हामी प्रभु येशूको आगमन जत्ति नजिक आइरहेको देख्छौं, त्यत्ति नै बढ़ी हामी आफूले जिइरहेको समय र आफ्नो पुस्ताका मानिसहरूको आत्मिक अवस्था ख्याल गर्नुपर्ने रहेछ र हामी आफ्नो विषयमा जागा बस्नुपरेको रहेछ; किनभने प्रभु येशूले यसको विषयमा यसो भन्नुभयोः
'नूहका दिनहरू जस्ता थिए, त्यस्तै मानिसको पुत्रको आगमन पनि हुनेछ। किनकि जसरी जलप्रलय हुनुभन्दा अघिका दिनहरूमा नूह पानीजहाजमा पसेको दिनसम्म तिनीहरूले खाइरहेका र पिइरहेका थिए, विवाह गरिरहेका र विवाह गरिदिइरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगुन्जेल तिनीहरूलाई केही पनि थाहा भएन, त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ। तब दुईजना पुरुषहरू खेतबारीमा हुनेछन् एकजना लगिनेछ र अर्को छोड़िनेछ; तब दुईजना स्त्रीहरू पिन्ने घरमा जाँतो पिनिरहेका हुनेछन्-एकजना लगिनेछे, अर्की छोड़िनेछे। यसकारण जागा रहो; किनभने तिमीहरूका प्रभु कुन घड़ीमा आउनेछन्, सो तिमीहरू जान्दैनौ।' मत्ती २४:३७-४२
प्रभु येशूका उक्त शब्दहरूअनुसार मानव जातिको इतिहासको एकै बेलामा वर्तमान समय समान एउटा विशेष अवधि भएको थियो, जुन अवधिमा मानिसहरूले आफ्नो आत्मिक अवस्था ख्याल गर्दैनथिए र आत्मिक कुराहरूमा चासो राख्दैनथिए। तिनीहरूले उब्रोपाब्रो हुने गरी खाइरहेका थिए। खानु र पिउनु तिनीहरूको मस्ती, तिनीहरूको जीवन थियो। तिनीहरूको ईश्वर पेटै थियो। अनि तिनीहरूले पिइरहेको मतलब तिनीहरू शराब अर्थात् मद्यमरिदा सेवनबाट खूब आनन्द लिइरहेका थिए, जसरी १ पत्रुस ४:३-४ पदमा लेखिएको छः यी मानिसहरूले कामुकतामा, मोजमज्जामा, रक्सीधोकाइ र घिनलाग्दा मूर्तिपूजाहरूमा बढ़ी समय बिताइरहेका छन्। नाग्नता, कामुकता र व्यभिचार के साह्रै फैलिएको छ। परमेश्वरले यस प्रकारको भक्तिहीन व्यवहारलाई 'भारी उपद्रव' भन्ने नाम दिनुभएको छ। यस्ता मानिसहरूले प्रभु येशूको आगमन चालै पाउँदैनन्। किनकि नूहको समयमा अचानक जलप्रलय आयो, र यस न्यायरूपी भलले एउटै नछोड़ी सबै मानिसहरूलाई स्वात्तै लगिहाल्यो र तिनीहरू सबै नष्ट भए। वर्तमान भक्तिहीन मानिसहरूसित पनि ठीक त्यस्तै हुनेछ।
यस सम्बन्धमा प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयोः 'नेभाराको रूख र अरू सबै रूखहरू विचार गर! किनकि जब ती रूखहरूले पालुवा हालेका हुन्छन्, तब यो देखेर तिमीहरूले ग्रीष्म ऋतु अब नजिक आएको रहेछ, सो थाहा पाउनेछौ। यही प्रकारले पनि जब यी कुराहरू भइरहेका तिमीहरू देख्छौ, तब परमेश्वरको राज्य नजिकै आएको छ भन्ने कुरा जानिराख ल!' (लूका २१ः२९-३१)। यसकारण बुझ्नुहोस्, मानिसहरूको बीचमा भक्तिहीनता बढ्यो भने, अन्तको समय आएको छ; किनभने अन्तको समयको पक्का चिन्ह यही हुँदो रहेछ।
