्थनामा 'हे स्वर्गमा हुनुहुने हाम्रा पिता!' (मत्ती ६:९)। 

प्रेरित पावलले रोमका विश्वासीहरूलाई पत्र लेख्दा र आफ्नो शिक्षा प्रस्तुत गर्दा के भने भने, पवित्र आत्मा हाम्रो हृदयमा आउनेबित्तिकै हामी परमेश्‍वरलाई 'हे अब्बा, पिता' भनेर पुकार्दछौं (रोमी ८:१५ )। अनि त्यही कुरा तिनले गलातीका विश्वासीहरूलाई पनि लेखेः 'अनि तिमीहरू छोराहरू भएका हुनाले परमेश्‍वरले 'हे अब्बा, पिता' भन्दै पुकार्ने आफ्नै पुत्रको आत्मा तिमीहरूको हृदयभित्र पठाउनुभएको हो' (गलाती ४:६ )। परमेश्‍वरलाई 'बुबा' भन्नु परमेश्‍वरका सबै छोराछोरीहरूको निम्ति हाम्रो हक हो। तब हामी उहाँलाई 'बुबा' भनेर किन नपुकार्ने? यसको के कारण होला त नि? प्रेरित पावलले परमेश्‍वरलाई कसरी पुकारे त? यसका धेरै नमुनाहरू पवित्र बाइबलको नयाँ नियममा दिइएका छन्। यसको विषयमा केही उदाहरण यहाँ दिन चाहन्छु,  जस्तैः 

गलाती १:३-४: ‘परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति मिलोस्! परमेश्‍वर र हाम्रा पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिन उहाँले आफूलाई हाम्रा पापहरूको निम्ति दिइहाल्नुभयो, उहाँलाई नै सदा-सर्वदा महिमा भइरहोस्! आमेन!' 

एफेसी १:२-३: हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति मिलोस्! हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता धन्यको हुनुहुन्छ, जसले ख्रीष्टमा हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले आशिषित तुल्याउनुभएको  छ।' 

एफेसी १:१६-१७: ‘म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै तिमीहरूको निम्ति धन्यवाद चढ़ाउन छोडूदिनँ, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर, महिमाको पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशको आत्मा दिएका होऊन्।' 

प्रेरित पावलको निम्ति परमेश्‍वर 'पिता' हुनुहुन्थ्यो र येशू ख्रीष्ट 'प्रभु' हुनुहुन्थ्यो; यसमा कुनै शङ्का छैन। पहिलो कोरिन्थी आठ अध्यायमा तिनले यसको विषयमा आफ्नो प्रेरितिक शिक्षा पनि उल्लेख गरिएको छ। १ कोरिन्थी ८ : ५-६ : 'किनकि चाहे आकाशमा होस्, चाहे पृथ्वीमा किन नहोस्, ईश्वर भन्ने नाम भएकाहरू त छन्, जसरी धेरै ईश्वरहरू र धेरै प्रभुहरू छन्। तर हाम्रो निम्ति चाहिँ एक मात्र परमेश्‍वर हुनुहुन्छ, अर्थात् पिता हुनुहुन्छ, जसबाट सबै कुराहरू भए, र हामी उहाँको निम्ति हौं; अनि एक मात्र प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा भए, र हामी उहाँद्वारा हौं।' 

यस उक्त खण्डअनुसार हाम्रो निम्ति एकजना मात्र परमेश्‍वर हुनुहुन्छ, जो हाम्रा पिता पनि हुनुहुन्छ। अनि हाम्रो निम्ति एकजना मात्र हाम्रा प्रभु हुनुहुन्छ, जो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अब हाम्रो निम्ति कुरा छर्लङ्गै र सुस्पष्ट भएको छ। हाम्रो निम्ति सृष्टिकर्ता परमेश्‍वरबाहेक अरू कुनै पिता हुनुहुन्न ; अँ, हाम्रो निम्ति प्रभु येशू ख्रीष्टबाहेक अरू कुनै प्रभु हुनुहुन्न। 

अब मसँग एफेसी चार अध्यायमा आउनुहोस्, जहाँ हामी निम्न कुरा पढ्छौंः 

'एउटै शरीर छ र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूले पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलावट पाएका छौ; एउटै प्रभु हुनुहुन्छ, एउटै विश्वास, एउटै बप्तिस्मा छ; सबैका एउटै परमेश्‍वर र पिता हुनुहुन्छ, जो सबैमाथि, सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ' (एफेसी ४:५-६)। 

यस खण्डअनुसार ख्रीष्टको देह, उहाँको मण्डली छ; अनि पवित्र आत्मा पनि हुनुहुन्छ, जसको मुख्य काम र स्थान मण्डलीमा र हाम्रो बोलावटको आशाको सिलसिलामा दिइएको छ। तर यस खण्डमा उहाँलाई प्रभु भनिएको छैन। किनकि प्रभुको स्थान हाम्रो प्रभु येशूलाई दिइएको छ, जसरी सृष्टिकर्ता परमेश्‍वरलाई परमेश्‍वर र पिताको स्थान दिइएको हो। 

एफेसी १:२०-२३ पदमा स्पष्ट लेखिएको छः 
‘त्यो सामर्थ्य उहाँले ख्रीष्टमा काममा लगाउनुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो र आफ्नो दाहिने हातपट्टी सबै प्रधानता, अधिकार, सामर्थ्य, प्रभुत्व र यस संसारमा मात्र होइन, तर आउने युगमा पनि पुकार्ने हरेक नामभन्दा धेरै उच्च स्वर्गीय स्थानहरूमा बसाल्नुभयो र सबै कुराहरू उहाँका पाउको अधीनमा पारिदिनुभयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुन मण्डलीलाई दिनुभयो, जुन मण्डली उहाँको शरीर हो।' 

यस विषयमा अझ धेरै कुरा लेख्न सकिन्थ्यो, तर यो विषय ठूलो हुन जानुहुँदैन। हामीले यस कुरामा धेरै ध्यान र महत्त्व नदिऔं, तर हामीमा सुधार गर्ने केही कुरा छ भने, मेरो विनय छ, हामी त्यो कुरा सुधार गरौं। 

अन्तमा रोमी १:२-४ पदको खण्ड यहाँ उल्लेख गरिन्छः 'यही सुसमाचारको प्रतिज्ञा परमेश्‍वरले पहिल्यै पवित्र धर्मशास्त्रमा आफ्ना भविष्यवक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा गर्नुभयो, जो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभयो, तर जो मरेकाहरूबाट बौरिउठ्नुभएको हुनाले पवित्रताको आत्माअनुसार शक्तिको साथ परमेश्‍वरका पुत्र ठहरिनुभयो।' 

यो मेरो तर्कको निष्कर्ष हो: जुन कुरा परमेश्‍वरले पुरानो नियममा प्रभु येशूको विषयमा आफ्ना भविष्यवक्ताहरूद्वारा भविष्यवाणी र प्रतिज्ञाको रूपमा बोल्नुभयो, त्यो कुरा नयाँ नियममा आएर हाम्रो निम्ति सुसमाचार बनेको छ। यो सुसमाचार उहाँका पुत्र येशूको विषयमा हो, जो हाम्रा प्रभु हुनुभएको छ। उहाँको आदर्नीय र उच्च नाम प्रभु येशू ख्रीष्ट हो। यसर्थ उहाँका पुत्रचाहिँ हाम्रा एक मात्र प्रभु हुनुहुन्छ, जसमाथि हामीले सहर्षसाथ विश्वास गरेका छौं र मुक्ति पाएका छौं। अरू कोही होइन, तर उहाँ हाम्रा पापहरूको निम्ति क्रसमा मर्नुभयो; अनि प्रभु येशूको शारीरिक पुनरुत्थानले उहाँलाई शक्तिको साथ परमेश्‍वरका पुत्र ठहरायो। यसकारण आउनुहोस्, हामी उहाँलाई उहाँलाई दिनुपर्ने मान र इज्जत दिऔं र उहाँलाई 'प्रभु' भनी स्वीकार गरौं, र 'प्रभु' भनी पुकार गरौं ! किनकि त्यो दिन आउँछ र चाँडै हुनेछ, जब स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका सबै प्राणीहरूको घुड़ा येशूको नाममा टेकिनुपर्नेछ र पिता परमेश्‍वरको महिमाको निम्ति हरेक जिब्रोले 'येशू ख्रीष्टचाहिँ प्रभु हुनुहुन्छ' भनेर स्वीकार गर्नुपर्नेछ (फिलिप्पी २:१०-११)। 

यस सम्बन्धमा तपाईंले कति कुरा अझ बढ़ी बुझ्न, हामीलाई सोध्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद। 

email: [email protected] 

प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र 'आशाको किरण'अन्तर्गत हाम्रा रेडियो कार्यक्रमहरू सुन्नुहोस्, साथै अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web-page बाट डाउन लोड गरेर पढ्नुहोस्ः 
www.nbcinepal.org 

⇡ Go to top

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।