अन्तिम आएर प्रभु येशूले हामीलाई निम्न सल्लाह दिनुभएको छः ‘आफ्नो विषयमा होशियार बस, कतै वाक्कव्याक्क पार्ने अत्यधिकता, मद्यपान र यस जीवनका फिक्रीचिन्ताहरूले तिमीहरूका हृदय दबाउलान् र तिमीहरूमाथि त्यो दिन एक्कासि आइपर्ला; किनकि पासोझैं त्यो दिन सम्पूर्ण पृथ्वीमा बस्नेहरू सबैमाथि आइपर्नेछ' (लूका २१:३४-३५)।
अनि यस खण्डमा फेरि पनि स्वास्थ्य र शरीरको बलको निम्ति चाहिएको भोजनभन्दा बढ़ी, मोजमज्जाको लागि खाइपिइ र मद्यपान गरिरहेको कुरा लेखिएको छ; यसमा जीवनका फिक्रीचिन्ताहरू थपिएका छन्। किनकि मानिसहरूले आफ्ना फिक्रीहरू बिर्सन बढ़ी पिउँदा रहेछन्। हामीले आफ्नो हृदय यी कुराहरूद्वारा थिचिएर दबिन दिनुहुँदैन। हामीले सबै कुराहरूको सम्बन्धमा आत्मसंयमी हुनुपर्छ र हाम्रा चिन्ताहरू प्रार्थनामा प्रभुको सामु ल्याउन जान्नुपर्छ। किनकि निस्सन्देह प्रभुको आगमन पासोझैं संसारका प्रायः सबै मानिसहरूमाथि एक्कासि आइपर्नेछ। तब हाम्रो विषयमा कसो हो? के हामी प्रभुलाई भेट्न तयार छौं?
प्रभु येशूले निचोड़मा यसो भन्नुभयोः 'यही कारणले यी सबै परिआउने कुराहरूदेखि उम्कन र मानिसको पुत्रको सामु उभिन योग्य ठहरिन तिमीहरू जागा रहो र सधैं प्रार्थना गर!' (लूका २१:३६ )। हामीले यस्तो समयमा जागा रहनु र सधैं प्रार्थना गर्न सिक्नुपर्छ।
अब एक क्षणको निम्ति हामीले नूह नाम भएको व्यक्तिमाथि ध्यान दिनुपर्छ; किनकि तिनी आफ्नो पुस्ताका मानिसहरूभन्दा बेग्लै किसिमको मानिस थिए। किनभने तिनले अघिबाट संसारमाथि परिआउन लागेको न्यायको विषयमा परमेश्वरबाट चेताउनी पाएका थिए। अनि तिनलाई डर लागेर तिनले परमेश्वरको निर्देशनमा एउटा पानीजहाज तयार गरे। यस पानीजहाजद्वारा तिनले आफ्नो परिवारलाई बचाए, र यस पानीजहाजद्वारा तिनले त्यस बेलाको संसारमा बाँचिरहेका मानिसहरूलाई दोषी ठहराए। अनि यस पानीजहाजद्वारा तिनले आफ्नो विश्वासको साक्षी पनि कायम राखे, अनि यी पानीजहाजद्वारा तिनले मानिसहरूलाई प्रचार गरे, जसरी हिब्रू ११:७ र २ पत्रुस २:५ पदमा लेखिएको छः
'विश्वासद्वारा नूहले त्यस बेलासम्म नदेखिएका कुराहरूको विषयमा परमेश्वरबाट चेताउनी पाए, र तिनलाई डर लागेर तिनले आफ्नो परिवारको छुटकाराको निम्ति एउटा पानीजहाज तयार पारे, जुन पानीजहाजद्वारा तिनले यस संसारलाई दोषी ठहराए, र उनी विश्वासद्वारा प्राप्त हुने धार्मिकताको हकवाला बने।' हिब्रू ११:७
'अनि उहाँले उहिलेको संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदाखेरि धार्मिकताको प्रचारक नूहलाई जोगाउनुभयो, जो बाँचेकाहरूमा आठौं व्यक्ति थिए।' २ पत्रुस २:५
नूहका दिनहरूमा परमेश्वरको सहनशीलता र धीरज ठूलो थियो। उहाँ भक्तिहीन मानिसहरूमाथि न्याय ल्याउन ढिलो गर्नुभएको र निक्कै समय पर्खिरहनुभएको थियो। किनभने उहाँले पानीजहाजको निर्माण कार्यको पूरा समय, अँ, एक सयभन्दा बढ़ी वर्षसम्म पर्खिरहनुभयो। किन? मानिसहरूले पश्चात्ताप गरून् भन्ने हेतुले उहाँले पर्खनुभयो। तर के गर्ने? सबै मानिसहरूको बीचबाट आठजना मानिसहरू मात्र बाँचे। ती बाँचेकाहरूमध्ये नूह ती आठौं व्यक्ति थिए, जसले विश्वासद्वारा पाउने धार्मिकता प्राप्त गरे। जलप्रलयले ती आठजनालाई कुनै हानि गर्न सकेन; किनकि तिनीहरू पानीजहाजभित्र सुरक्षित थिए।
'... जब बितेको समयमा, नूहका दिनहरूमा परमेश्वरको सहनशीलताले पर्खिरहेको थियो, जुन बेलामा यस पानीजहाजको निर्माण कार्य भइरहेको थियो, जुन पानीजहाजमा थोरै, अर्थात् आठजना मानिसहरू पानीद्वारा बाँचे।' १ पत्रुस ३:२०
'कतिजनाले ढिलाइ सम्झे झैं प्रभु आफ्नो प्रतिज्ञाको विषयमा ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गर्ने अवर पाऊन् भन्ने इच्छा राखेर उहाँ हामीप्रति धीरज धर्नुहुन्छ।' २ पत्रस ३:९
नूहका दिनहरूमा बाँच्ने उपाय तिनले तयार गरेको यो पानीजहाज थियो, जुन पानीजहाज नूहले परमेश्वरको आज्ञाअनुसार निर्माण गरे। ईश्वरीय एक मात्र उपाय यही थियो। तिनलाई यो विशाल पानीजहाज बनाउन धेरै वर्ष लाग्यो; तिनलाई यसको निम्ति खास गरी एक सय वर्षभन्दा बढी समय लाग्यो। अनि हाम्रो समयको बारेमा के- कस्तो छ? परमेश्वरले यरूशलेमदेखि प्रभु येशूको मुक्तिको सुसमाचार प्रचार गर्दै आउनुभएको हो, यसको लगभग दुई हजार वर्ष भइसक्यो। अन्यजातिहरूको बीचबाट प्रभु येशूको नाममा मुक्ति पाउने मानिसहरूको सङ्ख्या पूरा नभएसम्म यो प्रचारको कार्य जारी भइरहन्छ, तर निश्चय नै एक दिन यो समाप्त हुनेछ। किनकि एक दिन अन्तिम व्यक्तिले प्रभु येशूमाथि विश्वास गरेर मुक्ति पाउँछ, त्यसपछि प्रभु येशू आउनुहुनेछ र उहाँले आफ्ना जनहरूलाई उठाउनुहुनेछ, जसरी हामीले शुरुमा पढ्दैथियौंः 'तब दुईजना पुरुषहरू खेतबारीमा हुनेछन्–एकजना लगिनेछ र अर्को छोड़नेछ; तब दुईजना स्त्रीहरू पिन्ने घरमा जाँतो पिनिरहेका हुनेछन् लगिनेछे, अर्की छोड़िनेछे।' लगिएकाहरू धन्यका हुनेछन्, किनभने तिनीहरूले परमेश्वरको अनन्त राज्यमा प्रवेश गर्नेछन्; छोड़िएकाहरूलाई हाय, किनकि तिनीहरू परमेश्वरको धर्ममय न्याय भोग्नको एकजना निम्ति छोड़िनेछन्। तब नूह र तिनले बनाएको पानीजहाजबाट हामी सबैजनाले निम्न पाठ सिक्नुपर्छः हामीले विश्वासद्वारा प्राप्त हुने धार्मिकता प्राप्त गर्नुपर्छ। यसकारण समय हुँदा हामीले प्रभु येशूमाथि विश्वास गर्नुपर्छ र उहाँमा परमेश्वरको न्यायबाट उम्कन शरण लिनुपर्छ। भक्तिहीन संसारसित हामी नष्ट किन हौं? किनकि प्रभु येशूको आगमन नजिकै छ। रूखहरूले आफ्नो पालुवा हालेका छन्, किनकि संसारका भक्तिहीन मानिसहरूले मस्ती गरिरहेका छन्।
यस सम्बन्धमा तपाईंले कति कुरा अझ बढ़ी बुझ्न, हामीलाई सोध्न वा सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद।
email: [email protected]
प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र 'आशाको किरण' अन्तर्गत हाम्रा रेडियो कार्यक्रमहरू सुन्नुहोस्, साथै अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउन लोड गरेर पढ्नुहोस्ः
www.nbcinepal.org